जातमा के छ ?
![जातमा के छ ?](https://janaaastha.prixacdn.net/media/albums/435466961_326196763499057_6400488781873708323_n_ibOoq0ztc6.jpg)
विपना भुर्तेल
याे जातलाई
तिम्रो र मेरो बाटोको तगाराे बनाएर
आखिर कहाँ छाेटिन्छ बाटाेकाे लम्बाई
कहाँ भेटिन्छन् गन्तव्य हराएकाे विज्ञापनकाे सूचनाहरू
मान्छेमाथि मान्छेकै दमन हुन्छ भने
तिमीलाई कसरी भनुँ चेतनशील प्राणी ?
कसरी भनुँ तिमी पनि मजस्तै मान्छे हाै
मैले बनाएकै कराईमा तरकारी बनाएकै छाै
मैले बनाएकै जुत्ता लगाएर हिँडेकै छाै
मैले सिलाएकै कपडाले नाङ्गाे शरीर छाेपेकै छाै
पानी छाेएकै कारण
किन तम्सिन्छाै मैले नै बनाइदिएकाे खुकुरीले मेरै घाँटी काट्न ?
कसले बनाएकाे हाे ?
यस्ताे चरम विभेदकाे मानव सभ्यता
कसले बनाएकाे हाे ?
यस्ताे कुसंस्कारले भरिएकाे समाज
यसरी त कसकाे अस्तित्व रहन्छ इतिहासमा
यसरी त कसरी लेख्न सकिन्छ समानताकाे कविता
यसरी त कसरी गाउन सकिन्छ माया पिरतीकाे गीत
यसरी त कसकाे रहन्छ अनन्तकालसम्म जीवन अस्तु
आऊ परिवर्तनको यात्रामा निस्काैँ घरकाे दैलाेबाट
फुकाैँ शान्तिकाे बिगुल
बदलौँ आफूभित्रकाे विकार सोचहरू
जात एकै हाे भन्ने जान्दा जान्दै
किन लेख्न सक्दैनाैँ हामीले हाम्रा थरहरू ?
तिमीले बनाइदिएकाे जातकाे पगरी गुथेर
म कसरी गर्व गर्न सक्छु ?
यसरी कतिन्जेल जातको परिधिमा राखेर
अछुतकाे हत्कडी लगाएर राख्छाै मेराे स्वतन्त्र
भन !
तिमी र ममा के भिन्नता छ ?
मलाई छाेएर जाने वतासले तिमीलाई नछाेएकाे प्रमाण के छ ?
मलाई छुने घामकाे किरणले तिमीलाई नछाेएकाे प्रमाण के छ ?
यसरी विभेदकै कारणले अझै कति जनाले बलिदान दिनुपर्ने हाे ?
भन !
मानव उत्पत्ति कालमा हामी मान्छेकाे जात के थियाे ?
टिप्पणीहरू