सडकबाटै राजा फर्काउने तयारीमा छौंं
एक सय चार वर्ष सत्ताको बागडोर सम्हालेको राणा खान्दानका औंलामा गन्न सकिने सन्तान मात्र सक्रिय राजनीतिमा छन् । तिनैमध्येका एक हुन् धवलसमशेर राणा । अघिल्लो पटक देशैभरका स्थानीय तहबाट निल हुने स्थितिमा पुग्दा उनैले राप्रपाको नाक जोगाइदिएका थिए । युवक संघ हुँदै राजनीतिमा प्रवेश गरेका उनलाई बीचमा पार्र्टीले निश्कासन गरेको थियो । बीचमा एमाले प्रवेश गरी ०५४ मा नेपालगन्ज नगरपालिकाको प्रमुख हुँदै २०६१ सालमा पुरानै घर फर्किए र २ कार्यकाल बाँके जिल्ला अध्यक्ष, २ कार्यकाल केन्द्रीय उपाध्यक्ष र २ कार्यकाल केन्द्रीय महामन्त्री बन्न सफल भए । स्थानीय सवालमा पीएचडी गरेका उनैले ०७८ सालको निर्वाचनमा राजेन्द्र लिङ्देनलाई अध्यक्ष जित्न सघाएका हुन् । बीचमा संगठन विभाग प्रमुखको जिम्मेवारी खोस्ने, आन्दोलन परिचालन समितिको संयोजकबाट हटाउने, उनी निकट नेताहरूलाई बर्खास्त गर्ने लगायतका गतिविधिका कारण अचेल लिङदेनसँग चरम असन्तुष्ट छन् । सोही कारण गुटगत भेला, समानान्तर कमिटी गठन हुँदै आएकोमा हाललाई यस्तो गतिविधि मथ्थर भएको छ । महाधिवेशनबाटै प्रतिष्पर्धा गर्ने गरी कलह रोकिएको दावा गर्दछन्, धवल । ०७८ मंसिरमा निर्वाचित वर्तमान नेतृत्वको कार्यकाल मंसिर १८ गते सकिँदैछ । धवल गिजाको क्यान्सरबाट ग्रसित थिए तर आत्मबल बलियो देखिन्छ ।
– हरि गजुरेल
० समानान्तर समिति गठन, गुटगत भेलासहितको अन्तरकलह कसरी रोकियो ?
– यो समस्या दुई/तीन वर्ष पहिले देखिकै हो । एकल निर्णयका आधारमा पार्र्टी चलाउनु हुँदैन भनेरै राजेन्द्र लिङ्गदेनलाई अध्यक्ष बनाइएको थियो । तर, क्यान्सरको उपचारका क्रममा रहँदा संगठन विभागको जिम्मेवारीबाट हटाइयो । स्पष्टीकरणसमेत राख्ने अवसर नदिई साथीहरूलाई जिम्मेवारीबाट हटाइयो । मंसिर दोश्रो साताबाट हाम्रो कार्यकाल सकिँदैछ अब कलह छोडेर महाधिवेशनबाटै प्रतिष्पर्धा गर्ने हो । अब पछाडि फर्किएर काम छैन । राजनीतिमा सबै कुरालाई सहेर अर्थात लुकाएर जो अगाडि बढ्छ उही सफल हुन्छ । मैले जे भोगें, त्यसलाई सहर्ष पचाएर अगाडि बढ्ने मनस्थिति बनाएको छु ।
० गत चैत्र १५ को राजावादी आन्दोलनपछि पक्राउ पर्नुभयो । गिजाको क्यान्सरका कारण हाजिरी जमानीमा छुट्नुभयो । अहिले कस्तो छ, स्वास्थ्य स्थिति ?
– अपरेसन, रेडिएसनपछि क्यान्सररहित भएको छु । ६÷६ महिनामा फलो–अप गरिरहनुपर्ने हुन्छ । आमा यही रोगले ६७ वर्षको उमेरमा बित्नुभएको थियो । म ६२ वर्षको हुँदा क्यान्सर लागेको थियो । क्यान्सरलाई जित्न सकिन्छ । त्यसका लागि आफैभित्र केही शक्ति चाहिन्छ ।
० राजा कसरी फर्काउनुुहुन्छ ।
– सबै राजावादी, राष्ट्रवादी, हिन्दुवादी, संघीयताविरोधी, गणतन्त्र विरोधी शक्तिहरूलाई एक ठाउँमा ल्याएर गन्हाएको गणतन्त्र र असफल संघीयतालाई खारेज गर्नुपर्दछ । ठूलो हृदय चाहिन्छ । हिजो कुनै कारण बस् हिन्दु अधिराज्य नेताहरूले खारेज गर्दा सबै सनातनीको मनमा चोट लागेको छ । बेर सबेर हिन्दुराष्ट्र फर्कन्छ नै । तत्काल त सडकबाटै राजा फर्काउने योजनामा छौं ।
० राप्रपाजस्तो ठूलो शक्ति दुर्गा प्रसाईंको पछि लाग्दा झनै बदनाम हुने भएन र !
– राप्रपाको मुद्दा दुर्गाजीले बोक्दा हामीलेसहयोग नगर्ने प्रश्न उठ्दैन । दुर्गाजीले यो मुद्दा उठाएर जनतालाई सडकमा उत्रार्नु भयो । हिजो हामीले यो मुद्दा बोक्दा औंलामा गन्न मिल्ने मान्छेहरू मात्र थिए । केही वर्ष यता हिन्दुराज्य र राजतन्त्रको पक्षमा जमात बन्दै गएको छ । संघीयता र गणतन्त्रविरुद्ध लागेका शक्तिहरू हामीतिर आएका छन् ।
० सार्वजनिक छवि धुमिल भएको व्यक्तिसँग केमिष्ट्री कसरी मिल्न पुग्यो ?
– बोली निरन्तर छैन । कहिले के, कहिले के बोल्दा अप्ठ्यारो परिरहन्छ । उहाँले बोकेका मुद्दा जसले बोक्दा पनि हामी खुशी हुन्छौं ।
० पशुपति समशेर, राजेन्द्र लिङदेन, कमल थापा, लोकेन्द्रबहादुर चन्द, केशरबहादुर विष्टजस्ता राजावादीहरू जेनजीझैं टुक्रा टुक्रामा विभक्त भएपछि कसरी फर्कन्छ राजसंस्था ?
– हामीमा पनि केही कमजोरी छन् । नेताहरू व्यक्तिगत स्वार्थभन्दा माथि नउठेरै यस्तो भएको हो । तैपनि एकजुट हुने प्रयास गरिरहेका छौं । विस्तारै विस्तारै सबैको दिमाग खोल्दैंछौं । बेर सबेर सबै दल एकै ठाउँमा आउँछन् भन्नेमा आशावादी छु ।
० त्यसरी मिलाउन सम्भव होला र !
– सनातन धर्म सापेक्ष बौद्ध र किरातीहरूलाई समेटेर हिन्दु अधिराज्य बनाउन चाहने, गणतन्त्र र संघीयताविरोधीहरूलाई एकताको प्लेटफर्ममा ल्याएर अगाडि बढ्न सके सबैभन्दा उत्तम कार्य हुन्थ्यो । त्यो कार्य सफल गराउनका लागि म दत्तचित्त भएर अगाडि बढ्ने छु । हिजो हाम्रा आदरणीय नेताहरूले गीता छोएरै कसम खानुभएको थियो कि हामी फुट्दैनौं भनेर तैपनि पार्र्टीमा टुट फुट जारी रह्यो ।
० राजतन्त्र आर्यघाटमा लगेर अस्ताइसकिएको हुँदा अब ब्युँतेर किमार्थ आउनै सक्दैन भनी ठोकुवा गर्नेहरूलाई के भन्नुहुन्छ ?
– हामीभन्दा धेरै विकिसित मुलुकमा समेत राजसंस्था फर्किएको छ । जनताले खोज्यो भने व्यवस्था परिवर्तन हुन्छ । जनताले नचाहेसम्म केही पनि हुन्न । कुरा ब्यालेटमै गएर ठोक्किने हो । अघिल्लो निर्वाचनमा २५ सिट दिए । हाम्रो क्रियाकलाप जनतालाई ठीक लागेन, एक सिटमा झारिदिए । फेरि हामी दुईतिहाइ दिनुहोस्, भनेर जान्छौं । जनताले पत्याए भने फर्काएर देखाउँछौं । पत्याएनन् भने त उपाय नै भएन ।
० पूर्व राजपरिवारसँग सम्बन्ध सहकार्य कस्तो छ ?
– दुई चार महिना यता भेट भएको छैन । राजालाई भेट्छु भन्दैमा हुँदैन, यद्यपि सन्देश आदान प्रदान भइरहेको छ ।
० पारस शाहको जीवनलाई कसरी नियालिरहनुभएको छ ?
– देश र जनताप्रति उहाँको हाउभाउमा गाम्र्भीयता आएको भए अझैं राम्रो हुन्थ्यो ।
० राणाले १०४ वर्ष राजगज चलाए । र, त्यसैगरी बिलाए । तपाईंको लक्ष्य के हो ?
– म आफैं अगाडि सर्ने मान्छे होइन । साथीभाइले अगाडि सारे भने पछाडि हट्न दिन पनि । जीवनको अन्तिम लक्ष्य गुमेको हिन्दुराष्ट्रलाई फिर्ता गर्ने प्रयाश हो ।
० यो सरकारको काम कस्तो लाग्दैछ ?
– जेनजीको जगमा बनेको सरकार पूर्ण असफल भइसक्यो । धेरै पर जानै परेन, जो सरकार निर्माता भनिएका थिए, तिनैले प्रधानमन्त्री र मन्त्रीहरूको राजीनामा माग्न थालिसके । सुशीला कार्की र ओमप्रकाश अर्यालसँगै सरकारको मोरल ग्राउण्ड पनि घटिसकेको छ । यही सरकारले फागुन २१ मा निर्वाचन गराउँछ भन्नेमा मलाई विश्वास छैन । हालै सम्पन्न राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठकले समेत यो संविधान मान्दैनौं र चुनावमा जान सकिँदैन भनेको छं । जेनजी आफैं चुनाव हुन नदिने रणनीतिमा लागेको छ ।
फागुन २१ मा निर्वाचन सम्पन्न गर्नका लागि न त दलहरूको पूर्व तयारी छ न सरकारले अन्योलग्रस्त, उग्रताको स्थितिलाई साम्य पार्न नै सकेको छ । संकटको घडीमा के को चुनाव ? अझै कम्तीमा ६ महिना जान्छ यो स्थिति । निर्वाचन भयो नै भने पनि वैशाख–जेठमा मात्र हुनसक्ला भन्ने लाग्छ मलाई ।
टिप्पणीहरू