बाँदर बन्ध्याकरण : आइसक्रिम खानेको कि बाली सखाप पार्नेको ?

बाँदर बन्ध्याकरण : आइसक्रिम खानेको कि बाली सखाप पार्नेको ?

पछिल्लो समय मुलुकका विभिन्न स्थानमा बाँदर आतंक बढेको खबरले सामाजिक सञ्जाल तातेको छ । बाँदर नियन्त्रणका लागि किसानसँगै स्थानीय तहहरुले विभिन्न उपाय खोजिरहेको बताइन्छ । 

अघिल्लो साता कास्कीको पोखरा महानगरपालिका वडा नम्बर १९, कार्यालयले बाँदर नियन्त्रणको नाममा रुख काटेर सखाप पार्न स्थानीयलाई आग्रह गर्यो । कार्यालयले ‘मेरो रुख म काट्छु’ अभियान सञ्चालन गरी दश दिनभित्र आफ्नो घर वरपर रहेका रुख काट्न भनेको थियो । 

यद्यपि, त्यो कार्य व्यापक आलोचनापछि रोकिएको छ । महानगरपालिकाका मेयर धनराज आचार्यले निर्णय कार्यान्वयनमा रोक लगाइदिएका छन् । बाँदरले आतंक मच्चाएपछि पर्वतको कुश्मा नगरपालिका वडानम्बर ९ का वडाध्यक्ष रामशर्मा लामिछाने खेतबारीमा कुरेर बस्न थालेको धेरै भइसकेको छ ।

खेतबारीमा लगाएको अन्नबाली बाँदरबाट जोगाउन अपनाइएका अनेकौं उपाय प्रभावकारी नभएपछि वडाध्यक्ष लामिछानेसहित स्थानीय खेतबारी कुर्न बाध्य भएका हुन् । ‘बाँदरबाट बाली जोगाउन धेरै कोसिस गर्यौं । तर, नसकेपछि अहिले आलोपालो गरेर खेतबारीमै बस्न थालेका छौं,’ उनले भने । 

बाँदरको समस्य अहिले राष्ट्रिय मुद्दा नै बनेको छ । संसदीय समितिमा समेत यसबारे छलफल चलिसकेको छ । तर, यो नयाँ समस्या भने होइन । पछिललो समय बढ्दै गएको हो । 

खेतबारीमा लगाइएका तरकारी, मकै र फलफूललाई बाँदरका हुल पसेर खाइदिने, भाँचिदिने गर्दा लाखौंको क्षति हुने गरेको स्याङ्जाका किसान अर्जुन श्रेष्ठको गुनासो छ । ‘प्रमुख अन्नबाली नै बाँदरले आएर भाँच्ने र खाने गर्दा रित्तो भइसक्यो,’ उनले भने । बाँदरले घरभित्रै पसेर समेत मकैका झुत्ता लगिदिने गरेको समेत उनी सुनाउँछन् । भन्छन्, ‘वर्षभरि दुःखका साथ जोगाएको अन्नपात बाँदरले लगिदिँदा मन अमिलो हुन्छ ।’

बाँदर आतंक नरोकिएपछि अहिले किसानहरुले बाली लगाउन छोड्नुका साथै बसाइसराई समेत गरेको पाइएको छ । यता, बाँदर नियन्त्रणका लागि स्थानीय तहहरुले विभिन्न उपाय अपनाउँदै आएका छन् ।

बाँदर तर्साउन बन्दुक वितरण, औषधि प्रयोग, वनमा फलफूल रोप्नेदेखि रुख काट्ने अभियानसम्म स्थानीय तहहरुले गरेका छन् । तर, बाँदर नियन्त्रणको प्रयास असफल देखिएका छन् ।

बाँदर नियन्त्रणको प्रयास अवलोकन गर्न नेपाली सांसदहरुको टोली भारत भ्रमणमा जाने तयारी गरेको छ । बाँदरलाई बन्ध्याकरण गरेर नियन्त्रण गरिरहेको भारतीय अभ्यास अवलोकन गर्न सांसदहरु त्यता जान लागेका हुन् । 

प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति आरजु राणासहितको टोली भारतको हिमाचल प्रदेशमा बाँदर बन्ध्याकरण प्रक्रियाको अवलोकन गर्न जान लागेको बताइन्छ ।  

वन्यजन्तु विज्ञ प्रा.डा.मुकेशकुमार चालिसेका अनुसार बाँदर सबै कुरा सिक्न सक्ने प्राणी हो । मानिसले गर्ने हरेक क्रियाकलाप बाँदरले नक्कल गर्ने उनी बताउँछन् । ‘बाँदरमा मानिसले गरेको क्रियाकलाप सिक्ने क्षमता धेरै हुन्छ । मानिसले जे गर्यो, बाँदरले पनि बिस्तारै त्यही गर्छ,’ उनले भने । 

पछिल्लो समय बाँदरमा प्राकृतिक गुण नष्ट भइसकेको समेत चालिसेको ठहर छ । ‘मानव बस्तीमा बसेकाले बाँदरको प्राकृतिक गुण नष्ट भइसकेको छ,’ उनले भने, ‘जंगलमा गएर खानेकुरा खोजेर खाने बाँदर अहिले मानिसको नक्कल गर्दै कोकाकोला, आइसक्रिस समेत खान्छ । मानवले गर्ने हरेक क्रियाकलाप र गतिविधि बाँदरले सिक्दै र दोहोर्याउँदै जाने क्रम बढ्दो छ ।’
प्रा.डा. चालिसे बाँदरले मानिसजस्तै व्यवहार गर्न खोज्दा किसानले दुःख, हैरानी भोग्नुपरेको समेत बताउँछन् । उनले बाँदरले दुःख दिँदा किसानहरुले ठूलो क्षति व्यहोर्नुपरेको समेत सुनाए । 

‘खेतबारीमा लगाएको वा घरमा राखिएको अन्न समेत बाँदरले खाइदिएपछि वा लगिदिएपछि किसानहरुले ठूलो क्षति व्यहोर्नुपरेको छ । वर्षेनी दुःख पाउनुभन्दा बाली नै नलगाउनु बेस वा बसाई सर्नु नै राम्रो भनेर धेरैले त बसाईसराई समेत गरेका छन्,’ उनले भने । 

विश्वमा दुई सयभन्दा बढी जातका बाँदर, नेपालमा कति ? 

प्रा.डा चालिसेका अनुसार विश्वमा दुई सय ३४ जातका बाँदर पाइन्छन् । त्यसमध्ये नेपालमा तीन किसिमका बाँदर पाइन्छ । 

नेपालमा रातो, पहरे र लंगुर बाँदर पाइन्छन् । पहरे बाँदर दुई थरीका हुन्छन् । पूर्वी नेपालमा एक थरी र पश्चिममा अर्कैगथरी । त्यस्तै, लंगुर बाँदर पनि ठाउँअनुसार फरक–फरक भेटिएका छन् ।
 
कुन बाँदरले सबैभन्दा बढी क्षति पुर्याउँछ ? 

रातो बाँदर बढी चकचके र दुःख दिने खालको हुन्छ । यसले अन्न, फलफूललगायत सबै खालका खानेकुरा खान्छ । यसले मानिसलाई अलि बढी दुःख दिन्छ । खेतीपानीमा पनि धेरै नोक्सान पुर्याउने प्रा.डा मुकेश चालिसेको भनाई छ । 

पहरे बाँदर लजालु र मानिस नभएको बेलामा मात्र खेतबारीमा आउने हुँदा यसले खेतीपातीमा धेरै नोक्सान नपुर्याउने उनले बताए । त्यस्तै, लंगुर बाँदर ठूलो पुच्छर भएको र घाँस खाने हुँदा खेतबारीमा हत्तपत्त नपस्ने र पसिहाले खासै क्षति नपुर्याउने उनले जानकारी दिए । 
रातो बाँदरले खाना ननिली घाँटीमा जम्मा गर्ने हुँदा खेतीपातीमा बढी क्षति पुर्याउने तर पहरे र लंगुर बाँदरले चपाएर निल्ने वा फुर्सदमा खाने हुँदा पनि यसले खेतीपातीमा कम क्षति पुर्याउनेसमेत प्रा.डा चालिसेले स्पष्ट पारे । 

नेपालमा कुन बाँदर बढी पाइन्छन् ? 

नेपालमा सबैभन्दा धेरै रातो बाँदर पाइन्छ । तराई, पहाड र हिमालसम्म रातो बाँदर भेटिन्छ । करिब एक लाखको हाराहारीमा नेपालमा रातो बाँदर रहेको उनले जानकारी दिए । त्यस्तै, पहरे र लंगुर बाँदर ५०÷५० हजारको संख्यामा भएको अनुमान छ । 
 
बाँदर व्यवस्थापन 

प्रा.डा चालिसेका अनुसार ठाउँ अनुसार फरक–फरक स्वभावको बाँदर पाइने हुँदा एउटै उपाय अवलम्बन गरेर बाँदर व्यवस्थापन गर्न सकिँदैन । यसका लागि सर्वप्रथम बाँदरको अध्ययन गर्न आवश्यक हुन्छ ।

‘बाँदरको जात ठाउँ अनुसार फरक–फरक हुने हुँदा यसलाई नियन्त्रण गर्न एउटै उपाय काम लाग्दैन,’ उनले भने, ‘जंगलमा बस्ने बाँदरले किसानलाई दुःख दिँदैन । तर, मठमन्दिर र मानव बस्तीमा बस्ने बाँदरले धेरै दुःख दिन्छ । त्यसैले, सरकारले पहिला बाँदरको अध्ययन गर्न जरुरी छ । किन र कुन जातको बाँदरले बढी दुःख दिइरहेको छ ? भनेर पत्ता लगाउनुपर्छ ।’

उनले थपे, ‘अध्ययनपछि बाँदर नियन्त्रणका लागि कुन ठाउँमा कस्तो उपाय अवलम्बन गर्ने ? भनेर आफैं मार्ग निस्किन्छ ।’ यसबाहेक बाँदर नियन्त्रणका लागि स्थानीय तहहरुले स–साना चिडियाखाना स्थापना गरी त्यसबाट आम्दानी गर्नुका साथै मनोरञ्जन समेत प्रदान गर्न सक्ने प्रा.डा चालिसेको भनाइ छ । 

‘धेरै बदमासी गर्ने बाँदरलाई सम्बन्धित स्थानीय तहले चिडियाखाना खोलेर समेत व्यवस्थापन गर्न सक्छन् । त्यसबाट मान्छेलाई मनोरञ्जन हुनुका साथै आर्थिक आयआर्जन पनि हुन्छ,’ उनले सुझाए । त्यस्तै, वनजंगलमा फलफूलका बोटबिरुवा रोपेर समेत बाँदर व्यवस्थापन गर्न सकिने उनको अर्को उपाय छ ।  

प्रा.डा.चालिसेका अनुसार बाँदर व्यवस्थापनका लागि सरकारले तत्काल आवश्यक कदम चाल्नुपर्छ । बाँदरले वर्षभरिको अन्नपात खाइदिएपछि किसानहरु क्रुद्ध हुनु स्वाभाविक हो । सरकारबाट सोचेअनुरुपको सहयोग र साथ उनीहरुले नपाउनु पनि दुःखद् पक्ष हो । उनीहरु सरकारसँग पनि आक्रोशित छन् । सरकारले अझै पनि बाँदर व्यवस्थापनतर्फ कदम नचाले पीडित जनता थप आक्रान्त हुनेमा दुईमत छैन ।

टिप्पणीहरू