काठमाडौंलाई हराउँदै लुम्बिनी एनपीएलको क्वालिफायरमा

काठमाडौंलाई हराउँदै लुम्बिनी एनपीएलको क्वालिफायरमा

लुम्बिनी लायन्स दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपीएल)को क्वालिफायरमा पुगेको छ । बुधबार राति भएको इलिमिनेटरको खेलमा काठमाडौं गोर्खाजलाई ४ विकेटले हराउँदै लुम्बिनी क्वालिफायरमा पुगेको छ ।

अब काठमाडौंले दोस्रो क्वालिफायरमा विराटनगर किंग्सको सामना गर्नेछ भने पराजित काठमाडौं प्रतियोगिताबाट बाहिरिएको छ ।

जितको लागि १ सय १२ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य भेट्टाएको हो । लुम्बिनीको लागि डार्सी शर्टले सर्वाधिक ३३ रन बनाए । उनले ३४ बलमा दुई छक्का प्रहार गरे । यस्तै सन्दीप जोराले २३, कप्तान रोहित पौडेलले १८ र निरोशन डिकवेलाले १४ रन बनाए ।

काठमाडौंको लागि सन्तोष यादवले दुई तथा करण केसी, सन्नी पटेल, शहाब आलम र रशिद खानले समान एक/एक विकेट लिए ।

यसअघि कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौँले १९.१ ओभरमा अलआउट हुँदै १ सय ११ रन बनाएको थियो । काठमाडौँका लागि सन्तोष यादवले सर्वाधिक २३ रनको योगदान दिए । उनले १७ बलमा एक छक्काको सहयोगमा २३ रन जोडे  । त्यसैगरी, जोन सिमसन र मोहमद आदिल आलमले समान १८/१८ रन जोडे भने भीम सार्कीले १४ रन बनाए । कप्तान करण केसी नौ रनमा आउट भए ।

काठमाडौँलाई सस्तैमा समेट्न लुम्बिनीका शेर मल्ल र कप्तान रोहित पौडेलले समान तीन/तीन विकेट लिए । यस्तै ट्रम्पलम्यानले दुई विकेट लिए भने अभिशेष गौतमले एक विकेट झारे ।

टिप्पणीहरू