नेपाल अपराजित रहँदै सेमिफाइनल प्रवेश

नेपाल अपराजित रहँदै सेमिफाइनल प्रवेश
सुन्नुहोस्

नेपाल ओमानमा जारी एसीसी प्रिमियर कपको सेमिफाइनल प्रवेश गरेको छ । समूह चरणका सबै खेल जितेको नेपाल समूह विजेता हुँदै सेमिफाइनलमा पुगेको हो । 

समूह चरणको चौंथो तथा अन्तिम खेलमा आज नेपालले साउदी अरेबियालाई ६ विकेटले पराजित गर्यो । समूह 'ए' बाट नेपाल र हङकङ सेमिफाइनल पुग्दा साउदी भने बाहिरिएको छ । 

वर्षाका कारण ओभर घटाएर खेलाइएको खेलमा साउदीले निर्धारित ८ ओभरमा ७३ रन बनाएको थियो । नेपालले ७ ओभर २ बलमा ४ विकेट गुमाएर लक्ष्य पूरा गर्यो ।

नेपालको जितमा गुल्सन झा, कप्तान रोहित पौडेल र दीपेन्द्रसिंह एरीले महत्वपूर्ण योगदान दिए । १५ रनमा ३ महत्वपूर्ण विकेट गुमाएर खराब सुरुआत गरेको नेपालको इनिङ सम्हालेका गुल्सनले दीपेन्द्र र रोहितसँग साझेदारी गरेका थिए । 

गुलसन सर्वाधिक ३२ र रोहित १६ रनमा अविजित रहँदा दीपेन्द्रले १७ रन जोडे । ​​​​साउदी अरेबियाका लागि इस्तियाक अहमदले २,उस्मान नाजीव र वाजी उल हसनले १-१ विकेट लिए । 

यसअघि नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको साउदीले नेपालसामु मध्यम लक्ष्य प्रस्तुत गरेपनि हार टार्न सकेन । उसका लागि अब्दुल वाहिदले सर्वाधिक ३७ रन बनाए । अन्य ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बलिङमा नेपालका करण केसी र अभिनास बोहराले समान २ तथा प्रतिश जिसी र ललित राजवंशीले १-१ विकेट लिए ।

टिप्पणीहरू