उपत्यकामा बढ्दै जाम,कार्यान्वयन गर्नेमा कसको नाम ?
काठमाडौं उपत्यकामा ट्राफिक जाम ह्वात्तै बढेको छ । झन् पिक आवरमा घण्टौं ट्राफिक जाममा बस्नुपर्ने बाध्यता छ । गन्तव्यमा पुग्नका लागि लाग्ने समयभन्दा एकाध घण्टा अगावै घरबाट निस्किनुपर्ने अवस्था छ । बढ्दो सवारी साधनका कारण ट्राफिक प्रहरीलाई सवारी व्यवस्थापन गर्न हम्मेहम्मे परेको छ ।
उपत्यकामा ट्राफिक जाम बढ्नुको पछाडि धेरै कारण छन् । जसमध्ये एक रात्रिकालीन बस हो । पिकआवरमै रात्रिकालीन बस चलाउने, चोकचोकमा अवैध पार्किङ्ग र लेन अवरुद्ध गर्नेलगायतका कारणले उपत्यकाका सडकमा दैनिक असह्य ट्राफिक जाम हुन थालेको हो । मुख्य संवेदनशील क्षेत्रहरु चाबहिल, गौशाला, बौद्ध, कोटेश्वर, सातदोबाटो, महाराजगञ्जलगायतका क्षेत्रमा झन् धेरै जाम हुन्छ ।
अफिस टाइममा हुने भीषण जामले गर्दा सर्वसाधारणले एकदमै धेरै सास्ती पाइरहेका छन् । रातको समयमा चल्नुपर्ने रात्रिकालीन बस दिनमा पनि यात्रु बोकेर दौडिरहेको देखिन्छ । रात्रिकालीन बसको अवैध, अव्यवस्थित र नियन्त्रणहीन सञ्चालनले उपत्यकाको सडक सुरक्षा जोखिमपूर्ण दिशातर्फ गइरहेको सर्वसाधारण बताउँछन् ।
ट्राफिक प्रहरीले जथाभावी रात्रिकालिन बस पार्क गर्न, दिँउसोको समयमा चल्न रोक लगाउनुपर्ने सर्वसाधारणको भनाइ छ । बौद्धमै बस्ने सरिता खनाल भन्छिन्,‘रात्रिकालीन बसका कारण अत्याधिक जाम हुन थालेको छ । त्यसले काठमाडौंलाई दिनदिनै असह्य ट्राफिक संकटतर्फ धकेलेको छ । ट्राफिक प्रहरीले जथाभावी रात्रिकालीन बस रोक्ने कार्यमा रोक लगाउनुपर्छ ।’
चाबहिल बस्दै आएकी यमुना उपाध्यायले रात्रिकालिन बस बसपार्कबाटै छुट्नुपर्ने व्यवस्था लागू गर्न माग गरेकी छिन् । जथाभावी यात्रु ओराल्ने र चढाउने कार्यले ट्राफिक जाम बढेको उनको जिकिर छ । ‘रात्रिकालीन बसहरु बसपार्कबाट सञ्चालन गर्नुपर्ने व्यवस्था गर्नुपर्छ । जबसम्म त्यो व्यवस्था हुँदैन, तबसम्म जामको समस्या हट्नेवाला देखिँदैन’,उनले भनिन् ।
घुस खाँदै, रुट परमिट बाँड्दै
मुलुकको कानुनले पार्किङ्ग नभएको स्थानमा ठूला बसलाई रुट परमिट दिन नमिल्ने व्यवस्था गरेको छ । तर, यातायात व्यवस्था कार्यालयका कर्मचारीहरुले घुस खाएर मनलाग्दी ढंगले रुट परमिट बाँडिरहेका छन् । जसले कानुनी व्यवस्था र सार्वजनिक हित दुवैलाई खुलेआम मिचिरहेको छ । कर्मचारीहरुले केही पैसाका लागि जथाभावी रुट परमिट बाँड्दाको परिणाम आजको ट्राफिक जाम भएको जानकारहरु बताउँछन् ।
कठोर बन्दै ट्राफिक प्रहरी
उपत्यकामा ट्राफिक जाम ह्वात्तै बढेसँगै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले रात्रिकालीन बस सञ्चालनमा कडाइ गर्ने तयारी गरेको छ । दिवा र रात्रिकालीन बसहरु बसपार्कबाट मात्र छुट्न पाउने व्यवस्था लागू गर्न थालिएको छ । कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीले जाम नियन्त्रण गर्ने उद्देश्यले नयाँ व्यवस्था गर्न लागिएको बताए ।
जनआस्थासँग उनले भने,‘जथाभावी यात्रु चढाउने र ओराल्ने कार्यले जाम धेरै हुन थाल्यो । त्यसलाई मध्यनजर गरेर बसपार्कबाट मात्र गाडी छुट्नुपर्ने व्यवस्था गर्न लागेका छौं । हामीले सरोकारवालाहरुसँग समन्वय गरेका छौं । उहाँहरुले पनि हुन्छ भन्नुभएको छ ।’
कार्यान्वयनमा सर्वसाधारणको आशंका
बसपार्कबाट मात्र गाडी छुट्नुपर्ने व्यवस्था गर्न लागिएको पहिलोपटक होइन । यसअघि काठमाडौं महानगरपालिकाले पनि सोही व्यवस्था गरेको थियो । महानगरले रात्रिकालीन बस गोगंबुस्थित नयाँ बसपार्कबाट मात्र सञ्चालन गर्न पाउने भनेर सूचना नै निकालेको थियो । २०८० जेठ १९ गते सूचना प्रकाशित गर्दै महानगरले असार १ गतेदेखि उपत्यकाबाहिर जाने सम्पूर्ण यात्रुवाहक सवारी साधनलाई बसपार्कबाट सञ्चालन गर्न भनेको थियो ।
जुन व्यवस्था अहिलेसम्म पनि कार्यान्वयनमा आएको छैन । जता मनलाग्यो त्यतै यात्रु चढाउने र ओराल्ने क्रम जारी छ । ट्राफिक प्रहरीले पनि सोही व्यवस्था लागू गर्न थालेकोमा कार्यान्वयन हुनेमा धेरैलाई आशंका छ ।
टिप्पणीहरू