सुशीलालाई प्रधानमन्त्री बनाउनेले अपजश बोक्नु पर्दैन ?

सुशीलालाई प्रधानमन्त्री बनाउनेले अपजश बोक्नु पर्दैन ?

मूलतः राजधानीको सम्पदा बचाउमा अग्रसर पात्र हुन्, शैलेश शाक्य । काठमाडौंको नेवारी संस्कृति र सभ्यतामाथि कहीँ–कतैबाट अतिक्रमण तथा आक्रमण हुँदा अग्रमोर्चामा देखिने उनकै सक्रियतामा रानीपोखरी बचाउ, गुठी विधेयकविरुद्ध आन्दोलन मात्र होइन, बालेन साहका डोजर सामाखुशी, न्युरोड पुग्दा चर्काे विरोध भयो । हालै कुमारी बनेकी आर्यतारा शाक्य उनकी नातिनी हुन् । उनका ससुरा कनकमान २०१७ सालमा नेपाली कांग्रेस काठमाडौंको सभापति सुवर्णसमशेर र गणेशमान सिंहको सल्लाहकार र स्वकीय सचिव थिए । ३८ वर्ष नेपाली कांग्रेसको सक्रिय राजनीति गरेका उनी पार्टीभित्रको घात र प्रतिघातका कारण १४ औं महाधिवेशनदेखि स्वतन्त्र राजनीतिमा सक्रिय छन् । ०७९ मा काठमाडौं क्षेत्र नम्बर ९ क बाट लौरो चुनाव चिह्न लिएर मैदानमा उठेका उनी कुलमान घिसिङलाई अगाडि लगाएर उज्यालो नेपाल अभियान दर्ता गर्ने तयारीमा थिए तर कुलमान मन्त्री भएपछि यतातिर उति चासो राखेका छैनन् । 

– हरि गजुरेल

० बालेन साहको पछिल्लो गतिविधिका कारण काठमाडौंको नेवाः समुदाय आक्रोशित भएको सुनिन्छ । कारण के हो ? 

– कुमारी हुनका लागि तीनपुस्ते शाक्य परिवारको हुनुपर्छ । फेरि पाटन, भक्तपुरको भएर हुँदैन, न बज्राचार्यहरू नै कुमारी हुन्छन् । कुमारी हुनका लागि काठमाडौंकै शाक्य हुनुपर्छ । पुरानो कुमारी घर फर्किने भएपछि नयाँका लागि आह्वान गर्छ शाक्य महाविहार संघले । नयाँ कुमारी ल्याएको दिन पुरानोलाई कुमारी घरबाट बिदा गरिन्छ । नौ वर्षपछि जीवित देवी कुमारी तृष्णा शाक्य घर फर्किएर  साढे दुई वर्षकी आर्यतारा शाक्य नयाँ कुमारी बनिन् । संघीय र स्थानीय सरकारले कुमारीका लागि मासिक, औषधोपचार, पढाइ खर्च व्यहोर्दै आएको छ । यहाँ पहिला गाडी ओहोर दोहोर हुन्थ्यो । हाम्रै अभियन्ता भाइ यादवलाल कायस्थकै विशेष पहलमा वसन्तपुर क्षेत्रलाई गाडी निषेधित घोषणा गरिएसँगै जात्राहरूमा राष्ट्रपतिसमेत हिँडेरै आउने चलन बस्यो । सो क्षेत्रमा दमकल र प्रहरीको बाहेक अरु गाडी छिर्न पाउन्न । इन्द्रजात्राको बेला मैले एउटा प्रश्न उठाएँ–सरोकारवालाहरूलाई सामान ओसार पसार प्रयोजनका लागि विशेष पासको व्यवस्था मिलाइयोस् । तर, गुठी संस्थानले, न महानगरपालिकाले नै सुने । पुरानो कुमारी घर फर्कने बेला  लगाउने बस्त्रका अलावा भक्तजनले चढाएको सर सामग्री लैजान पाउने व्यवस्था छ । एकातिर हामी कुमारीलाई राष्ट्रको विभूति भनिरहेको छौँ । अर्काेतिर उहाँले पाएका सरसामान लैजान ५/१० मीनेट भए पनि गाडीको व्यवस्था मिलाऊँ भन्दा महानगरपालिकाले हाम्रो आवाज सुन्दैन । गौतमरत्न शाक्यहरूले पटक पटक रिक्वेष्ट गर्दा समेत राजु पाण्डेहरूले एक कानले सुनेर अर्काे कानले उडाइदिए । हामीले व्यक्तिगत प्रयोजनका लागि भनेका थियौँ र ? कुमारीको सामान अरु कसैले छुनै मिल्दैन । तर राजु पाण्डेले माथिको आदेश भन्दै मरिकाटे मानेनन् । उपमेयर सुनिता डंगोलले समेत पटक–पटक अनुरोध गर्दा पनि बालेन साहका सिंघम राजु पाण्डेले सुन्दै सुनेनन् । 

० तपार्ईंंहरूले यो घटनामा बालेनले माफी माग्नुपर्ने अडान लिनुभएको थियो । गल्नुभयो ? 

– यो हाम्रो ठाउँ, हामी यहाँका स्थानीय । हाम्रै संस्कृति, संस्कार देखाएर नगरपालिकाले पर्यटकहरूसँग हजारका दरले रकम उठाइरहेको छ । यसरी उठाइएको रकम सोही स्थान, यहाँको जात्रा, गुठीका लागि मात्र खर्च गनुपर्ने प्रावधान छ तर हनुमान ढोकामा उठेको पैसा नुवाकोटसम्म पुगेको जानकारी छ । महानगरपालिकाको रवैयाप्रति इन्द्रजात्रा व्यवस्थापन समिति र हनुमानढोका दरबारक्षेत्र संरक्षण तथा व्यवस्थापन महासमितिको कडा आपत्ति छ । जीवित देवीलाई बिदा गर्ने समयमा १० मीनेटका लागि गाडी छाडिदिने आग्रहलाई महानगरपालिकाले सुन्दैन भने हामीलाई पनि काठमाडौं महानगरपालिका चाहिँदैन । र, हाम्रो ठाउँबाट उसले पैसा उठाउन पाउँदैन । हाम्रो कुमारीलाई देखाएर उनीहरूले पैसा उठाउने ? हाम्रो एक मात्र माग राजुनाथ पाण्डेको राजीनामा र मेयर बालेन्द्र साह (बालेन)बाट क्षमापूजा हो । पाण्डेले अक्षम्य अपराध गरेका छन् । कुमारीसँग ढोेकेर राष्ट्रप्रमुखहरूले शक्ति लिने प्रचलन आजदेखिको होइन ।

० जेनजी विद्रोह, त्यसपछि बाढी–पहिरोको वितण्डाका पछाडि कुमारीलाई जोडेर पनि हेर्ने गरिन्छ । के हो वास्तविकता ? 

– पुरानो कुमारीलाई अप्ठ्यारो परेसँगै जेनजी आन्दोलन हुनु, त्यसपछि बाढी पहिरोका घटना घट्नु संयोग मात्र पक्कै होइन होला । बाबुराम भट्टराई प्रधानमन्त्री हुनुहन्थ्यो, वामदेव गौतम गृहमन्त्री हुँदा कुमारी तान्नका लागि समय, पला, घडी मिलाएर तान्नुपर्ने हुन्छ । त्यस अगाडि भोग दिने चलन छ । कम्युनिष्टहरूको सरकारले भोग दिन मिल्दैन भन्दा प्रहरीको बुथ नै जल्यो । कुमारीकै विषयमा जथाभावी बोल्दा तत्कालीन राष्ट्रप्रमुखलाई कहिल्यै निको नहुने रोग लागेको  विश्वास गरिन्छ । यदि राजु पाण्डेले समय हुँदै माफी नमाग्ने र बालेन साहले क्षमा पूजा नगर्ने हो भने आन्दोलन हुन्छ । हामीलाई हेलाँ गर्न थालेपछि स्थानीय सरकारले उठाइरहेको पैसा अब हामी उठाउँछौँ । 

० तपार्ईंं आफैँ स्वतन्त्र उम्मेदवारी दिएको व्यक्ति, स्वतन्त्र मेयर बालेन साहप्रति यतिबिघ्न नकारात्मक हुनुको कारणचाहिँ के होला ! 

– उहाँ इञ्जिनियरिङ पृष्ठभूमिको मान्छे, हिजो नेवार संस्कृति, सभ्यता, हिटी बचाउँछु भनेर आएको । तर, यो बीचमा उहाँले उल्टै संस्कृतिमाथि प्रहार गर्नुभयो । अहिलेसम्म गरेको काम भनेको काठमाडौंको रोडमा धुलो उडेन । फुटपाथ छैन । कतिपय वडा अध्यक्षले गरेका राम्रा कामसमेत बालेनले गरेको भनेर जय जयकार भइरहेको छ । २४ अर्ब बजेट छ काठमाडौं महानगरपालिकासँग । यसअघि उहाँले नेवाहरूको युनिभर्सिटी खोलिदिन्छु भन्नुभएको थियो, खै त विश्वविद्यालय ? काठमाडौं महानगरपालिकाले बनाएको एउटा मात्र शौचालय देखाउनुहोस् त । शौचालय बनाउनतिर होइन कि रेष्टुराँवालाहरूलाई शौच फ्रि गर्न निर्देशन दिनुभयो । सधैँभरि रेष्टुराँले पिसाब फेर्न दिन्छ ? चुनावअगाडि महानगरवासीसँग गरेको वाचाअनुसारको कति काम पूरा गर्नुभयो ? 

० यसअघि टुकुचा, सुकुम्बासी बस्तीका अलावा तपार्ईंंकै क्षेत्र सामाखुशीमा भत्काइयो मात्र । निर्माण खै त ! 

– म गलतलाई गलत र सहीलाई सही भन्ने मान्छे । विद्यासुन्दर शाक्यले गलत गर्दा उहाँविरुद्ध पनि उत्रिएको हुँ । विद्यासुन्दर र म एउटै टोलको, त्यसमाथि नातेदार । मोटो घाटो र ठूलो स्वर भएका कारण मलाई बालेनको प्रखर विरोधी, झोलेको उपमा दिइन्छ । हिजो रानीपोखरी बचाउनेदेखि काष्ठमण्डप र गुठी आन्दोलन गर्ने व्यक्ति हुँ । नेवार संस्कृति भएन भने काठमाडाँै, पाटन, भक्तपुर मृत अवस्थामा जान्छ । सामाखुशीमा मेरो घर, त्यहाँ छोपिराखेको ठाउँको फुटाउन आउनुभयो । मैले विरोध गरेँ । त्यो खोला हो कि ढल ? स्थानीय सबैले ढल नै भनेका थिए । पिएल सिंह, विद्यासुन्दर शाक्य, केशव स्थापितलाई थाहा नभएको कुरा बालेन साहलाई कसरी थाहा हुन्छ ? त्यसमा टिचिङ, कान्ति, प्रहरी अस्पतालको फोहोर सिधै मिसाइएको छ । पहिला ती अस्पतालको ढल खोलामा मिसाउन रोक अनि मात्र यहाँ मान्छेको ढल रोक्न आऊ भनेको हुँ । खै त भत्काएको, डेढ वर्ष भइसक्यो अझै लथालिंग छ । न्युरोडको पनि उस्तै हालत छ । हिजो जुद्धसमशेरले सडक विस्तार गर्दा न्युरोडमा हामीले नै हो सडक छोडेको । एकातिर रोडै साँघुरो छ ।

अर्काेतिर त्यही पेटी ठूलो गरेपछि झनै रोड साँघुरो हुँदैन ? अनि त्यहाँ धेरै जाम हुन्छ भनेर विरोध गरें । वडा अध्यक्ष चिनीकाजी महर्जनलगायतले बल बुताले विरोध गर्नुभयो । स्थानीयलाई मर्का पर्दा स्थानीय मान्छे नै त हो बोल्ने । न्यूरोडमा पेटी बिस्तार गर्दा न्यूरोडकै स्थानीयले विरोध गर्छ कि धादिङ्ग÷चितवनको मान्छे आउँछ ? जेनजीको आन्दोलनबाट आमूल परिवर्तन भयो तर अहिलेको सबै जस अपजस बालेनलाई गइरहेको छ । जनमानसले भन्दै छ, सिंहदरबार जल्दा महानगरपालिकाले किन दमकल पठाएन ? सुशीला कार्कीलाई मैले प्रधानमन्त्री बनाएको हुँ भनेर जश लिनेले अपजसको भारी बोक्नुपर्छ कि पर्दैन ? त्यत्रो राष्ट्रको सम्पत्तिमा क्षति पुगेको छ । जनधन गुमेको छ । कसले लिन्छ जिम्मा ? हिजो बिदा बसेको दिन श्रीमती चेकजाँचमा पर्दा सिंहदरबार जलाउँछु भनेकै हुन् । एउटा निष्पक्ष आयोग गठन गरेर दूधको दूध पानीको पानी छुट्ट्याए भइगयो त । 

० विद्यासुन्दर शाक्यको पालामा भएका कतिपय जनप्रिय कामको मार्केटिङसमेत बालेन साहले गरिरहेका छन् भन्छन्, त्यस्तै हो र ? 

– अहिलेको महानगरपालिका भवनलाई विद्या सुन्दरले म्युजियमजस्तो नमुना बनाउनुभयो । शाक्यहरूको गुठी घर बनाइदिनुभयो । सम्पदा जगेर्नामा धेरै काम गर्नुभयो । नेपाल भाषाबाट पढाउने काम उहाँकै पालामा शुरु भएको हो । जीवित देवीलाई पैसा बढाउने, गणेश, भैरवलाई पैसा पठाउने काम गर्ने उहाँ नै हो । भक्तपुरमा एउटा फल्चा १२ लाखमा बन्छ, त्यही फल्चालाई बालेनले २२ लाख लगाउनुभयो । फल्चालाई फल्चाजस्तै बनाउनुपर्ने हो तर डिजाइन फरक छ । दुई वर्षअगाडि जीवित देवीको चित्र बनाउन लगाइयो । त्यहाँ भोलि कसैले थुकिदिए वा जहाँ पायो त्यहीँ पिसाब फेरिदिए के हुन्छ ? इण्डियाजस्तो देशमा भए जातीय लडाइँ हुन्थ्यो । रानीपोखरी बचाउने मान्छे म हुँ । अहिले जति पनि काम भएको छ, सबै विद्यासुन्दरका पालामा भएको हो ।

 ० बालेनले बनाएचाहिँ के त ? 

– म मेयर भएको भए पहिला मेट्रो अस्पताल बनाउँथँे तर उहाँले पैसा क्षेत्रपाटी अस्पताललाई दिनुभयो । त्यो सदुपयोग भयो कि दुरूपयोग ? चार अर्ब निकालेर आफ्नै फाइभ स्टार अस्पताल बनाउन सकिन्थेन ? यस्तो महँगीमा ? कार्ड सिष्टम बनाएर सहुलियत दिए हुन्न राजधानीबासीलाई ? उहाँको भिजन केही छैन । न्युरोडका बत्ती झिलिमिली पार्नु मात्र विकास हो ? त्यसरी रुखमा बत्ती बालेपछि चराचुरुंगी बस्छन् ? यादवलाल कायस्थ र मैले विरोध गरेपछि बत्ती निकालियो । सम्पदाको शहरमा बालेनले स्थानीयको हितमा केही काम गरेका छैनन् । युट्युबले मुसालाई बाघ बनाइदिएको मात्र हो । विदेशीको इशारामा चल्नेहरूलाई अब नाङ्गेझार पार्नुपर्छ । 

० तपाईंले कुमारीको डकुमेन्ट्री बनाउन खोज्दा बालेनले बजेट काटिदिएपछि रिसाउनुभयो भनिन्छ नि, त्यस्तै हो ? 

– जो पायो उसैले यो काम गर्न सक्दैन । वर्षमा १३ पटक निकाल्छन्, कुमारीलाई । डुकमेन्ट्रीमा यी सबै बिषय समेटिनुपर्छ । त्यसका लागि कम्तिमा ५० लाख चाहिन्छ । यो प्रस्ताव लिएर जाँदा ओहो ! हामीले गर्ने काम तपार्ईंंले गर्न लाग्नुभयो भनेर हौसाए । प्रपोजल बनाएर लैजाँदा बजेट काटिदिए । फेरि पनि  आफूलाई सम्पदाप्रेमी भन्न रुचाउने । कमसेकम विदेशीहरू आउँदा कुमारी भनेको यो हो है भनेर देखाउन सकिन्थ्यो । अहिले कतिपयले कुमारीको बाल अधिकार हनन भएको कुरा उठाउँछन्, डकुमेन्ट्रीमार्फत कुमारीको शिक्षा दिक्षा कसरी भइरहेको छ, अधिकार हनन भएको छ वा छैन सबै देखाउन खोजेको थिएँ । यसमा बालेनले सम्पदा विरोधी काम गरेकै हो ।

० कुलमान घिसिङलाई अगाडि लगाएर उज्यालो नेपाल पार्टी खोल्ने अभियान कहाँ पुग्यो ? 

– उनी मन्त्री हुनुअगाडि केही नगरपालिकामा पार्टी कमिटीसमेत बनाइएको छ । तर कुलमान मन्त्री भएपछि पार्टी दर्ता गर्ने बिषयमा उति चासो राखेका छैनन् ।
 

टिप्पणीहरू