राजीनामा दिने तयारीमा मुख्यमन्त्री

राजीनामा दिने तयारीमा मुख्यमन्त्री

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले राजीनामा दिने तयारी गरेका छन् । सर्वोच्च अदालतको परमादेशअनुसार २४ घण्टाभित्र विश्वासको मत पाउने सम्भावना नदेखिएपछि यादवले पदबाट राजीनामा दिन लागेका हुन् । अहिले उनी निकटस्थ नेताहरुसँग छलफलमा रहेको बुझिएको छ । 

गत कात्तिक तेस्रो साता तत्कालीन प्रदेश प्रमुख सुमित्रा भण्डारीले एमाले संसदीय दलका नेता यादवलाई मुख्यमन्त्री नियुक्त गरेयता मधेश सरकार ढलपलको अवस्थामा छ । सरकार गठनविरुद्ध नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी, लोसपासहित विभिन्न सात दलका ७६ जना सांसदले सर्वोच्चमा रिट दर्ता गराएकोमा हिजो न्यायाधीश द्वय हरिप्रसाद फुयाँल र नित्यानन्द पाण्डेको इजलासले २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको थियो । मुख्यमन्त्री यादवले विश्वासको मत प्राप्त नगरेमा संविधानको धारा १६८ को उपधारा (२) अनुसार नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउन पनि आदेशमा उल्लेख छ । 

उक्तपृष्ठभूमिमा मुख्यमन्त्री यादवले राजीनामा दिने तयारी गरेका हुन् । अन्य राजनीतिक दलहरुले पनि नयाँ सरकार गठनको लागि सक्रियता बढाएको बताइन्छ ।
 

टिप्पणीहरू