निर्वाचन आयोग दृढ संकल्पित, ढुक्कले भोट हाल्न अपील

निर्वाचन आयोग दृढ संकल्पित, ढुक्कले भोट हाल्न अपील

निर्वाचन आयोगले उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको छ । आज विज्ञप्ति जारी गर्दै आयोगले इलाम-२ र बझाङ-१ (१)मा भोलि हुने उपनिर्वाचनको तयारी सम्पन्न भएको औपचारिक जानकारी दिएको हो । 

आयोगले मतदान समय बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म तोकिएको छ । विज्ञप्तिमा निर्धक्क भएर मतदान गर्न मतदातालाई अपील समेत गरिएको छ । 

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वासनीय तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न विशेष सजगता अपनाएको आयोगको बताएको छ । त्यस्तै, आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि अनुगमन समिति, अनुगमन अधिकृत, मतदान कार्यमा खटिएका कर्मचारी एंव सुरक्षाकर्मीबाट समेत सुक्ष्म अनुगमन भइरहेको पनि विज्ञप्तिमा जनाइएको छ । 

मतदानका दिन सम्बन्धित निर्वाचन क्षेत्रका मतदाताको सहज आवागमनका लागि सार्वजनिक यातायात सञ्चालनको उपयुक्त प्रबन्ध गर्न गृह मन्त्रालयमार्फत प्रमुख जिल्ला अधिकारीलाई निर्देशन समेत दिइसकेको आयोगको भनाइ छ । 

आयोगको विज्ञप्तिमा मतदान अधिकृत र कर्मचारीलाई आफ्नो कर्तव्य पालना गर्न नदिने, बल प्रयोग गरी वा डर त्रास देखाएर मतदान केन्द्र कब्जा गर्न खोज्ने, मतदातालाई मतदान केन्द्रमा जान नदिने, मतपेटिका वा मतदान सामग्री खोस्ने, लुट्नेजस्ता कार्य गर्ने जोकोहीलाई तत्काल कारबाही गर्न सम्बद्ध निकायलाई निर्देशन दिइसकेको पनि उल्लेख छ । 

निर्वाचनलाई कुनै पनि अवाञ्छित गतिविधिबाट प्रभावित हुन नदिन आयोग दृढ संकल्पित रहेको विज्ञप्तिमा उल्लेख छ ।

टिप्पणीहरू