कारबाहीको मागमा माधव नेपालको अभिनय, केपी ओली प्रधानमन्त्रीको भूमिकामा

कारबाहीको मागमा माधव नेपालको अभिनय, केपी ओली प्रधानमन्त्रीको भूमिकामा
सुन्नुहोस्

नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अभिनय गरेको चलचित्र ‘नमेटिने घाउ’ को सुटिङ सकिएको छ । आज ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा ओलीसँग सम्बन्धित दृश्य खिचेसँगै छायाँकन सम्पन्न भएको जनाइएको छ । 

निर्देशक तथा अभिनेता रमित ढुंगानाले चलचित्रमा ६५ जना कलाकार रहेको र आज अध्यक्ष ओलीले अभिनय गरेसँगै ५१ औं दिनमा छायांकनसमेत सकिएको बताए । फिल्ममा अध्यक्ष ओलीलाई प्रधानमन्त्रीको भूमिकामा प्रस्तुत गरिएको छ । उहाँले एसिड पीडितको पक्षमा कानुन बनाउन भूमिका खेलेको दृश्य चलचित्रमा राखिने छ ।

‘नमेटिने घाउ’ एसिड सर्भाइभर मुस्कान खातुनको जीवन कथामा बन्न लागेको हो । चलचित्रमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको पनि अभिनय छ । 

चलचित्रको कथाअनुसार विद्यार्थीहरुले ‘एसिडको प्रयोगमा रोक लगाउ र एसिड आक्रमणकारीलाई कारवाही गर’ लगायत नारासहित प्रदर्शन गरेपछि अध्यक्ष नेपालले उक्त प्रदर्शनलाई सम्बोधन गरेको दृश्य केही दिनअघि कोटेश्वर क्षेत्रमा खिचिएको हो । उहाँले एसिड आक्रमण गर्नेलाई तत्काल कारबाही गरिने आशयसहितको संवादमा अभिनय गर्नुभएको बताइएको छ ।

सामाजिक कथावस्तुमा आधारित फिल्म काठमाडौँसहित पोखरा, नवलपरासी, वीरगञ्ज, रौतहट, बनेपा, पनौती र भक्तपुरमा छायांकन गरिएको थियो ।

टिप्पणीहरू