सामाजिक सञ्जालमा एकोहोरो कराउँदैमा नेता बनिँदैन
नेपाली काँग्रेस भक्तपुरका नेता अष्ट कवे जिल्लामा समाजसेवीका रूपमा समेत परिचित छन् । समाजमा निरन्तर खटिरहने उनी समाज सेवामार्फत पार्टीको संगठन निर्माणमा निरन्तर सक्रिय हुँदै आएका छन् । २०४६ र ०६२–०६३ को लोकतान्त्रिक आन्दोलनमा भक्तपुरबाट अगुवाई गर्दै आएका कवेसँग समसामयिक राजनीतिक विषयमा जनआस्थाका लागि राजकुमार रायले गरेको कुराकानीः
प्रश्नः नेपाली काँग्रेसमा अहिले नियमित महाधिवेशन गर्ने कि विशेष महाधिवेशनमा जाने भन्ने विवाद देखिन्छ। तेस्रो विकल्पका बारेमा पनि केही नेताले आवाज उठाएका छन्। यसरी आ–आफ्नै डम्फु बजाउने काम भैरहँदा तपाईंको विचारमा अब काँग्रेस कसरी अगाडि बढ्नुपर्छ?
अष्ट कवेः महाधिवेशन तोकिएकै मितिमा हुनुपर्छ भन्ने आवाज एक वर्षअघि नै उठ्दै आएको हो। आउँदो मंसिरमा नियमित महाधिवेशन हुनेमा हामी आशावादी पनि थियौं। तर, यसबीच भदौ २३ को प्रदर्शन र २४ गतेको जेनजी विध्वंशले राष्ट्रिय राजनीतिमा ठूलो परिवर्तन ल्याइदिएको छ। हाम्रो सोचमा परिवर्तन आएको छ। समाजको प्राथमिकतामा परिवर्तन आएको छ। र, जनभावनामा पनि परिवर्तन आएको छ।
यसकारण पार्टीको नेतृत्व पनि परिवर्तन हुनुपर्छ भन्ने कुरा आजको वास्तविकता हो। यसका लागि सबैभन्दा पहिले नेताको मानसिकतामा परिवर्तनको खाँचो देखापरेको छ। नेपाली काँग्रेसको हकमा पनि साथीहरूले नेतृत्व परिवर्तनको महशुस गरिराख्नुभएको मैले पाएको छ। पार्टीले विगतमा गरेका कमजोरीप्रति देश र जनतासँग क्षमायाचनासहित महामन्त्रीले नयाँ प्रस्ताव ल्याउनुभएको छ। त्यसको म स्वागत गर्छु। पार्टी अब पुरानै ढर्रा र पद्धतीले चल्न सक्दैन। त्यसकारण हामीमा परिवर्तन हुनुपर्छ भनेरै भक्तपुरमा पार्टीका बहुमत नेता–कार्यकर्ता उक्त प्रस्तावमा सहमत छौं।
समयमै नियमित महाधिवेशन होस्। आम कांग्रेसी कार्यकर्ताको भावना हो यो। तर, नियमित महाधिवेशन भएन भने विशेष महाधिवेशनबाट भएपनि बहुमतको आवाजलाई सम्मान गर्नुपर्छ, थप अलमल गरिरहन हुँदैन । हामी सबै काँग्रेसका कार्यकर्तालाई एकढिक्का भई अहिलेको मुलुकको समस्या समाधानमा जुट्न म विशेष आह्वान गर्न चाहन्छु।
नेपाली काँग्रेसले प्रजातान्त्रिक अभ्यासलाई आत्मसात गर्ने हो भने देशमा लोकतन्त्र सबल र सुदृढ हुन्छ। जेनजी आन्दोलनको माग पनि त्यही हो। समयको परिवर्तनलाई रोक्न सकिंदैन। त्यसैले सम्भव भएसम्म नियमित महाधिवेशन होस्। सबै नेताले यो कुरा स्वीकार गर्नुपर्छ।
प्रश्न : काँग्रेसको इतिहास हेर्दा यो प्रजातान्त्रिक पार्टी नै हो, यसमा विवाद भएन। तर नेताहरूले जसरी पार्टीलाई सत्तामुखी बनाउँदै लगे, आजको दिनसम्म आइपुग्दा केही मुठ्ठीभर व्यक्तिको महत्वाकांक्षा पूरा गर्ने स्वार्थ समूहजस्तो देखिन थालेको छ। यसको निकास के देख्नुहुन्छ?
अष्ट कवेः यो एकदमै चिन्ताको विषय हो। तर, जुन सत्ता स्वार्थको कुरा गर्नुभयो, मान्छे स्वभावैले अलिअलि स्वार्थी हुन्छन्। अब व्यक्तिगत स्वार्थमा ब्रेक लाग्नैपर्छ। राष्ट्रको हित र जनताको भलाई नै पहिलो प्राथमिकता हुनुपर्छ र यही नै हाम्रो साझा स्वार्थ बन्नुपर्छ। विभिन्न आन्दोलनले दिएको निष्कर्ष र उद्देश्य पनि यही हो। नेपाली काँग्रेसले राष्ट्रघात कहिल्यै गरेको छैन र गर्ने पनि छैन। राष्ट्रहित नै हाम्रो सर्वोपरी हो। राष्ट्रियता, लोकतन्त्र र समाजवादलाई हामीले सही ढंगले कार्यान्वयनमा ल्यायौं भने देश र जनताको हित यसैबाट हुन्छ।
शेरबहादुर देउवा दम्पत्ती जेनजी आक्रमणमा पर्नुभयो। काँग्रेसका दर्जनौँ पार्टी कार्यालय जले। सयौँ नेताका घर खरानी बनाइयो। योभन्दा ठूलो राजनीतिक क्षति भएको छ। यस्तो स्थितिमा काँग्रेसले आगामी चुनाव कसरी सामना गर्छ?
अष्ट कवेः हाम्रो सभापतिमाथि जुन आक्रमण भयो त्यसको म भत्र्सना गर्छु। त्यो अमानवीय काम हो। म स्वीकार गर्छु—नेपाली काँग्रेसमा कमीकमजोरी छ। त्यसकारण जेनजी पुस्ताको भावना बुझेर अब अघि बढ्नुको विकल्प छैन। जेनजी आन्दोलनले पार्टी र सिंगो देशभित्र रहेको यथास्थितिवादलाई तोडेर युगअनुकूल चल्न जबर्जस्त सन्देश दिएको छ, हामीले यसलाई स्वीकार गरेर जानुपर्छ।
जेनजी पुस्तालाई साथमा लिएर काँधमा काँध मिलाएर अघि बढ्नुपर्छ र बढ्छ पनि। फेरिएको काँग्रेसले मुलुकको मुहार फेर्ने हाम्रो विश्वास छ र यो उद्देश्यमा कटिबद्ध पनि छौँ। देशको सबैभन्दा ठूलो पार्टीको रूपमा काँग्रेस फेरि पनि उदाउने छ।
तर, जेनजी आन्दोलनपछि पनि नेताहरू सुध्रिएको देखिएन। पुरानै शैलीमा चर्का भाषण गरिरहेका छन्। उमेरले ७० कटिसकेका नेताहरू अझै नेतृत्व छोड्न चाहिरहेका छैनन्। तपाईंले जेनजीको भावनाअनुसार काँग्रेस अघि बढ्छ भन्नु भनेको आफैँमा अन्तरविरोधी कुरा भएन र?
अष्ट कवेः पटक–पटक सत्तामा पुगेका नेताहरूले सजिलै छोड्न नचाहानु अनौठो कुरा भएन। किनभने लामो समयदेखि उनीहरू त्यसमै अभ्यस्त हुँदै आएका छन्। तर, अहिलेको वास्तविकता के हो भने अब उनीहरूबाट देश चल्न सक्दैन। जहाँसम्म हाम्रो पार्टीको कुरा छ, ५४ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेर ‘तपाईंहरू अब काम गर्नसक्ने अवस्थामा हुनुहुन्न, तपाईंहरूबाट हामी अघाइसक्यौं, अब युवा पुस्तालाई मौका दिनुस्’ भनेर आग्रह गरेका छन्। यो आग्रहलाई लत्याउन पाइँदैन। पार्टीभित्रको सत्ता हस्तान्तरण चाँडोभन्दा चाँडो हुन्छ भन्ने हाम्रो विश्वास छ। किनभने हामीले देश बनाउनु छ। स्वच्छ मनले देशको सेवा गर्नुछ।
जेनजी विद्रोहपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारले फागुन २१ मा चुनाव गराउन सक्ला त?
अष्ट कवेः चुनाव हुने–नहुने भन्दा पनि जनतामा जान डराउनुहुँदैन भन्ने सबैमा चेतना हुनुपर्छ। जहाँसम्म हाम्रो पार्टीको कुरा हो—नेपाली कांग्रेस लोकतन्त्रमा विश्वास गर्ने पार्टी भएकोले चुनावमा भाग लिएर जनताको मताधिकारको सम्मान गर्न हिच्किचाउनु हुँदैन। मलाई लाग्छ, केन्द्रीय कार्यसमितिको बैठक सकिँदासम्म पार्टी त्यहि ठाउँमा पुग्छ र हामी एकढिक्का भएर नयाँ नेतृत्वसहित चुनावमा जानेछौँ।
भक्तपुरमा एमाले नेता महेश बस्नेतले जेनजी आन्दोलनप्रति कटाक्ष गरिरहेका छन्। अन्य राजनीतिक दलप्रति पनि उनको अभिव्यक्ति आक्रामक देखिन्छ। काँग्रेस नेताहरू खासै बोलेको सुनिँदैन। कतिपयले भक्तपुरमा महेशमात्र एकजना नेता रहेछन् भनेको पनि सुनियो, कुरो के हो ?
अष्ट कवेः सामाजिक सञ्जालमा कराउँदैमा, मिडियामा गएर चर्को स्वरमा बोल्दैमा कोही नेता हुन्छ र? त्यो गलत कुरा हो। यस्ता कुराको पछाडि लाग्नु हुँदैन।
टिप्पणीहरू