पर्यटनका लागि नयाँ गन्तव्य बन्दै गोरखाका उत्तरी गाउँ

पर्यटनका लागि नयाँ गन्तव्य बन्दै गोरखाका उत्तरी गाउँ
सुन्नुहोस्

नेपालको गण्डकी प्रदेशमा अवस्थित जिल्ला गोरखा पर्यटकको लागि नयाँ र नौलो गन्तव्य भने होइन । यहाँको इतिहास, मनास्लु हिमाल र सर्किटसँगै विभिन्न जातिय संस्कृति तथा संस्कारले यो विश्वमा परिचित छ । 

पछिल्लो समय सडक यातायातले जोडिएका गोरखाका विभिन्न गाउँमा आन्तरिक तथा वाह्य पर्यटकको चहलपहल बढ्न थालेको छ । पर्यटकहरुका लागि नयाँ गन्तव्यको रुपमा विकास हुँदै गरेको क्षेत्रमा भच्चेक, बारपाक माछीखोला ट्रेक देखिएको छ ।

जिल्लाको अजिरकोट गाउँपालिका भच्चेकबाट सुरु हुने र धार्चे गाउँपालिका माछी खोलामा पुगी अन्त्य हुने सो ट्रेक आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि आकर्षक गन्तव्य बन्दै गएको छ । 

ट्रेकमा भच्चेक बजार, मादले गाउँ, गोगनपानी, हरेनघडेरी, झ्यावा, बालुवा बजार, बारपाक, लाप्राक, गुम्दा, यामगाँउ, लप्सीबोट पर्दछन् । 

२०७२ सालको महाभूकम्पले क्षति पुगेका यी गाउँको अवलोकन र स्थानीय उत्पादनको स्वाद लिँदै यात्रा गर्न सकिने उक्त रुटमा गुरुङ्ग संस्कार र संस्कृतिलाई नजिकबाट बुझ्न सकिन्छ । राजधानी काठमाडौँको नयाँ बसपार्कबाट बिहान ७ बजे भच्चेकको लागि बस छुट्ने गरेको छ । बसले ३ बजे भच्चेक बजार पुर्याउँछ । फुर्सद मिलाएर सोही दिन भच्चेक बजारको विभिन्न स्थानको घुमफिर गरेपछि भोलिपल्ट सो रुटका लागि यात्रा सुरु गर्न सकिन्छ । 

पहिलो दिन भच्चेक, मादले गाउँ, गोगनपानी, हरेनघडेरी, झ्यावा, बालुवा बजार हुँदै बारपाकमा बाँस बस्ने गरी जान सकिन्छ । बारपाक यातायातको सुविधाले जोडिएको हुनाले बसलगायत विभिन्न सवारी साधनको प्रयोगमा सहज छ ।

१५ सयभन्दा धेरै घर रहेको बारपाक ०७२ सालको गोरखा भूकम्पको केन्द्रबिन्दु पनि हो । आन्तरिक तथा वाह्य पर्यटकको निकै चहलपहल देखिने यस ठाउँको भूकम्पपछि मौलिकता हराउँदै गएको छ । 

परम्परागत घरहरु भत्किएपछि आधुनिक र कंक्रिटका घर बनेका छन् । एक दिनको बारपाकको बसाइपछि करिब साढे दुई घण्टाको यात्रामा पुग्न सकिन्छ, धार्चेको लाप्राक गाउँ । त्यहाँको पुरानो गाउँ पुग्नु पहिले नै लाप्राकको नयाँबस्तीले पर्यटकहरुलाई स्वागत गर्छ । ०७२ को भूूकम्प र पहिरोको जोखिमका कारण गैरआवासीय नेपालीहरुले बनाइदिएको नयाँबस्ती पर्यटकको अर्को आकर्षणको केन्द्र हो । 

लाप्राक पुरानो गाउँमा पहिरोको जोखिम भएपनि स्थानीय खेतीपातीका लागि नयाँबस्तीमा बस्दैनन् । आलु, जौ, कोदो नै यहाँको प्रमुख उत्पादन हो । परम्परागत घर अनि गुरुङ्ग संस्कार र संस्कृति अनुसारको अतिथि स्वागत यहाँको विशेषता हो । खेतबारी, घाँस दाउरामै रमाउने स्थानीयको दैनिकी छ ।

लाप्राकमा एक दिन बिताएपछि अर्को दिनको यात्रा सुरु हुन्छ, गुम्दातर्फ । लाप्राकबाट करिब दुई घण्टाको दुरीमा रहेको गुम्दा गाउँ पनि सडक सञ्जालले जोडिएको छ । 

हिजोआज पहेँलपुर जौ भित्र्याउनका लागि हतारिएका यहाँका स्थानीयहरु सँधै बारीमा काम गरिरहेका देखिन्छन् । विभिन्न समयमा थरिथरिका मेला लाग्ने गर्दछ । तीमध्ये आलु मेला, मकै विवाह यहाँका साँस्कृतिक मेलामा पर्छन् । 

गुम्दाको यात्रापछि यामगाँउ, लप्सीबोट हुदै माछीखोला पुग्न सकिन्छ । माछीखोला बूढीगण्डकी र रेचे खोला (हाइड्रो खोला) को दोभानमा अवस्थित छ, जुन प्रख्यात मनास्लु सर्किटको प्रस्थान बिन्दुसमेत हो । माछीखोलाबाट गोरखाबजार र काठमाडौँका लागि दिवा तथा रात्रिकालीन सार्वजनिक यातायातको पनि सुविधा छ । 

यसरी करिब चारदेखि पाँच दिनमा भच्चेक, बारपाक, माछीखोला ट्रेक अन्त्य गर्न सकिन्छ । आर्थिक हिसाबले निकै सस्तो रहेको सो ट्रेक सडकको अवस्था सुधार भएपछि मोटरसाइकल तथा जिपमा समेत जान सकिन्छ ।

यसले आन्तरिक र वाह्य पर्यटकका लागि नयाँ गन्तव्यको रुपमा भच्चेक, बारपाक, माछीखोला ट्रेक स्थापित हुनसक्छ ।

टिप्पणीहरू