३२ लाखसम्म तिरेर बेलायत पुगेका नेपालीहरु अलपत्र

३२ लाखसम्म तिरेर  बेलायत पुगेका नेपालीहरु अलपत्र

वर्क परमिटको लोभमा २६ लाखदेखि ३२ लाख ७८ हजार रुपैयाँसम्म तिरेर बेलायत पुगेका ८ जना नेपाली अहिले अलपत्र परेका छन् । 

बेलायतको लेष्टरस्थित रेष्टुरेन्ट 'ह्यारो इन थरम्यासन'का भारतीय मालिक रामलाल श्यामलाल पञ्चोलालाई लाखौं बुझाएर गएका नेपाली कामदार त्यहाँ  घर न घाटको भएका हुन् । 

बेलायत पुगेपछि उनीहरुले न स्पोन्सर गर्ने कम्पनी भेटे,न काम र तलब नै । बालबच्चासहित आएका केही परिवार त जागिर नहुँदा अलपत्र छन् । 

के.भट्टराईले १९ हजार ४०० पाउण्ड,जी. ढुंगानाले १७ हजार ३५० पाउण्ड, एस तिवारीले १७ हजार पाउण्ड, एडी शर्माले १७ हजार ३५० पाउण्ड, एच एम बरालले १७ हजार ७०० पाउण्ड, पि. खनालले १७ हजार ३५० पाउण्ड, डि थापाले १७ हजार ३५० पाउण्ड र एल. भुषालले १५ हजार ५०० पाउण्ड बुझाएका थिए । तर,भारतीय साहुले ५ महिनादेखि न काम दिएको छ,न पैसा फिर्ता दिन्छ ।

यसवीच एनआरएनको यौटा हाँगाका अध्यक्ष प्रेम गाहामगरले बिहीबार साहुलाई ६ मार्चको समयसीमा दिंदै त्यसरी ल्याइएका कामदार र पीडितको अवस्था एवं शोषणबारे जवाफ दिन नत्र नेशनल क्राइम एजेन्सी,लेष्टरसायर पुलिस,क्राइम कमिश्नर अफिस र क्राइम सेक्सन एवं त्यस क्षेत्रका सांसदलाई केस फरवार्ड गरिने चेतावनी पत्र पठाएका छन् । 

बेलायतमा यतिखेर वर्क परमिटको नाममा ठगिने क्रम निकै बढेको छ । लाखौं रुपैयाँ लिने तर सम्झौताअनुसार तलव र अन्य सुविधा नदिने क्रम बढेको बताइन्छ ।

टिप्पणीहरू