मेयरको प्रशंसामा १० लाख झ्वाम
रौतहटको कटहरिया नगरपालिकाका तत्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साह भ्रष्टाचारमा तानिएका छन् ।
डकुमेन्ट्रीका नाममा सरकारी रकम दुरुपयोग गरेको आरोपमा उनीसहित सात जनाउपर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।
मुद्दा चलाइएकामा तत्कालिन सहायक लेखापाल विवेककुमार सहनी, सहायकस्तर पाँचौं राम नरेशप्रसाद यादव, सहायक कम्प्युटर अपरेटर उमेशकुमार दास तत्मा, खरिदारहरु कौशलकिशोर चौधरी, छोटेलाल मिश्र र सरिता फाउण्डेशनकी निर्देशक सरिताकुमारी साह छन् ।
नगरपालिकाको आर्थिक वर्ष २०७७–०७८ को नगरसभाबाट बजेट नै स्वीकृत नगराई सरिता फाउण्डेशनको नाममा पाँच लाखको चेक काटेर मिलेमतोमा हिनामिना गरेको भन्दै अख्तियारमा उजुरी परेको थियो । त्यसउपर अनुसन्धान गर्दा उनीहरूले आपसी मिलेमतोमा झण्डै दश लाख रुपैयाँ खर्चिएर चेतनामूलक सन्देशका नाममा नगर प्रमुखको गुणगान देखिनेगरी डकुमेन्ट्री बनाएको तर प्रशारण गरेको नपाइएको अख्तियारले जनाएको छ ।
डकुमेन्ट्रीका नाममा सरकारी रकम दुरुपयोग गरेको भन्दै अख्तियारले नौ लाख ९८ हजार ९२१ रुपैयाँ बिगो कायम गर्दै प्रतिवादीहरुलाई कैद र जरिवाना सजाय हुन मागदाबी गरेको छ ।
टिप्पणीहरू