सुशीलाले जवाफ नदिएपछि नमस्कार गरेर नाङ्गै खुट्टा फर्किएँ
चैतन्यलाल श्रेष्ठ गोर्खाको आरुघाटस्थित भीमोदय स्कूलको प्रधानाध्यापक हुँदा पूर्वप्रधानमन्त्री प्रचण्ड त्यहीं शिक्षक थिए । चैतन्यका तीन सन्तान रञ्जनलाल, उपकारलाल र गणपति हुन् । तिनैजना सामाजिक कर्ममा उत्तिकै सक्रिय छन् । शुरुमा पर्यटनतर्फ सिफारिस गरिएका र भोलिपल्टै भूमि र कृषि मन्त्रालयतिर सारिएपछि चप्पल लगाएरै प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न पुगेका परराष्ट्रविद हिरण्यलालका भतिजको नाम हो गणपति । नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीद्वारा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई असोज २३ गते लुक्ला घुमाएर अख्तियार आयुक्तहरुलाई आफ्नो पक्षमा फोन घुमाउन लगाए । उनकै कोटाबाट गणपतिको नाम अगाडि सारिएको चर्चा सेलाएको छैन । सम्पदा बचाउ अभियानमा दशकदेखि सक्रिय गणपति झोंछेका रैथाने हुन् । हनुमानढोकाको निजीकरणविरुद्ध मुद्दा मामिला गर्दा कल्याण श्रीमान्सँग परिचय भएको स्वीकार्छन् । भूकम्पपछि रानीपोखरी पुनर्निर्माण, बालगोपालेश्वर मन्दिरमा सिमेन्ट र रड प्रयोग गर्न नदिन सार्वजनिक दबाब, खुलामञ्चको व्यापारीकरण गर्ने कदमविरुद्ध संघर्षरत उनी १० औं लाखको अफर आउँदासमेत नबिकेको दावी गर्छन् । केही समय डिपार्टमेन्ट स्टोर चलाएका उनी अहिले क्याफे चलाएर गुजारा टर्ने गरेको छ ।
–हरि गजुरेल
० मन्त्रीको रूपमा यहाँको नाम सिफारिस भयो । तर, शपथ भएन । मुखैमा आएको मन्त्री पद किन छोड्नु भयो ?
– संघीयताको मूल मर्मअनुसार समावेशीताको हिसाबमा उपत्यकाबाट प्रतिनिधित्व हुने गरी सांस्कृतिक क्षेत्रमा काम गरिरहेको मलाई जेनजी समूहका तर्फबाट पर्यटनमन्त्री बनाउने चर्चा थियो । झोछें नेपालको पहिलो पर्यटकीय केन्द्र हो । यही क्षेत्रमा काम गर्दै आएको म । मन्त्री हुने दिन प्रधानमन्त्रीको सचिवालयबाट खवर आयो र पाँच महिनाको मार्गचित्रसहित भेट्न गएँ । अगाडि नै खगेन्द्र सुनार र बब्लु गुप्ता पुगिसक्नुभएको र सुधा गौतम भेटेर फर्किसक्नुभएको रहेछ । त्यहाँ गृहसहित, ऊर्जा मन्त्री र मन्त्रीका स्वकीयहरू थिए । बेलुका ८ बजेसम्म मलार्ई पर्यटन दिने कुरा भयो ।
मैले २४ वटा मार्गचित्र पेश गरेँ । प्रम र गृहमन्त्रीले भन्नुभयो ‘भोलि बिहानै शपथ हुन्छ । तपाईं नेवारी पोशाक लगाएर आउनुहोला’ तर, भोलिपल्ट बिहानसम्म त मेरो मन्त्रालयनै हाइज्याक भैसकेछ । यो नागरिक सरकार हो । हिजो राजनीतिक दलले आफ्ना कार्यकर्तालाई तोकेजसरी मन्त्रालय दिने होइन नि ! छलफल हुनुपर्ला, जवाफदेहिता चाहिएला । फेरि अहिले तरल अवस्था छ । त्यत्रो युवाहरूको बलिदानपछि बनेको सरकारको काम गराइ बच्चाबच्चीले भाँडाकुटी खेलेजस्तो देखियो । अरूलाई भए मन्त्रालय लिन होडबाजी हुन्थ्यो, जे दियो त्यही थाप्ने कुरा हुन्थ्यो होला । मेरो लाइन त्यो होइन । इच्छा नै नगरेको क्षेत्रको जिम्मेवारी बोकाउन खोजेपछि स्वीकार गरेको हो ।
० तपाईंलाई मन्त्री बन्न नदिन ठूलै शक्ति लागेको छ भनेर गृहमन्त्री ओमप्रकाश अर्यालले भन्नुभयो । कुन हो त्यो शक्ति ?
– मन्त्रालय फेरिएको खबर मिडियाबाट थाहा पाएपछि चप्पल लगाएरै प्रधानमन्त्रीलाई भेट्न जाँदा सुरक्षाकर्मीले रोक्न खोजे, त्यसो हो भने खाली खुट्टै जान्छु, मन्दिरमा जसरी ! भनेर छिरें । गृहमन्त्री ओमप्रकाश अर्यालले अहिले भूमिसुधार लिँदै गर्नु, पछि पर्यटन मिलाउँला भन्नुभयो । मैले भनें बच्चाको खेल हो र यो ! प्रधानमन्त्रीलाई सोधें ‘हिजो राती आठ बजे के भन्नुभा’थ्यो ? अनि अहिले किन सार्नुभो ?’ उहाँले अरूलाई वचन दिइसकेका कारण पर्यटनतिर सकिएन भन्नुभयो । कसलाई वचन दिनुभयो ? भनेर सोध्दा नाम लिनुभएन । अर्काे प्रश्न गरें, राति आठ बजे मलाई दिएको वचनचाहिँ के हो त ? यसमा कुनै जवाफ आएन । पर्यटन मन्त्रालय भन्ने उहाँहरू नै हो । म माग्दै गएको पनि होइन ।
दलको सरकार भएको भए दवाव र प्रभावमा परेर मन्त्रालय परिवर्तन भयो भन्न सकिन्थ्यो होला तर यो नागरिक सरकारलाई कुन अदृश्य शक्तिले अँठ्यायो ? हिजो हामीले गुठी आन्दोलन गरेर दुई तिहाइको सरकारलाई झुकायौं । जहिल्यै भूमिसुधार मन्त्रालयअन्तर्गत राखेको गुठी संस्थानले संस्कृति चिन्दैन । त्यही कारण संस्कृति मन्त्रालयअन्तर्गत गुठी परम्परा चल्नुपर्छ । पितापुर्खाले राखेको गुठीको जग्गा स्वचालित हुनुपर्ने, स्वायत्तता हुनुपर्ने, कसैको अधिनमा राख्न नहुने भनेर लडिरहेको म । त्यसपछि मैले प्रधानमन्त्रीज्यूसँग मन्त्रीको लागि मन्त्री बन्न आको होइन भनिदिएँ र हात जोडेर फर्किएँ ।
० पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठसँग नाता सम्बन्ध केही छ ?
– चिनजान छ । म २५ वर्षको हुँदा नै हनुमानढोका निजीकरणको मुद्दा चल्यो । १० महिना लामो संघर्षपछि अदालतबाट निजीकरण मुक्त गरिदिने काम उहाँबाटै भयो । उहाँसँग कतिपय मुद्दाहरूका विषयमा कुरा भइराख्छ ।
० असोज २३ गते कल्याण श्रेष्ठलाई क्यानका महानिर्देशक प्रदीप अधिकारीले लुक्ला घुमाएर फर्किएलगत्तै उनकै जोडबलमा तपाईंलाई पर्यटनमन्त्री बनाउन खोजिएको भन्छन् नि !
– जेनजी समूह र सरकारमै भएकाहरूबाट प्रस्ताव आएपछि म गएको हो । पर्यटन मन्त्रालयसँग ठूला कुराहरू जोडिन्छन् । नभए त प्रधानमन्त्री नै आत्तिएर एक घण्टामै मन्त्रालय परिवर्तन गर्नुपर्ने कारण के थियो र ? अहिलेका प्रधानमन्त्रीको पछाडि सल्लाहकारका रूपमा सायद कल्याण श्रीमान्हरू हुन सक्लान् ।
० श्रीमतीलाई गुठी संस्थानमा करारको जागिर खुवाएर गुठी विधेयकमा सम्झौता गर्नुभयो भन्ने आरोप बारे के भन्नुहुन्छ ?
– यदि, त्यसरी सम्झौता गरेको भए यहाँहरूको अगाडि शिर उठाएर हिँड्न सक्ने थिइन हुँला । जसरी अहिले जेनजीहरू टुक्रा टुक्रा भएका छन्, उसैगरी गुठी आन्दोलनले दुई तिहाइको सरकारलाई झुकायो । त्यसपछि धेरै साथी छिन्नभिन्न भए । केहीले आफूले आफैँंलाई धेरै माथि पुर्याए । मेरी श्रीमती पूर्व पत्रकार । गुठी संस्थानले कर्मचारी मागेपछि आवेदन दिएर प्रतिस्पर्धामा उत्रिएर नियुक्त भएको हो । हिजो गुठीको दस्तावेज पाउन गाह्रो थियो । गुठी आन्दोलनपछि सूचनाको हक प्रयोग गरेर धेरै लिगल डकुमेन्टहरू लिई अदालतमा मुद्दा दर्ता गराएका छौँ ।
० तपाईंकै कारण महर्जन कम्प्लेक्सका मालिक कृष्णलाल महर्जनले अन्याय प¥यो भनिरहेका छन् । लफडाचाहिँ के हो ?
– अहिले पनि त्यो कम्प्लेक्स कृष्णलाल महर्जनकै नाममा छ । उहाँलाई पीडित बनाउने काम अभियन्ताहरूले गरिरहेका छन् । उहाँको अरूसँग विवाद र टसल गर्ने केस नै सकिइसकेको छ । मारवाडीहरूको ठुल्ठूला भवन बन्यो तर नेवार भएकै कारण महर्जन कम्प्लेक्स बन्न दिइएन भनेर दोषारोपण गरिँदैछ, मलार्ई । सत्तामा भएकाहरूसँग लड्न उति गाह्रो हुन्न तर आफ्नै समुदायका व्यक्तिहरूले गरेका गल्तीविरुद्ध लड्न महाभारत हुँदो रहेछ । हाम्रो समुदायमा भएका सबै गल्तीमाथि आँखा चिम्लन सकिन्छ र ? उसो हो भने छायाँदेवी कम्प्लेक्स र धरहरालाई नचलाऊ न त ! त्यसमा पनि अगाडि त नेवारहरू नै छन्, छोडिदिऊ न त । होइन भने महर्जन कम्प्लेक्स पहिला हनुमान ढोकाक्षेत्रको भूभाग हो ।
०९० सालको भूकम्पपछि नयाँ सडक भनेर खण्डित भयो । त्यसपछि निजी स्वामित्वमा गयो । उहाँले ०७३ सालमा किन्नुभयो । त्यस अगाडिसम्म त्यहाँभित्र मल्लकालीन (निराकार) कुमारीको मन्दिर थियो । अण्डरग्राउण्ड बनाउनका लागि त्यो मन्दिर भत्काइदिनुभयो । अदालतले उक्त मन्दिर प्रतिष्थापन गर भन्यो । उहाँले मसँग मूर्ति सुरक्षित छ भनेर भ्रममा राख्नुभयो । त्यहाँ अहिले नयाँ मूर्ति स्थापना गरिएको छ । यो विषय ढाकछोप गर्नका लागि उहाँले धेरै ठाउँमा, धेरै पैसा लगानी गर्नुभयो । उहाँको फसेको र डुबेको पैसा त्यही हो । संस्कृति, गुठी संरक्षणका लागि लागिपरेका भन्ने हाम्रा अभियन्ता नै यसरी मल्लकालीन मूर्ति भत्काउने मान्छेलाई संरक्षण गर्दैछन् । सकिइसकेको केश अहिले मेरो मन्त्री बन्ने चर्चासँगै खुट्टा तान्न चलाइएको छ । मसँग यथेष्ट प्रमाण छन् । यसरी अफवाह फैलाउनेहरू म कहाँ आऊ न ! फेस टु फेस गर । म प्रमाणसहित उपस्थित हुन तयार छु ।
० तपाईंकै कारण एडिडास र शेर्पा मलवाला सञ्जीव तुलाधरले करोडौँको घाटा खाए । कृष्णलाल महर्जनको पनि उठिबास लाग्ने स्थिति आयो । नेवाः व्यवसायीहरूविरुद्ध किन हात धोएर लाग्नुभो ?
– म राजनीतिमा होइन, सामाजिक सत्कर्ममा लागेको हुँ । आजसम्म इमान र स्वाभिमान बेचेको छैन । सम्पदाको कुरामा कसैले बदमासी गर्छ भने मन, मुटु पोल्छ । कुनै पनि विषयमा गहिरोसँग नबुझिकन लाग्दिन, बुझे पछि बिगार्ने कसैलाई बाँकी राख्दिन । सामाजिक काम गर्दा अर्थात् न्यायको लाइनमा हिँड्दा एउटा पक्ष र अर्काे विपक्ष हुन्छ । त्यो विपक्ष सदैव विपक्ष नै भएर बस्छ । गुठी आन्दोलनपछि केही साथी उम्लिनुभयो । हावामा त जसले पनि तीर हान्न सक्छ नि ! खुट्टा तान्ने साथी न माथि पुग्न सक्छन्, न त अरूलाई माथि पुग्न दिन्छन् । अहिले मलार्ई रोक्न अनेकन अफवाह फैलाइयो तर दुर्भाग्य ! नेवार समुदायबाट कसैको प्रतिनिधित्व हुन सकेको छैन ।
० चाहे रानीपोखरी होस् वा गुठी प्रकरण– आफूपछि पुग्ने तर जश लिन सबैभन्दा अगाडि सर्ने गर्नुहुन्छ भन्छन्, अभियन्ताहरू नै ! के हो खास कुरा ?
– कुनै काम शुरु गर्नु ठूलो कुरा होइन । त्यसलाई निरन्तरता दिनु र निर्णायक ठाउँमा पुर्याउनुचाहिँ ठूलो कुरा हो । म ०७२ माघ २ गतेदेखि रानीपोखरी बचाउमा एक्लै लागेको हुँ । त्यस अगाडिसम्म कोही थिएनन्, यो अभियानमा । काष्ठमण्डपलाई कंक्रिटको घर बनाउन खोजेपछि डिजी भेषनारायण दाहालसँग लड्ने काम होस् वा रानीपोखरीमा कंक्रिटको पिल्लर बनाउँदा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रुद्र सिंह तामाङकहाँ पौंठेजोरी खेल्ने, एक्लै भिड्ने मैं हुँ । विद्यासुन्दर शाक्य मेयर हुँदा रानीपोखरीको विवादमा अरू साथीहरू मिसिनुभयो । तर उठानदेखि यो मुद्दालाई निर्णायक तहसम्म लैजाने काममा उहाँहरू कहाँ हुनुहुन्थ्यो ? यो अभियानमा सञ्जय अधिकारी, आलोकसिद्धि तुलाधरलगायत थुप्रै साथी हुनुहुन्छ । जे भए पनि भूकम्पपछि र रानीपोखरी प्रकरणले सम्पदा क्षेत्रमा एउटा जागरण ल्याएको छ ।
० तपाईं चार वर्षदेखि राष्ट्रिय पहिचान संरक्षण संयुक्त संघर्ष समितिको संयोजक हुनुहुन्छ । तर, एउटै बैठक डाक्न सक्नुभएको छैन । सक्षम भन्ने कि अक्षम ?
– ज जसले आरोप लगाइरहेका छन् ती कुनै न कुनै राजनीतिक पार्टीको फ्रेममा छन् । कहिले आफ्नो एजेण्डा लैजान त्यो संस्थाको दुरूपयोग गर्न खोज्छन् । म संयोजक छउञ्जेल दुरूपयोग हुन दिन्न । बिगार्न पनि दिन्न, त्यही हो मेरो सक्षमता । गुठी आन्दोलन मैले गरेको, तैंले नगरेको भन्ने होइन, घर घरबाट सबै उभिएर न त्यो आन्दोलन सफल भएको हो । कानुन बनाउने कुरामा कोही अगाडि सर्दैनन् । अनि गुठी आन्दोलन तुहायो भन्छन् । अहिले हामी सडकमा छैनौं, अदालतमा पुगेको छ विषय । कानुनको कुरा अगाडि सार्न डा. महेशमान शाक्यको संयोजकत्वमा समिति बनेको छ ।
० तपाईंकै सहकर्मीहरू भन्छन् कि, समाजमा अलि चर्चा पाएका नारीलाई दिदी बहिनी बनाएर टीका लगाइहाल्नुहुन्छ । जस्तो सुनिता डंगोलसँग भाइटीका लगाइरहनुभएको छ । वास्तविकता के हो ?
– सुनिता उपप्रमुख भएपछि मैले भाइटीका लगाएको हो र ? सानैदेखि टीका लगाएको हो, उनीसँग । ऊ एउटा पार्टीको टिकट लिएर निर्वाचित भयो भन्दैमा मलार्ई एमाले बनाइदिने ? म आजसम्म कुनै पार्टीमा आबद्ध छैन । साथीहरू क्षमतावान भएर पार्टीको नेतृत्वमा खै त पुग्नुभएको ?
० तपाईं सम्पदा अभियन्ता । अहिले काठमाडौंका मेयर बालेन साहको गतिविधि कस्तो लाग्छ ?
– शरीर त बन्नुभयो तर आत्मा बन्न सक्नुपर्छ । आत्मा बन्नका लागि अझै मिहिनेत पुगेको छैन । काठमाडौं महानगरपालिकाले सम्पदाका नाममा बढीभन्दा बढी बजेट खर्च गरिरहेको छ तर चाइनिज इँटा लगाउँदैमा सम्पदा जोगिँदैन । सम्पदाको मूल मर्म र आत्मा बुझ्नुपर्छ । सम्पदा भनेको पुर्खाको नासो हो, हाम्रो जिम्मेवारी छ, चीरकालसम्म यसलाई बचाउने ।
टिप्पणीहरू