नबिल बैंकले शुरु गर्यो ‘श्री शम्भुप्रसाद पौड्याल स्मृति छात्रवृत्ति’

नबिल बैंकले शुरु गर्यो ‘श्री शम्भुप्रसाद पौड्याल स्मृति छात्रवृत्ति’

नबिल बैंकका पूर्व अध्यक्ष स्व. शम्भुप्रसाद पौड्यालको सम्झनामा यो वर्षबाट बैंकले कर्मचारी परिवारको निम्ति श्री शम्भु प्रसाद पौड्याल स्मृति छात्रवृत्ति प्रदान गर्न थालेको छ । स्व. पौड्याल बैंकमा लामो समयदेखि सञ्चालक समितिमा सदस्य र अध्यक्ष थिए ।

बैंकका अनुसार स्व. पौड्यालले कर्मचारीहरुको हित र विकासका निम्ति सँधै जोड दिँदै आएका थिए । यो छात्रवृत्ति कार्यक्रममा प्रत्येक वर्ष नबिल बैंकका सम्पूर्ण कर्मचारीहरुले राष्ट्रिय परिक्षाबोर्डको १० जोड २ कक्षामा उत्कृष्ट नतिजा ल्याउने मेहेनती तथा जेहेन्दार सन्तानहरुका नाम मनोनयन गर्न सक्छन् ।

उच्च शिक्षाको लागि प्रोत्साहन गर्ने उद्देश्यसहित बैंकले यो कार्यक्रम ल्याएको हो । मनोनित कर्मचारी परिवारका सन्तानहरुबाट उत्कृष्ट नतिजा ल्याउने दुई जना छात्र र दुई जना छात्रालाई प्रत्येक वर्ष यो पुरस्कार प्रदान गरिने बैंकले जनाएको छ । पुरस्कार वापत प्रत्येकले ५० हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

बैंकले आर्थिक वर्ष २०७७/७८ का लागि कर्मचारी उदय राज खनालकी छोरी उनीका खनाल, कर्मचारी सन्देशराज भट्टराईका छोरा दिपसन भट्टराई, कर्मचारी मुरारीप्रसाद अर्यालका छोरा मुकुल अर्याललाई मनोनयन र पुरस्कृत गरेको छ ।

बैंकको प्रधान कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालले तीनै जना विजेतालाई छात्रवृत्ति रकमसहित प्रशंसापत्र हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले दशकौंदेखि नबिल बैंक र नबिलियनको वृत्ति विकासका लागि स्व. पौडेलले महत्वपूर्ण भूमिका निर्वाह गरेको सन्दर्भ उल्लेख गरेका थिए ।

टिप्पणीहरू