बर्मेली आमा

बर्मेली आमा

बर्मेली आमा,
तिमी सुर्ता नगर,
तिम्रो विश्वास मरेको छैन,
तिम्रो आस्था भत्किएको छैन ।

तिमी त जून जस्तै प्यारी छ्यौ,
तिमी त घाम जस्तै उज्याली छ्यौ
तिम्रा प्रिय सन्तानहरूका लागि ।

बर्मेली आमा,

तिमी निसंकोच भएर भन,
छोराहरू मोर्चामा सैतानसँग लडिरहेकै छन् ।
एउटा रक्तिम इतिहास पुरिँदै गर्दा,
तिम्रा छोरीहरू इतिहासको इतिहास खोजिरहेका छन् ।
ती कुकुरजस्ता मानिसहरू
निरन्तर मासुका चोक्टा लुछिरहेका छन् ।

आऊ, मुक्तिकामी छोराहरू !
आऊ, मुक्तिकामी छोरीहरू !
कुकुरहरूसँग लडाइँ गर्नै छ,
जीवन उत्सर्ग गर्नेगरी ।

बर्मेली आमा,
म सुन्दैछु,
तिमीलाई एउटा सीमाभित्र कैद गरिएको छ ।
सैतानहरूको यातनाबाट प्रताडित तिमी,
कत्ति पनि अतालिएकी छैनौ,
कत्ति पनि निराश भएकी छैनौ ।
तिमी त माउन्ट एभरेष्टजस्तै उचो छ्यौ,
बैरीको कोठेबारीबाट देखिने ।

बर्मेली आमा,
तिम्रो आँखाभरि नाचेका सपना,
तिम्रो मनभित्र बाँचेका चाहना
अझै मरेका छैनन्,
अझै प्राप्त भएका छैनन् ।
तिमी त फलामको खम्बाजस्तै दृढ छ्यौ,
तिमी त धरतीजस्तै विशाल छ्यौ।

शुभकामना,
प्रिय बर्मेली आमा !
तिम्रा बहादुर छोराहरू,
तिम्रा वीराङ्गना छोरीहरू
युद्ध मोर्चाबाट फर्कन लागेका छन्
कुकुरहरूलाई परास्त गरेर ।
 

टिप्पणीहरू