क्यान महासंघमा भ्रष्टाचारको चर्चा, खाता रोक्काको सम्भावना

क्यान महासंघमा भ्रष्टाचारको चर्चा, खाता रोक्काको सम्भावना

क्यान महासंघको आज भएको ३२औँ साधारण सभामा अध्यक्ष सुनैना पाण्डेको नेतृत्व र कार्यशैलीमाथि सदस्यहरूले असन्तोष व्यक्त गरेका छन् । उनीहरूले तत्काल राजीनामा माग्दै अध्यक्षले कार्यशैली सुधार नगरे, महासंघभित्रको भ्रष्टाचार र बिधान विपरीत निर्णयको सामना अदालतमार्फत गरिने चेतावनी दिएका छन् ।

उद्घाटन सत्रमा पूर्व अध्यक्ष सुरेश कर्ण प्रमुख अतिथि थिए । वैज्ञानिक शैलेन्द्र गिरी, एआई विज्ञ सुजन झा, र उत्कृष्ट जिल्ला तथा प्रदेशका क्यान शाखालाई प्रशंसा पत्र प्रदान गरिएको थियो। तर यसले महासंघभित्रको वास्तविक विवादलाई ढाक्न नसकेको बताइन्छ । 

उपत्यका बाहिरबाट आएका प्रतिनिधिहरूले अध्यक्ष, पदाधिकारी र कार्यसमितिको पूर्ण असफलताको आरोप लगाउँदै तत्काल राजीनामा मागेका हुन् । सदस्यहरूले भने, “७२ जिल्लामा शाखा विस्तार भए पनि नेतृत्वले कार्यशैली सुधार नगरे महासंघको इतिहास मेटिन सक्ने स्थिति आएको छ।”

एक पदाधिकारीका अनुसार अध्यक्ष पाण्डेको कार्यशैलीका कारण पूर्व अध्यक्षहरू समेत कार्यक्रममा अनुपस्थित रहे। केही महिना अघि पाण्डेले विदेश भ्रमणको क्रममा विधान विपरीत कनिष्ट उपाध्यक्षलाई कार्यवाहक बनाउने निर्णय गरेकी थिइन्। अर्का उपाध्यक्षले भने, “विधान संशोधन जबरजस्ती गराउने प्रयास र व्यक्तिगत स्वार्थले हालको असहज अवस्था सिर्जना गरेको हो।”

सदस्यहरूले महासंघको घरजग्गा कोषबाट ३३ लाख रुपैयाँ निकालेर अपचलन गरिएको आरोप लगाएका छन् । वर्तमान अध्यक्ष पाण्डे र निवर्तमान अध्यक्ष रणजित पोदारले यसको जिम्मेवारी लिनुपर्ने उनीहरूको भनाइ छ। “भित्रभित्र भएको भ्रष्टाचारलाई हामी यसै छोड्नेछैनौं,” सदस्यहरूले चेतावनी दिँदै भने । 

साधारण सभामा पारदर्शिता नहुँदा, निर्णय प्रक्रियामा आम सदस्यको राय नलिनु, विदेश भ्रमणमा कार्यवाहक नियुक्ति, घरजग्गा कोषको दुरुपयोग जस्ता विषयलाई प्रमुख रूपमा उठेको छ । “ सुधार र पारदर्शिता नल्याउने हो भने कानुनी प्रक्रिया मार्फत कदम चाल्न बाध्य हुनेछौं,” उनीहरुको चेतावनी छ । 

अध्यक्ष पाण्डेले भनिन्, “निर्णय प्रक्रिया पूर्ण रूपमा कानूनी र बिधानअनुसार भएको हो। विवाद भए पनि महासंघको प्रतिष्ठा कायम राख्ने पहल जारी छ।” तर सदस्यहरूले यसलाई अस्वीकार गर्दै भने, “अध्यक्ष र कार्यसमितिले व्यक्तिगत स्वार्थमा मात्र ध्यान दिनु महासंघको ऐतिहासिक योगदानलाई जोखिममा पार्ने काम हो।”

संघका आजिवन सदस्यहरूले अध्यक्ष पाण्डेको व्यवसायिक साझेदार त्रिशक्ति जोशीसँग ६५ लाख र अर्का साझेदार किशोर पन्तसँग करीब २५ लाख हिनामिनाको आरोप समेत उठाए । त्यस्तै, कारोबारबाट सरकारलाई ५० लाख भ्याट नतिरेको कारण महासंघ कालोसूचीमा पर्ने जोखिममा रहेको बताइयो । त्यस्तो अवस्थामा क्यान महासंघका खाताहरू रोक्का हुने निश्चित छ।

टिप्पणीहरू