घ्युबाट मासिक १५ हजार कमाउँछन् टोपलाल
-शंकर श्रेष्ठ
बिहान ७ बजे गाउँमा घाम लागिसक्छ । त्यतिबेला गोबर भकारो सक्किसक्छ । 'भैंसीलाई कुँडोपानी गरेर दूध दुह्यो,एक भारी घाँस ल्यायो,दिउँसो खेतबारीमा काम गर्यो,बेलुका हुन्छ,पाकेको खायो, सुत्यो', यसैगरी बित्छ टोपलाल श्रेष्ठको दैनिकी । यही सरल दिनचर्याले उनलाई महिनामा १५ हजार नगद कमाइ दिलाइरहेको छ।
टोपलालको घर धादिङको बेनिघाट रोराङ गाउँपालिका–८ चैलिङ हो । गोठमा एउटा भैंसी छ । छाकमा चार माना दूध दिन्छ । त्यही दूधबाट बनेको दहीको मोही पारेर निस्कने घ्युबाट टोपलाल मासिक १५ हजार सजिलै कमाउँछन् । भन्छन्-'मानाको एक हजारले घ्यु बिक्री हुन्छ,महिनामा १५ हजार कमाउन मलाई कतै जानु पर्दैन ।'
घ्यु प्रतिमाना एक हजार रुपैयाँमा बिक्री हुन्छ । 'दुई दिनमा एक पटक मोही पार्छु, महिनामा झण्डै १५ माना घ्यु बन्छ, यहीबाट १५ हजार सजिलै आम्दानी हुन्छ,' टोपलाल भन्छन् ।
दुर्गम भेग भएकाले दूध बजारमा पुर्याउन नसकिने भएकै कारण गाउँमै मोही पारेर घ्यु बनाउने चलन बसेको हो । अहिले यो चलन नै गाउँको प्रमुख आम्दानीको माध्यम बनेको छ । घरमै गएर घ्यु किन्न आउने ग्राहकको कमी छैन । काठमाडौंबाट समेत आफन्तले पठाइदिन आग्रह गर्ने गरेको टोपलालको अनुभव छ ।
टोपलाल मात्र होइन,चैलिङमा धनकुमारी श्रेष्ठ,शिव श्रेष्ठ र भीमबहादुर श्रेष्ठले पनि भैंसी पालनबाट उस्तै आम्दानी गर्दैछन् । धनकुमारी भन्छिन्, 'अहिले त घ्युले नै महिनाको सबै खर्च धान्छ । नून,तेल,चामल सबै यहीबाट पुग्छ ।'
धनकुमारीको घरमा दुई वटा दुहुना लोकल भैंसी छ । गाउँले लोकल भैंसी भएकोले दुई वटा भैंसीबाट छाकमा एक पाथी दूध हुन्छ । घरपरिवार र बालबच्चालाई दूध दही खुवाएर बाँकीबाट नगद आम्दानी गरिरहेको धनकुमारीको भनाइ छ ।
गाउँमा उत्पादन हुने घ्यु नै किसानको भरपर्दो नगद आम्दानीको स्रोत बनेको छ । गाउँकै उत्पादनले परिवारको दैनिक खर्च धानिने भएपछि किसानहरू भैंसी पालनप्रति झनै आकर्षित भएका छन् ।
बाउ–बाजेदेखि भैंसी पाल्ने,भकारो (मल) बनाउने र खेतबारीमा कोदो–मकै उत्पादन गर्ने परम्परा रहेको भए पनि अहिले घ्यु नै आफ्नो आम्दानीको मुख्य आधार बनेको भैंसीपालक किसानहरुको भनाई छ ।
गाउँमा सञ्चालित सामुदायिक होमस्टेले पनि किसानको घ्यु बिक्रीलाई थप सहज बनाइदिएको छ । होमस्टेमा बस्न आउने पर्यटकले यहाँको घ्यु किनेर लैजाने गरेका छन् ।
होमस्टे सन्चालन समितिका अध्यक्ष समेत रहनुभएका कृष्ण श्रेष्ठका अनुसार किसानले उत्पादन गर्ने घ्यु होमस्टेमा आउने पाहुनाले समेत उपभोग गर्ने हुँदा तालिम,प्रोत्साहन र बजार व्यवस्थापनमा गाउँपालिकाले सहयोग बढाइरहेको छ । 'यसले भैंसी पालेर जीविकोपार्जन गर्ने किसानलाई थप बल पुगेको छ,' अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
बेनिघाट रोराङ गाउँपालिकाले पनि किसानको यो उद्यमलाई सहयोग पुर्याउँदै आएको छ । गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर थपलिया (विवेक)का अनुसार, पछिल्ला दुई वर्षदेखि सामुदायिक होमस्टे सञ्चालनमा आएको र यसले किसानको उत्पादनलाई बजार जुराइदिन महत्वपूर्ण भूमिका खेलेको छ । 'पाहुनाले घ्यु चाखेरै लैजाने गर्छन्, यसले किसानलाई थप हौसला दिएको छ,' अध्यक्ष थपलियाले बताए ।
चैलिङ नेवार समुदायको एउटा वस्ती हो । ३२ घर परिवारको बसोबास छ । होमस्टे समेत शुरु गरिएको चैलिङ गाउँ पृथ्वी राजमार्गको चरौँदीबाट करिब १२ किलोमीटर दूरीमा पुग्न सकिन्छ ।
टिप्पणीहरू