लुम्बिनी एनपीएलको फाइनलमा, उपाधिका लागि सुदूरपश्चिमसँग खेल्ने

लुम्बिनी एनपीएलको फाइनलमा, उपाधिका लागि सुदूरपश्चिमसँग खेल्ने

लुम्बिनी लायन्स दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपीएल)को फाइनलमा प्रवेश गरेको छ । बिहीबार बेलुकी सम्पन्न दोस्रो क्वालिफायरमा विराटनगर किंग्सलाई ४० रनले हराउँदै लुम्बिनी पहिलोपटक फाइनलमा पुगेको हो ।

जितसँगै लुम्बिनीले शनिबार हुने फाइनल खेलमा सुदूरपश्चिम रोयल्ससँगको भेट पक्का गरेको हो । सुदूरपश्चिम पहिलो क्वालिफायरमा विराटनगर किंग्सलाईनै ७७ रनले हराउँदै लगातार दोस्रोपटक फाइनलमा पुगेको थियो । पराजित विराटनगर प्रतियोगिताबाट बहिरिएको छ ।

जितको लागि १ सय ३५ रनको सामान्य विजयी लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा अलआउट हुँदै ९४ रनमा समेटिएको हो । विराटनगरको लागि साम हेजलेटले ३४, नरेन भट्टले २१ र मर्चान्ट डी लान्गाले १७ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।

लुम्बिनिको लागि तिलक भण्डारीले तीन विकेट लिँदा रुबिन ट्रम्पेलम्यान, जेजे स्मित र अभिशेष गौतमले दुई/दुई विकेट लिए । शेर मल्लको नाममा एक विकेट रह्यो ।

यसअघि कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस हारेर  पहिले ब्याटिङमा उत्रिएको लुम्बिनीले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ३४ रन बनाएको थियो । लुम्बिनीको लागि डार्सी शर्टले सर्वाधिक ४५ रन बनाए । उनले ४१ बलमा ३ चौका र एक छक्का प्रहार गरे । यस्तै कप्तान रोहित पौडेलले ३४, निरोशन डिकवेलाले २९ र रुबिन ट्रम्प्लेमनले ११ रन बनाए ।

विराटनगरको लागि प्रतिष जिसी र सुबाश भण्डारीले समान तीन/तीन विकेट लिँदा सन्दीप लामिछानेले दुई विकेट लिए ।

टिप्पणीहरू