एनपीएलका चौकाबापत हजाराैं शैक्षिक सामग्री बाँड्दै एनसेल

एनपीएलका चौकाबापत हजाराैं शैक्षिक सामग्री बाँड्दै एनसेल

गत बिहीबारसम्म खेलिएका नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ का खेलहरुमा हानिएका चौकाबापत एनसेल फाउन्डेसनले दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने भएको छ । 

क्रिकेटलाई कक्षाकोठा र हरेक चौकालाई उज्जवल भविष्यसँग जोड्ने सामाजिक पहलअनुरुप यी सामाग्री सरकारी तथा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई प्रदान गरिने एनसेलले जनाएको छ । 

गत वर्ष एनपीएलसँगको सहकार्यमा शुरु गरिएको यो पहलअन्तर्गत नेपालभरका सरकारी तथा सामुदायिक विद्यालयका विद्यार्थीलाई सहयोग गरिँदै आएको छ । एनपीएल सिजन २ का हरेक चौकामा चार वटा शैक्षिक सामग्री वितरण गर्ने एनसेलको प्रतिबद्धता छ । 

मंसिर १८ गतेसम्म खेलिएका खेलहरुमा ९० खेलाडीले कुल पाँच सय १० चौका प्रहार गरेका छन्, जसले दुई हजार ४० वटा शैक्षिक सामग्री वितरणको सुनिश्चिता गरेको छ । चौका हान्ने शीर्ष तीन खेलाडीको सूचीमा पोखरा अवेन्जर्सका एडम रोसिङटन २७ चौकासहित अगाडि छन् । 

उनको चौकाले एक सय आठ शैक्षिक सामग्री विथरण सुनिश्चित गरेको छ । त्यसपछि लुम्बिनी लायन्सका डार्सी सर्टले १९ चौकासहित ७६ शैक्षिक सामग्री योगदान गरेका छन् । 

काठमाडौं गोर्खाजका बेज चार्ल्सवर्थ र सुदूरपश्चिम रोयल्सका विनोद भण्डारी तेस्रो स्थानमा छन्, उनीहरुले १७–१७ चौका प्रहार गर्दै ६८–६८ शैक्षिक सामग्री वितरणको सुनिश्चिता गरेका छन् । 

यो पहलले शैक्षिक सामग्रीको वितरणमार्फत विद्यार्थीको शिक्षामा सकारात्मक परिवर्तन ल्याउन योगदान दिने एनसेलको विश्वास छ । विद्यार्थीलाई दिइने प्रत्येक किटमा झोलासहित कपी, पेन्सिल, शार्पनर, इरेजरलगायत आवश्यक सामग्री हुनेछ । 

एनसेलकी कर्पोरेट कम्युनिकेसन्स तथा सस्टेनेबिलिटी डाइरेक्टर विषाखा लक्ष्मी खड्काले एनपीएलका बाँकी खेल अझ रोमाञ्चक हुने विश्वास व्यक्त गरिन् । उनले भनिन्, ‘बाँकीका खेलहरु अझ रोमाञ्चक हुनेछन् भन्नेमा हामी विश्वस्त छौं, जसले खेल मात्र होइन, शिक्षामा हुने योगदानलाई पनि थप विस्तार गर्नेछ ।’

गत वर्ष एनपीएलको पहिलो सिजनमा प्रहार भएका ६ सय ५३ चौकाबाट फाउन्डेसनले दुई हजार ६ सय १२ भन्दा बढी शैक्षिक सामग्री प्रदान गरेको थियो ।

टिप्पणीहरू