अब पछाडि हट्ने सम्भावना छैन: ईश्वर पोखरेल

अब पछाडि हट्ने सम्भावना छैन: ईश्वर पोखरेल

विघटित प्रतिनिधिसभाको दोस्रो ठूलो दल नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशन नजिकिँदै गर्दा आकांक्षीहरु आन्तरिक रणनीतिमा व्यस्त देखिएका छन् । केपी शर्मा ओलीले निर्विकल्प तेस्रो कार्यकालको नेतृत्व दावी गरिरहँदा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पनि अध्यक्षमा उम्मेद्वारी घोषणा गरिसकेको अवस्था छ । आसन्न महाधिवेशनमा रोचक प्रतिस्पर्धा हुने अनुमान भइरहँदा वरिष्ठ उपाध्यक्ष पोखरेलले जनआस्थासँग आफ्नो तयारी, योजना,एजेण्डाबारे खुलेर कुराकानी गर्नुभएको छ । प्रस्तुत छ अन्तर्वार्ताको सम्पादित अंशः

  • भदौ २३ गतेको जेनजी विद्रोहपछि तपाईंको दृष्टिकोणमा आएका परिवर्तनहरु के के हुन् ?

हाम्रो विधान महाधिवेशन सकिएको केही दिनमै नसोचिएको घटना घट्यो । देशभर ध्वंश गर्ने कामहरु भए । त्यसयता मेरो विचार,व्यवहार र योजनामा धेरै परिवर्तन आएको छ । यसलाई पुनःव्यवस्थित गर्नुपर्नेछ । हिजोसम्म बोक्दै आएका विचारहरुलाई अपग्रेड गर्नुपर्नेछ । यदि विचार, संगठन र नेतृत्व पुनःव्यवस्थित गरेनौँ भने आगामी चुनौतीको सामना गर्न सकिँदैन ।

  • एमालेले भदौ २४ गतेको विध्वंशको नैतिक जिम्मेवारी लिन किन नमानेको ?

लिन नमानेको होइन । तत्कालीन सरकारको नेतृत्वकर्ता र हाम्रै पार्टी अध्यक्ष प्रधानमन्त्री भएको कारण यो घटनाको नैतिक जिम्मेवारी लिनुपर्छ भन्ने मेरो मान्यता हो । तर जम्मै हत्या गर्ने,गोली चलाउने यही हो भनेर जुन व्यक्तिकेन्द्रित भाष्य सिर्जना गरिएको छ,त्यो पनि उचित होइन । राज्य सञ्चालनको प्रमुख व्यक्ति भएको कारण हाम्रो नेतृत्वले जिम्मेवारी लिनुपर्छ । त्यतिबेला नेतृत्वले के भइरहेको छ र कसो भइरहेको छ भनेर बुझ्न सकेन । थाहा पाएन । थाहा नपाउनुका विभिन्न कारण हुनसक्छन् । तर राजनीतिक नेतृत्वको हैसियतमा अध्यक्ष कमरेडले पनि जिम्मेवार भएर जवाफ दिनुपर्छ ।

  • राजनीतिबाट विश्राम लिने उमेरमा अध्यक्षको लागि उम्मेद्वारी घोषणा गर्नुभएको छ,किन ?

अहिले आवश्यकता देख्दैछु ।

  • यस अघिसम्म आवश्यकता महसुस भएको थिएन र ?

भएको थियो । अहिले मुख्य दुई कारणले नेतृत्वमा दावी गर्नुपर्ने स्थिति आयो । एउटा पार्टी आन्दोलनसँग जोडिएको मेरो इतिहास हो । मेरो निष्ठा,निरन्तरता,लगनशीलता, समर्पण र मैले पार्टीको कार्यकारी भूमिकामा बसेको बेला योग्यताअनुसार जुन जिम्मेवारी निभाएको थिएँ, त्यसको जगमा उभिएर अब मैले गर्नुपर्छ भन्ने लाग्यो । पार्टीको संस्थापक केन्द्रीय सदस्य,संगठन विभाग प्रमुख,महासचिव हुँदै वरिष्ठ उपाध्यक्षसम्म आइपुग्दा मेरो राजनीतिको क्रोनोलोजीले अध्यक्षमा दावी गर्नु स्वभाविक पनि हो । अर्को भनेको समयको आवश्यकता र जनताको माग हो । ओरालो लाग्दै गएको पार्टीलाई नयाँ नेतृत्वबाट नयाँ सन्देश दिन पनि यो आवश्यकता महसुस गरेँ ।

  • महाधिवेशन आउन अझै डेढ हप्ता छ, यसबीचमा तपाईंको उम्मेद्वारी फिर्ता गराउन केपी ओलीले कुनै प्रस्ताव राख्नुभयो भने ?

अब म पछाडि हट्ने कुनै सम्भावना छैन । मैले राम्रोसँग सोचविचार गरेरै अध्यक्षमा उम्मेद्वारी घोषणा गरेको हुँ । बरु केपी कमरेडलाई जुन प्रतिष्ठा र उचाईमा पुग्नुभएको थियो, त्यसबाट तल झर्न दिनु हुँदैन भन्ने मेरो मान्यता हो । उहाँलाई विधिवत रुपमा बिदाइँ गरौँ । म ब्याक हुने त कुरा हुँदैन । देशभरका सथीहरुसँग छलफल गरेर नै यो निर्णय लिएको हो । पौने सात लाख पार्टी सदस्यको प्रतिनिधित्व गर्दै महाधिवेशनमा आउने कमरेडहरुले पनि यसबारे छलफल गर्नुहोला । पार्टीलाई सामुहिक नेतृत्वमा अघि लैजान,संगठन सुदृढ बनाउन,पार्टीलाई लोकतान्त्रिक विधिबाट सञ्चालन गर्नको लागि अघि सरेको हुँ,अब पछि हट्ने भन्ने कुरै हुँदैन ।

राज्य सञ्चालनको प्रमुख व्यक्ति भएको कारण हाम्रो नेतृत्वले जिम्मेवारी लिनुपर्छ । त्यतिबेला नेतृत्वले के भइरहेको छ र कसो भइरहेको छ भनेर बुझ्न सकेन

  • कतिपयले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको योजनामा तपाईंले  उम्मेद्वारी घोषणा गरेको भनिरहेका छन्, यो साँचो हो ? कि स्वफूर्त नेतृत्वमा दावी गर्नुभएको हो ?

समर्थन त जसले जसलाई पनि गर्न मिल्छ । मलाई माया गर्ने शुभचिन्तकहरुले समर्थन गर्नु स्वभाविक हो । तर के बुझ्नुपर्छ भने मैले मेरो हैसियतअनुसार नै अध्यक्षमा दावी गरेको हुँ । त्यसमा साथीहरुले साथ दिनुभएको हो । पार्टीका पदाधिकारी,विभिन्न कमिटीमा रहनुभएका र पार्टीबाहिर रहनुभएका ठूलो संख्यामा साथीहरुले साथ दिनुभएको छ,यसले मलाई उर्जा दिएको छ । मेरो ऐतिहासिक पृष्ठभूमिले पनि म अध्यक्षको लागि डिजर्भ गर्ने मान्छे हुँ । विद्या भण्डारीकै योजनामा भन्नेचाहिँ होइन । सामान्य छलफल त भइहाल्छ ।

  • केपी ओलीकै चाहनामा उमेर हद र दुई वर्षे कार्यकालको प्रावधान हटाइयो भनिन्छ । यसले तपाईंलाई फाइदा पुर्याएको हो ?

मैले उमेर हदको विषयमा त पहिल्यैदेखि ७० वर्ष तोक्नु उचित हुँदैन भनेको हुँ । जस्तो कोही ६० वर्षमै शारिरिक रुपले निष्क्रिय  हुन्छन्,कोही ८० वर्षसम्म पनि सक्रिय भएको पाइन्छ । मैले पार्टीका साथीहरुलाई भनेकै थिएँ कि ७० वर्षको उमेर हदले राजनीतिक अर्थ राख्दैन । बरु दुई कार्यकालको हकमा भने उचित हुन्छ । तर मैले व्यक्तिगत चाहनालाई कहिल्यै संस्थागत गराउन चाहिन । २२ वर्षको उमेरदेखि राजनीति शुरु गरेको मलाई अचेल कहिलेकाहीँ कति गरिरहने त भनेर मोनोटोनस पनि हुन्छ,तर पनि परिस्थितिले मलाई नै जिम्मेवारी लिनुपर्छ भन्ने बनाएको छ ।

  • विधान महाधिवेशन अघिसम्म पुस्तान्तरणको पक्षमा वकालत गर्दै आउनुभएको थियो, अहिले आफै किन अघि सरेको त ?

त्यतिबेलाको परिस्थिति फरक थियो । पार्टीलाई बलियो बनाउने हो भने तीन पुस्ता जोडिनु पर्दोरहेछ । ४० वर्ष मुनिको समूह, ४० देखि ६० वर्षको समूह र ६० वर्षमाथिको समूहको संयोजनबाट मात्रै पार्टी बलियो हुने हो । अबको हाम्रो योजना भनेको तल्ला तहका कमिटीमा अनिवार्य ४० प्रतिशत युवा, प्रदेश तहमा ३० प्रतिशत र केन्द्रीय कमिटीमा २० प्रतिशत युवाहरुलाई समेट्ने छ । अबको महाधिवेशनमा १२ सयमा चार जना प्रतिनिधि आउँदा खुल्लाबाट दुई जना,एक जना महिला अनिवार्य, अर्को ४० भन्दा मुनिका भनेका छौँ । त्यसैले पुस्तान्तरण हतारमा हुने कुरा होइन रहेछ । यसको प्रक्रिया हुन्छ ।

उहाँलाई विधिवत रुपमा बिदाइँ गरौँ । म ब्याक हुने त कुरा हुँदैन ।

  • केपी ओलीसँग प्रतिस्पर्धा गर्नेहरु सबै भीम रावल बनाइन्छन् भनिन्छ,यसमा तपाईं कत्तिको सचेत हुनुहुन्छ ?

जनताको बहुदलीय जनवादले सक्रियता, पहलकदमी,जनसेवा, प्रतिस्पर्धा र श्रेष्ठता खोज्छ । जबजलाई सांगठनिक रुपमा कार्यान्वयन गर्ने हो भने यी पाँच पक्षले अर्थ राख्छ । तर हाम्रो पार्टीमा प्रतिस्पर्धाको बहस चाहिँ गर्न रुचाउने, तर प्रतिस्पर्धाको परिणाम स्वीकार गर्न तयार नहुने प्रवृत्ति छ । यो वास्तवमा राजनीतिक संस्कार कमजोर बन्दै गएको हो । मचाहिँ प्रतिस्पर्धाको परिणामलाई स्वीकार गर्न तयार भएरै उम्मेद्वार बनेको हुँ । यदि परिणाम स्वीकार गर्न तयार नै नभएको भए किन उम्मेद्वारी दिन्थेँ र !

  • तपाईंको प्यानलका सारथीहरु को को हुन् त ?

आजको अवस्थामा पार्टीलाई दिशा दिन को को साथीहरु योग्य हुनुहन्छ भनेर छलफल गरिरहेका छौँ । अहिले नै यो नेता भन्ने तय भइसकेको छैन । तर हामीले योग्य,क्रियाशील र जिम्मेवारी वहन गर्न सक्ने साथीहरुलाई प्राथमिकतामा राखेका छौँ । सुरेन्द्र पाण्डे,युवराज ज्ञवाली,अष्टलक्ष्मी शाक्यजस्ता इमान्दार साथीहरुले साथ दिनुभएको छ ।

  • विष्णु पौडेल र रामबहादुर थापा (बादल)सँग चाहिँ छलफल भएको छैन ?

उहाँहरुसँग पनि छलफल भइरहेको छ । हिजो मात्र विष्णुजीको जन्मदिन रहेछ,मैले शुभकामना भनेर आएँ । बादलजीसँग पनि मित्रवत छलफल भइरहेको छ । जसले पार्टीलाई नयाँ ढंगबाट अघि लैजाऔँ भनेर चिन्ता गर्नुहुन्छ, उहाँहरु सबै मेरो सारथी हुनुहुन्छ । म त भन्छु, केपी कमरेडले पनि मेरो योग्यता र क्षमतालाई राम्ररी बुझ्नुभएकै छ ।

  • यदि एमालेको अध्यक्षमा निर्वाचित हुनुभयो भने पहिलो काम के गर्नुहुन्छ ?

म सामूहिक नेतृत्वको अभ्यासलाई थप सुदृढ र व्यवस्थापन गर्छु । सामूहिक नेतृत्वको प्रणालीमा हामी चुक्यौँ भन्ने साथीहरुको गुनासो छ । त्यसलाई सम्बोधन गर्न सामुहिक नेतृत्वको अभ्यासलाई व्यवस्थित गर्छु ।

  • त्यो भनेको अध्यक्ष परिषद् बनाउँछु भन्न खोज्नुभएको हो ?

ठ्याक्कै अध्यक्ष परिषद होइन, एक जना अध्यक्ष त हुन्छ नै । तर त्यसमा नेतृत्वको सवालमा अरु साथीहरुलाई पनि समावेश गर्ने भनेको हुँ ।

  • पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नविकरणको विवादलाई कसरी समाधान गर्नुहुन्छ नि ?

उहाँ किशोरी अवस्थादेखि पार्टी आन्दोलनमा लागेको मान्छे हो । ०३७ सालमै पार्टी सदस्य भएको मान्छे राष्ट्रपति बन्दै गर्दा पार्टीका जिम्मेवारी स्थगित गर्नु भयो । उहाँले पार्टीका जिम्मेवारी छाडेको कहिँकतै भन्नुभएको छैन । त्यतिबेलाको प्रेस नोटमै छ कि उहाँले स्थगित भन्ने शब्द प्रयोग गर्नुभएको छ । राष्ट्रपतिको कार्यकाल सकिएपछि पार्टीको केन्द्रीय संगठन विभाग प्रमुखसँगको परामर्शपछि नविकरण पनि गर्नुभयो । तर त्यो विषयलाई अनावश्यक तर्क र वितर्कमा तानियो । उहाँको सदस्यता नविकरणको विषयमा यत्रो बहस आवश्यक नै थिएन । एक वर्षअघि केपी कमरेडले आफै उहाँलाई पार्टीमा फर्काउन संवाद गरिरहेको छु भन्नुहुन्थ्यो,तर अहिले उहाँ के भन्दै हुनुहुन्छ, सबैलाई थाहा नै छ । केपी कमरेडले किन यस्तो गर्नुभयो, मैले पनि बुझ्न सक्या छैन । तर म अध्यक्ष भएँ भने विद्या भण्डारीलाई सदस्यता नविकरणबाट बञ्चित गर्नु हुँदैन भन्ने विषयलाई पार्टीले एउटा एजेण्डा नै बनाएर अघि लैजान्छ । उहाँले निर्वाध रुपमा सदस्यता नविकरण गर्न पाउनुपर्छ भन्ने मेरो तर्क हो । 

टिप्पणीहरू