भैंसी र मान्छे मार्नेले पाए उन्मुक्ति

भैंसी र मान्छे मार्नेले पाए उन्मुक्ति

पावर र पैसाको दवावमा दुर्घटना घटाएर भागेका एक अभियुक्तलाई चोख्याउने खेल खेलिएको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तु र सरकारी न्यायाधिवक्ताको कार्यालय समेतको मिलेमतोमा कपिलवस्तुका व्यापारी अमरदीप कसौधनलाई जोगाउने खेल भएको हो ।

कपिलवस्तु उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष सन्तोष कसौधनका छोरा अमरदीप भन्सार एजेन्ट,ग्रेनाइट, मार्बललगायत विभिन्न धन्दामा संलग्न व्यवसायी हुन् ।  गत भदौ ८ गते भैरहवामा क्यासिनो खेलेर कपिलवस्तु फर्किदै गर्दा दोहनीमा बिहान ५ बजे भैंसी  डोर्याएर हिंडिरहेको किसानलाई ठक्कर दिईभागेका थिए । भैंसी  घटनास्थलमै र कपिलवस्तु न.पा. वडा नं. ८ मैनिहवा निवासी ५४ बर्षिय रामशरन अहिरको भारत नौगढ लैजाँदै गर्दा भदौ ११ मा मृत्यु भएको थियो । 

मान्छे र भैंसी हानेपछि मदिराले मात्तिएका अमरदीप सिधै घर पुगे र गाडी त्रिपालले ढाकेर भारततिर लागे । यता ट्राफिक प्रहरीले घटनाको स्केच बनायो,अनुसन्धान गर्यो र गाडी पनि समात्यो । ड्राइभर पनि नक्कली खडा गरियो । तर प्रत्यक्षदर्शी र पीडितले नमानेपछि घटनाले नयाँ मोड लियो । 

देशभर भदौ २३ मा आन्दोलन चर्कियो, २४ गते जेलका कैदी भागे । त्यही मौका छोपेर घटनालाई नाटकीय बनाइयो । अमरदीप २३ गते हाजिर भई २४ गते हाजिर जमानीमा छोडेको कागजात बनाई सवारी तथा यातायात व्यवस्था ऐन २०६३ को दफा १६१(३) अनुसारको कसुरदार दावी गरी जिल्ला अदालतमा मुद्धा दायर भएको छ । ०८२ सिआई ००७० नम्बरको उक्त मुद्धामा माग भएबमोजिम अदालतले ५० हजार रुपैयाँ धरौटी लिई अमरदीप छुटिसकेका छन् ।

हिट एण्ड रन अर्थात ठक्कर दिएर भागेका अमरदीपले चलाएको गाडी भारतीय नम्बर प्लेटको हो । युपी १२ बिजे ९९९७ नम्बरको सो गाडीले ठक्कर दिएको समयमा नेपालमा चलाउन परमिट पनि लिइएको थिएन । ठक्कर दिएपछि आफूले उठाउने वा अस्पतालतिर लैजाने कर्तब्य गाडी चालकको हुन्छ । उनी भागेका थिए । यस्तो अवस्थामा सवारी तथा यातायात ब्यवस्था ऐनको दफा १६१ को उपदफा १ या २ आकर्षित हुन्छ ।

ठक्कर दिएपछि आफूले उठाउने वा अस्पतालतिर लैजाने कर्तब्य गाडी चालकको हुन्छ । उनी भागेका थिए । 

आफूले दुर्घटना घटाएको र उपचार गराउन भारत गएको दावी अमरदीप कसौधनले गरे । भारतमै रहेका उनले घटनाको बिषयमा आफ्नो बाबु सन्तोषलाई बुझ्न भने । सन्तोष कसौधनले आफूलाई कानुनको बिषयमा केही थाहा नभएको र सबै काम प्रकृया अनुसार भएको दावी गरे । समाचार श्रोतले कसौधनलाई जेनजी आन्दोलनपछि बिषम परिस्थितिको फाइदा उठाउँदै ठूलै रकम हात पारेर कागजी रुपमा मिलाएर छाडिएको दावी गरेको छ । 

उक्त दुर्घटनामा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका तत्कालिन निरिक्षक माधव बिकले अनुसन्धान गरेका थिए । जिल्ला सरकारी वकिलको कार्यालयले अदालतमा मुद्धा पेश गरेको थियो । घटनाको गाम्भिर्यताभन्दा फरक ढंगले मुद्धा दायर गरी अभियुक्तलाई ५० हजार धरौटीमा छाडिएको बिषयमा जिल्ला न्यायाधिवक्ता खिमानन्द गौतमले अनुसन्धान अधिकारीले दिएको प्रतिवेदनको आधारमा मुद्धा दायर भएको जिकिर गरे । तर योभन्दा कमजोर सवारी ज्यान मुद्धामा पनि उनै गौतमले उपदफा २ लगाएका नजिरहरु छन् ।

अदालतमा मुद्धा चलिरहेको छ, कमी कमजोरी भए स्वभाविक रुपमा सच्चिएला नि ! (गौतमले भने । दुर्घटनाको अनुसन्धान गरेर प्रतिवेदन बुझाएका प्रहरी निरिक्षक बिकले आफूले बुझाएको प्रतिवेदन सरकारी वकिलले नमान्न सक्ने बताए । उनले आफूले अनुसन्धान गरेको भएपनि टीमको सल्लाहबाटै गरेको दावी गरे । 

प्रहरी उपरीक्षक सन्तोष आचार्यले हालै सरुवा भएर बताउँदै आफू आउनुभन्दा अघिको घटना भएकाले बुझ्ने जानकारी दिए । प्रहरी प्रवक्ता डिएसपी रिपेन्द्रकुमार सिंहले अनुसन्धान अधिकृतले सबै हेरेर गरेको र सोहीअनुसार मुद्धा दायर गरिएको बताए ।

 

टिप्पणीहरू