सबैभन्दा सजिलो ज्ञानेन्द्र,गाह्रो पुटिन
विद्यार्थी राजनीतिबाट कलाकारिता क्षेत्रमा प्रवेश गरेका मनोज गजुरेलले ताप्लेजुङ, पाँचथर, झापा, मोरङ र काठमाडौँमा गरी ११ वटा स्कूल पढे । काठमाडौँको पद्मोदय माध्यमिक विद्यालयमा भर्ना हुँदा ०४६ सालमै अनेरास्ववियुको इकाइ अध्यक्ष थिए । रत्नराज्यलक्ष्मी क्याम्पस, काठमाडौँमा पत्रकारिता विषय अध्ययन गर्दैगर्दा जनमोर्चाको अध्यक्ष बन्न पुगे । स्ववियु निर्वाचनताका रत्नराज्यलक्ष्मी क्याम्पसबाट सभापतिको दाबेदार थिए तर अखिलका राजेन्द्र राईलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिए । राजेन्द्र राजनीतिमा उचाई समाउँदै कोशी प्रदेशको मुख्यमन्त्रीसम्म बन्न जाँदा मनोज भने अर्कैतिर लागे । उनकै शब्दमा, ‘माओवादीहरू जंगल पसेपछि राजनीति छाडेर स्टेजमा चढे ।’ पचासको दशकमा रेडियो नेपालबाट प्रसारित हुने मानवअधिकारसम्बन्धी कार्यक्रम ‘कुरा गर्यो कुरैको दुःख’ प्रस्तुत गरेपछि मनोजले पछाडि फर्केर हेर्नुपरेको छैन । नेपाली क्यारिकेचर किङका रूपमा चिनिएका उनले चरित्र अभिनय गर्ने चर्चित पात्र बाँकी छैनन् भन्दा हुन्छ । पूर्वराजा ज्ञानेन्द्र शाहदेखि पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीदेखि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसम्मको नक्कल गरिसकेका उनले अन्तर्राष्ट्रिय जगतमा समेत वाहवाही कमाएका छन् ।
– हरि गजुरेल
० मदनकृष्ण–हरिवंश, किरण–शिवहरि, दीपक–दिपा, धुर्मुस–सुन्तली, धुुर्मुस– माग्नेबूढालगायत अधिकांश हाँस्य कलाकार जोडी बनाएर जमेका छन् । तपाईंले मात्रै एकल राज गरिरहनुभएको छ । यसको रहश्य के हो ?
– पहिलो त मान्छेको स्वभाव पनि होला– टिममा काम गर्न सक्नु र नसक्नु । मलाई अस्तित्वले एक्लै काम गर भनेर पठाएको जस्तो लाग्छ । शुरुवाती चरणमा राजेन्द्र हमालसँग दुई, तीन ठाउँ जोडी बाँधेर काम गरेको थिएँ । तीबाहेक एक्लै नै प्रस्तुत गरें । टिभीतिर भएको भए टिम बनाइन्थ्यो होला ।
० खाडी मुलुकबाट बढी निमन्त्रणा आउँछ कि युरोपतिर ?
– पछिल्लो समय मनोरञ्जनको स्वरूप चेञ्ज भयो । ठुल्ठूला इभेन्ट भइरहेका छैनन् । रंगमञ्चमा बढी सक्रिय हुँदा नेपाली टपुगेका सबै ठाउँमा म दोहोर्याएर/तेह्राएर गएको छु । सबैभन्दा बढी गएको हङकङ हो । त्यहाँका नेपालीले १९ पटक बोलाउनुभयो । कोरिया १३ पटक पुगें ।
० रेखा थापा, कोमल ओली, करिष्मा मानन्धर, खुश्बु ओलीलगायतका कलाकारहरू राजनीतिमा लागेर ‘फ्लप’ भए । यही बाटो समाउँदै गरेका रिमा विश्वकर्मा र निशा अधिकारीहरूका बारेमा के भन्नुहुन्छ ?
– एउटा प्लेटफर्ममा सफल वा विफल भएसँगै अर्काे प्लेटफर्ममा जान रुचि लाग्न सक्छ । आफ्नो स्वतन्त्रताको कुरा भएका कारण म यसलाई ठीक वा बेठीक भन्ने अवस्थामा छैन । जो मान्छेसँग जे विज्ञता छ त्यही क्षेत्रमा राम्रो गरिदिए देशको हित हुन्थ्यो भन्ने लाग्छ ।
० यहाँलाई चाहिँ राजनीतिमा अफरहरू आएनन् ?
– मेरो मञ्च कलाकारिताको शुरुवात विद्यार्थी राजनीतिबाटै भएको हो । राजनीतिबाट आएको हुँदा मलाई त्यहीँ फर्कन मन नलागेको हो ।
० केपी ओली, प्रचण्ड, लालबाबु पण्डित, ज्ञानेन्द्र मात्र होइन मोदी, डोनाल्ड ट्रम्प, पुटिनसम्मको नक्कल गरिसक्नुभयो । अब कसको गर्ने योजना छ ?
– कोही न कोही त आउलान् ।
० अहिलेसम्म क्यारिकेचर गरेकामध्ये सबैभन्दा सहज र गाह्रो कसकोमा लाग्यो ?
– सबैभन्दा सजिलो पूर्वराजा ज्ञानेन्द्रको । शरीर र बोलीले पनि साथ दियो । संवाद पनि नयाँ क्रियट गर्नुपरेन । गाह्रोचाहिँ भ्लादिमिर पुटिनको । पहिले त गेटअप नै मिलाउनुपर्यो । त्यसका लागि क्यामेरा, एंगलदेखि दुई/चार दिन नखाने, च्युँडो तान्नेसम्मको एक्सरसाइज गर्नुपर्यो । दोश्रो, रसियन कन्टेन्टबारे नेपाली दर्शकलाई कन्भिन्स गराउनुपर्ने थियो ।
० जसमाथि क्यारिकेचर गर्नुभयो, उसबाटै चाहिँ कस्तो टिप्पणी पाउनुभएको छ ?
– डाक्टर टेडरोस नेपाल आउँदा कोराना संक्रमणमा चीन र अमेरिकाबीच लडाइँ भइरहेको थियो । उहाँकै भाषा थियो– पिल्ज डन्ट पोलिटिसाइज द पाण्डामिक, पोलिटिसाइजिङ्ग पाण्डामिक इज मोर डेण्जरस दान द कोरोना भाइरस भन्ने थियो । त्यो सुन्दा साह्रै मन पराउनुभयो । प्रचण्डजीले अगाडि बसेर कला र गलाको फ्युजन भएको भनी प्रशंशा गर्नुभयो । त्यसपछि उहाँसँग भेट भएको छैन । लालबाबु पण्डितलाई पोजिटिभ क्यारेक्टरमा प्रस्तुत गरेको थिएँ । मैले मेकअप आर्टिष्टको सहयोग लिएको आमाको क्यारिकेचर गरेपछि मात्रै हो ।
० अरूलाई हँसाउने कलाकार आफैंचाहिँ कति पीडा बोकेर हिँड्नुपर्ने रहेछ ?
– जीवन सदैव खुशी नै खुशी, हाँसो नै हाँसो हुँदैन । आरोह अवरोहको एउटा चक्र हो जीवन । संसारलाई बदल्ने मान्छेलाई पनि मोटिभेटेर चाहिन्छ । जुनसुकै क्षेत्रमा समस्या छ । कलाकार भएका कारण आफूले चाहेर वा नचाहेर एक्सपोजर गराइन्छ । सबै मान्छेमा केही न केही कमजोरी हुन्छन् । ती कुरालाई स्वभावैले स्पीड ब्रेकरका रूपमा लिनुपर्ने हुन्छ ।
० यहाँको जीवनमा खाटा बसिसकेको घाउ समय–समयमा किन कोट्याइन्छ ?
– कतिपय प्रश्नको जवाफ समयलाई छोडिदिनुपर्ने हुन्छ । सन्तानहरूको मानसिक शान्ति र व्यावहारिकताका लागि मौन बसेको छु । मौन बस्नु भनेको हार्नु होइन । इगो लिएर बस्नु पनि होइन । बुवा आमाको द्वन्द्वले घर खरानी बनाएर अरूलाई मनोरञ्जन दिँदा बालबच्चाको स्वास्थ्यमा असर पर्छ भनेर मौन बसिएको हो ।
० महजोडी, दीपक–दीपा, धुर्मुस–सुन्तली, कुमार कट्टेल हुँदै अर्जुन घिमिरे पाँडेलगायत हाँस्यकलाकार एकपछि अर्काे सिनेमा निर्माणतिर सक्रिय छन् । तपाईंलाई चाहिँ ठूलो पर्दातिर काम गर्ने, आफैं निर्माता बन्ने रहर जागेन ?
– कमेडी दरबारले ककाकिकी नामक सिनेमा बनाउँदैछ । टिमको चलचित्र भएका कारण गेष्ट रोल गर्दैछु । यसअघि सय कडा दशमा अभिनय गरेको थिएँ । कथा ज्यादै राम्रो थियो, एन्टी करप्सनसँग सम्बन्धित । पैसा कमाइएको भए त आफैं निर्माता बनिन्थ्यो होला तर फिल्ममा लगानी गर्ने हैसियत नबनाएको हुँदा त्यता ध्यान दिएको छैन ।
० अरू चलचित्रले पानी भन्न नपाउने, हाँस्य कलाकारले बनाएको चलचित्रले करोडौं आर्जन गर्ने, कारण के होला ?
– मान्छेहरू दुःखमा छन्– देखाएर वा नदेखाएर । एकै क्षण भए पनि आनन्द चाहिन्छ । उनीहरूको शो पपुलर भएका कारण त्यो टिमले बनाएको चलचित्र हेरौं न त भन्ने हुन्छ । दिपकजीहरूको ब्राण्ड बनेको छ । पत्रकारिता राज्यको चौथो अङ्ग हो भने हास्यव्यग्य सर्वअङ्ग ।
० जेनजी विद्रोहपछि सुशीला कार्की, ओमप्रकाश अर्याल र यहाँ सँगसँगै निजामती अस्पताल, वीर र ट्रमा सेन्टर पुग्नुभयो । सुशीला प्रधानमन्त्री हुनुभयो, ओमप्रकाश गृहमन्त्री, यहाँलाई चाहिँ कुनै अफर थिएन ?
– हामीले राजनीतिमा यस्तै खालको विध्वंश हुनसक्ने खतरा छ, त्यही कारण तपाईंहरू सुध्रनुहोस् है । सम्पूर्ण घटनाको जिम्मेवार तपाईंहरू नै हुनुपर्छ भनेर ३० औं वर्षदेखि व्यंग्य गरिरहेका छौं । अगाडि नै राखेर व्यंग्य गर्दासमेत नसुन्दा यो स्थितिको जन्म भएको जस्तो लाग्छ । सात दिनसम्म जेनजीका बारेमा धेरै थाहा थिएन तर हाम्रै घरभित्र पनि बुवा र युवाबीच ठूलो खाडल थियो ।
जेनजीहरू हाम्रै छोराछोरी, भाइ, भतिजा हुन्, उनीहरूका कुरा पनि सुनिदेऊ सरकार भनियो । २३ गतेको आन्दोलनमा संसद् भवनअगाडि केही जेनजी गोली लागेर ढलेको देखियो । भोलिपल्ट बिहान अस्पतालमा घाइतेसँग भेट्ने योजनाअनुसार जाँदा सुशीला श्रीमानलाई देखें । भीडले पब्लिक फिगर भनेर ठेल्दैठेल्दै सुशीला श्रीमान भएको ठाउँसम्म लग्यो । ओमप्रकाश अर्यालको अनुहार चिनेको थिइन । मैले आफ्नो धारणा राखें– यसमा राज्यले जिम्मा लिनुपर्छ, गृहमन्त्रीको राजीनामाले मात्रै हुँदैन । मलाई आकर्षणको सिद्धान्तले राजनीतितिर तानेन ।
० कस्तो देख्नुहुन्छ, नेपालमा कम्युनिष्टहरूको भविष्य ?
– मदन भण्डारी, मनमोहन अधिकारीलाई देख्दा अर्कै भाव पैदा हुन्थ्यो । त्यो भाव, त्याग घट्दै गएको जस्तो देख्छु म । कम्युनिष्ट केलाई भन्ने, केलाई नभन्ने भन्ने तर्क होला तर विचार मर्दैन । शोषित, पीडितको पक्षमा वकालत गर्ने विचार मास्र्किजम हो भन्ने रहन्छ तर नेता, नेतृत्व, पार्टीचाहिँ रहन्छ जस्तो लाग्दैन ।
० जेनजी आन्दोलनपछाडिको दोषजति विदेशीलाई थुपारेर हुन्छ ?
– जसको मेनिफेस्टोमै प्रधानशत्रु किटान गरेर शुरु हुन्छ, उसले जे मा पनि षडयन्त्र, शंका राख्ने गरेकै कारण कम्युनिष्ट पार्टी र नेताहरूप्रति वितृष्णा बढ्दै गएको हो । कतै मभित्र, हाम्रो विचार र व्यवहारमा भिन्नता पो भयो कि ! भनेर खै हेरेको ? अरूतिर पन्छाइदिएपछि आफू चोखो होइन्छ भन्ने भ्रमकै कारण सर्वसाधारणमा निराशा बढाएको हो कि भन्ने लाग्छ ।
० पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता खोस्ने निर्णय उचित थियो ?
– राष्ट्रपति पनि कुनै पार्टीको हुन्छ भने गणतन्त्रको के मज्जा भयो र ?
० हुम्ला, जुम्ला, मुगु, डोल्पाबाहेक देशका सबै भाग पुगिसक्नुभयो । जाँदा घण्टी, बालेन, हर्क साम्पाङप्रति प्रतिक्रिया कस्तो पाउनुभएको छ ?
– युवा पुस्तालाई डाइनामिक, ऊर्जाशील, युवा नेतृत्वको अपेक्षा हुन्छ । उमेर पाका भएका बा–आमाहरू फलानो पार्टी र नेताहरूप्रति प्रेम देखिन्छ । सोसल मिडियामा जस्तो घनघोर प्रेम र घनघोर विरोध छैन । राजनीतिप्रति मान्छेको तृष्णा कम र वितृष्णा ज्यादा देखिन्छ । लामो समयसम्म सत्ताको नेतृत्व जसले ग¥यो, उसैले यसको जिम्मेवारी लिनुपर्छ । नयाँ नेतृत्व र दलहरूले यसलाई सुधार्नु जरुरी छ । हामीभित्र पनि कमिकमजोरी हुन सक्छ है भनेर आफूलाई खबरदारी गर्नेहरूलाई सकरात्मक रूपमा लिनुपर्छ ।
० सिंहदरबारसहित अड्डा, अदालत जल्नुमा नेपाली सेनाको दोष कति ?
– सेना, प्रहरी, पार्टी, जेनजीलाई मात्र दोष नलगाऊँ ? म पनि त्यसमा कति जिम्मेवार छु भन्ने पनि हेरौं । राष्ट्रिय सम्पदा जल्नु, विध्वंश हुनुमा हामी कहाँ चुक्यौं ? अगाडि यस्तो हुन नदिनका लागि क–कसले के भूमिका निर्वाह गर्नुपर्दाे रहेछ भनेर सोचौं ।
० यहाँको घरमा पनि जेनजीहरू छन् । तीचाहिँ यो मुभमेन्टमा जोडिए/जोडिएनन् ?
– निराशा–आक्रोश सबैमा थियो । हाम्रा भाइ, भतिजा आफ्ना विचार राख्न स्वतन्त्र थिए । उनीहरू पनि सामाजिक सञ्जाल बन्द भएको र भ्रष्टाचार बढेकोमा हामीभन्दा बढी चिन्तित थिए । प्रत्यक्ष/परोप रूपमा सबैले एकपटक समर्थन गरेका थिए, राम्रो होस् भन्नका लागि । त्यही कारण उनीहरू जोडिने कुरा भइहाल्यो ।
० सरकारको कार्यशैलीलाई कसरी हेरिरहनुभएको छ ?
– समय आउँदैछ, अहिले नै ठ्याक्कै मूल्यांकन गरिहाल्ने बेला भएको छैन । यद्यपि धेरै मान्छे सरकारबाट कम खुशी भएका छन् । यो अत्यन्त अप्ठ्यारो अवस्थामा आएको सरकार हो । संविधान, व्यवस्था नै रहने वा नरहने भन्ने अवस्थामा लौ हामी थाम्छौं भन्ने आँटै गरेको हो । एउटा पार्टी, एउटा समूह, गुटले देश सम्हालिने स्थिति छै्रन । नाकाबन्दी, भूकम्प, पञ्चायत फाल्ने बेलाजस्तो नेपालीहरू पार्टी, सिद्धान्तभन्दा माथि उठेको अवस्था छैन ।
० एक जना बौद्धिक कलाकारको दृष्टिकोणबाट हेर्दा मुलुक कता जाला जस्तो लाग्छ ?
– प्रजातन्त्रमा निर्वाचनको विकल्प छैन तर कहीँँ कतै गाँठो परेका छन् । पार्टी, संगठनहरूमा अविश्वास छ भने निर्वाचनलाई केही पर सारेर भए पनि गाँठो फुकाले सहज होला जस्तो लाग्छ ।
० सीताराम कट्टेल ‘धुर्मुस’लाई भरतपुर नगरपालिकाले १५ करोड रकम अड्काएर दुःख दियो भन्छन् । रंगशाला निर्माण प्रकरणमा धुुर्मुस चुकेका हुन् वा राज्यको नियत खोटो हो ?
– कलाकार मस्तिष्कले कम, हृदयले ज्यादा चल्ने प्राणी हो । मस्तिकले हिसाब किताब गर्छ, नाफा घाटा हेर्दछ । धुर्मुस हृदयले चल्ने पात्र हुन् । तत्कालीन समयमा उनको लोकप्रियता उचाईमा भएको बेला भोलि खतरा हुनसक्छ, कागज मिलाऊ, कानुनसम्मत गर भनेर कसैले औंल्याएनन् । प्रधानमन्त्री, मन्त्री, सांसद, हामी अगाडि बसेर उनको हाईहाई गरिरहेका थियौं ।
टिप्पणीहरू