अभय
चराहरु थिएनन्
चराको चिरबिर थिएन
बचेराहरु चारोको प्रतीक्षामा थिए
चारो ल्याउनै नपाइ माउहरु निर्वासित थिए
फुङ्ग उडेको दिन बोकेर
सूर्य झोक्राइ बसेको थियो
मान्छेहरु बिलौना गरिरहेका थिए
रात खोसिएको थियो
शोकधुन बजाइरहेका थिए ।
अवोध नानीहरु आमाबाको खोजीमा
मिर्मिरेमै घर छोडी निस्किएपनि
आमाबाको अत्तोपत्तो थिएन
कलेटी ओठहरु बोकेर तिनीहरु
आँसुले भरिएका निश्चल आँखाहरु डुलाएर
कहाँ पुग्ने हुन् ?
थातबासको टुङ्गो थिएन ।
त्यसो त अहिल्या पनि बेलगाम हिँडिरहेकी छ
उसको खसम अभय
पच्चिस वर्षदेखि सम्पर्कमा छैन
छापामार युद्धमा गयो रे भन्थे
सुहागरातकै भोलिपल्ट हिँडेको अभय
बूढीआमालाई सम्झेर पनि आउनुपर्ने
अहिल्या र अभयको प्रेमविवाह हो
अहिल्याको मायाले पनि तान्नुपर्ने
समय किन क्रुर बनेको छ ?
प्रेमील जोडीको बिछोड गराई
आमाको सपना बिथोलेर ।
अभय क्रान्तिको कुरा गर्थ्र्यो
अभय मुक्तिको कुरा गर्थ्र्यो
अभय न्याय र समानताको कुरा गर्थ्र्यो
गरिबीले पिल्सिएर
एकपेट खानै धौ धौ परेपछि
अन्यायले पिसिएर
न्याय नपाएपछि
आजित भएर अभय
क्रान्तिमा हिँडेको हो ।
सायद सहादत प्राप्त गरिसक्यो उसले
जुम्ला आक्रमणका सँगैका छापामार घर फर्किसके
शहीदको सूचीमा सूचाङ्कित छैन
बेपत्ताको सूचीमा सूचाङ्कित हुन सक्छ
पच्चिसौं वर्ष बित्दा पनि
अभय घर फर्केको छैन ।
अहिल्या र आमा बाटो हेर्दै बस्छन्
जब साँझ पर्छ
अभयको चालखबर नभएपछि
पीडामा रात कटाउँछन्
जिन्दगी प्यारो लाग्छ
अहिल्या र आमा मर्न सकेनन्
अभय फर्कने आशमा
दुःख जिउलो व्यहोरेर
जिजीविषा कोट्याउँदै
अहिल्या र आमा
रुन्चे हाँसो हाँस्छन्
दुःखका आँसु बगाउँदै ।
टिप्पणीहरू