झापा एमालेमा झन् ठूलो झमेला
‘खोलो तरेपछि लौरो बिर्सने’ टुक्कालाई सम्झाउने गरी अध्यक्ष केपी ओलीले व्यवहार गरेपछि पार्टी स्थापनाकालदेखि योगदान पुर्याउँदै आएका झापाली वामपन्थी नेता तथा कार्यकर्ता गुमनाम र दुरुह जीवन जिउन बाध्य भएका छन् । झापा संघर्षको जगमा उभिएको अहिलेको नेकपा (एमाले) भित्र झापा आन्दोलनमा संलग्न एकाध नेता–कार्यकर्ताबाहेक अधिकांश पाखा लगाइएका छन् ।
अध्यक्ष ओलीको पेलान खाई खाई एमालेमै बस्नेहरूको एक नम्बरमा नरेश खरेलको नाम लिइन्छ । एउटै प्रकरण र आरोपमा अध्यक्ष ओली १४ वर्ष र खरेल १७ वर्ष जेल बसेका थिए । खरेल झापा आन्दोलनमा सक्रिय रहेकै बखत पक्राउ परेका र नख्खु जेल ब्रेक गर्दै भाग्ने आस्थाका बन्दी हुन् । भारत छिरेर नेपाल पस्ने क्रममा बाटोमा पक्राउ परेका होइनन् । झापा सुरुङ्गामैं जनार्दन उप्रेती अर्का त्यस्ता पात्र हुन् जो अध्यक्ष ओलीको पेलानमा छन् ।
नारद वाग्लेबाहेक अध्यक्ष ओलीसँग कोही पनि साथीसँगी बाँकी थिएनन् । वाग्लेले पनि पछिल्लो समय साथ छोडेपछि झापा विद्रोहको झण्डा बोक्न कोही पनि बाँकी रहेनन् । अमृत बोहरा एमालेमै भए पनि ओली खेमाभन्दा बाहिरका मानिन्छन् । मुकुन्द न्यौपाने एमालेमै फर्किए पनि पछिल्लो समय टाढिइसके । मानकुमार तामाङ्ग र भिष्म धिमालहरू माओवादी केन्द्रमा जान बाध्य पारिएका थिए । मनकुमार गौतमलाई अँठ्याएर राखे पनि उनीसमेत साथमा छैनन् । दधिराम उप्रेतीलाई त कसैले वास्तै राखेनन् । सानो र ठूला दुर्गा अधिकारीको समेत कसैले ख्याल गरेनन् ।
जेनजी आन्दोलनक्रममा सुखानीका शहीद वीरेन राजवंशीको ज्यामिरगढीस्थित प्रतिष्ठान र पुस्तकालयलाई ध्वस्तै हुने गरी डढाइएको छ ।
आन्दोलन क्रममा मारिएका राजवंशी र सन्थाल परिवारहरूको त झनै कन्तविजोग देखिन्छ । एमाले पार्टी कार्यालय बल्खुमा झुण्डिएर मरेका कार्यकर्ताको परिवारले बाँच्नको लागि के कस्तो संघर्ष गरेको छ त्यसको कतैबाट खोजखबर भएको छैन । पुष्प पोखरेल, वेदराज रेग्मी, पुण्य खरेलहरू माधवकुमार नेपालसँगै पलायन हुन बाध्य भए । जेलबाट निस्केलगत्तै ओलीले चन्द्र भण्डारीको खेदो खन्दै किनारा लगाए । ओली जेलबाट छुटेर आई बसन्तपुरमा बसेको बेला भेट्न गएका रोमणी भट्टराई, घनश्याम भुषाल, रविन कोइराला र चन्द्र भण्डारीप्रति ओलीले कहिले पनि सकारात्मक भाव नदेखाएको आरोप छ । दमकका इन्द्र बुढाथोकीलाई जिउँदो हुँदासम्म टिकी खानै दिइएन ।
झापा संघर्षको बेला पार्टी जोगाउने, नेता तथा कार्यकर्तालाई सेल्टर दिने राजवंशी, धिमाल र सन्थालहरूको बसोबास रहेको क्षेत्र भद्रपुर, ज्यामिरगढी, नकलबन्दा, सतीघट्टा, गौरीगञ्ज र भद्रपुर दक्षिणका समुदायविच पार्र्टीको राम्रो पहुँच थियो । यी सबै समुदायसँग एमालेको सम्बन्ध यतिबेला टुटेको बताइन्छ । झापा आन्दोलनमा सरिक कोही पनि केन्द्रीय नेतृत्वमा छैनन् भने गाउँस्तरमा एकादुई सोझा इमान्दार रहेका छन् । सिपी मैनाली नेतृत्वमा हुँदा भोगेन दादा, राजेन राजवंशीलगायत नक्सलबाडीका कमरेडहरूसँग राम्रो सम्बन्ध थियो । आज ठूलो पार्टी हुँदा पनि ती भारतीय कम्युनिष्टहरूसँग सम्पर्क पुरै विच्छेदको अवस्था छ ।
जेनजी आन्दोलनक्रममा सुखानीका शहीद वीरेन राजवंशीको ज्यामिरगढीस्थित प्रतिष्ठान र पुस्तकालयलाई ध्वस्तै हुने गरी डढाइएको छ । यस्तो घटना हुँदा पनि अध्यक्ष ओलीले दुःख र सहानुभूति प्रकट नगर्दा कार्यकर्ता चकित छन् । दुर्गा अधिकारी भक्तपुरस्थित मजदुरी गर्ने छोराको डेरामा बसेर उपचार गराइरहेका छन् । दधिरामको पूरै परिवार बिरामी छ । मानकुमार तामाङ्गलाई केही पत्रकार र सहयोगी मिलेर सानो घर बनाइदिए । पृथ्वीनगरका हरि अधिकारीको अभावै अभावका बीच मृत्यु भइसकेको छ । चितवनबाट झापा बसाइँ सरी आएका अधिकारी लामो समयदेखि झापा संघर्षमा जोडिएका थिए । पृथ्वीनगर पूर्व दक्षिण क्षेत्रमा काम गर्ने उनले जोदाहा कमरेडको रूपमा चिनारी बनाएका थिए । शिक्षक वेदनिधि निरौला पनि अध्यक्ष ओलीकै रुखो र पक्षपातपूर्ण व्यवहारका कारण बाहिरिए ।
झापा मात्रै नभएर इलाम र ताप्लेजुङ्ग जिल्लाको हालत पनि सन्तोषजनक छैन । त्यसो त अध्यक्ष ओलीको राम्रो सम्बन्ध रहेका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग पनि बिग्रिएको छ । यिनैसँग दुई–दुई पटक गठबन्धन गरी ओलीले चुनाव जित्दै आएका हुन् । ओलीको निर्वाचन क्षेत्रभित्र गढ मानिएको दमक नगरपालिकाको मेयर जितेका राप्रपावाला राम थापाहरूसँग पनि सम्बन्ध चिसो नै रहेको बताइन्छ । यसै कारण फागुन २१ गतेको निर्वाचनमा झापा ५ बाट ओलीलाई सहज छैन । त्यसो त जताततै ओली र एमालेको विरोध भइरहँदा सामान्य मतदातामाझ एमाले नैं देशभक्त रहेछ, यस्तो संगीन घडीमा पनि गाउँगाउँमा शक्ति प्रदर्शन गर्न अघि सरेको छ, जेनजीका नाममा विध्वंश मच्चाउने र विधिको शासनलाई पन्छाउँदै भीडको बलमा शासन गर्न खोज्नेसँग पौंठेजोरी खेलेको भन्दै सहानुभूति पनि बढेको पाइन्छ ।
(जनआस्था साप्ताहिकको मंसिर १७ गते बुधबारको अंकमा प्रकाशित)
टिप्पणीहरू