खडेरीमा एउटा राम्रो खबर

खडेरीमा एउटा राम्रो खबर

भदौ २३ र २४ को विध्वंशले अन्य क्षेत्रजस्तै अर्थतन्त्रको मेरुदण्ड मानिने पर्यटन क्षेत्र पनि ठूलो मारमा पर्‍यो । जेनजी आन्दोलनको नाममा हिल्टन, हायात, वर्णवासलगायत दर्जनौँ ठूला होटलमा तोडफोड, आगजनी र लुटपाट हुँदा पर्यटन क्षेत्रले अर्बौंको नोक्सानी व्यहोर्नुपर्‍यो ।यसले पर्यटन पूर्वाधारमा मात्र क्षति पुगेन, अन्तर्राष्ट्रियस्तरमा नेपालको छवि ध्वस्त भयो । 

नेपालको सुरक्षा स्थितिप्रति चासो राख्दै कतिपय मुलुकले आफ्ना नागरिकलाई नेपाल भ्रमण नगर्न नोटिशसमेत जारी गरेका थिए । पर्यटनको मुख्य सिजन सेप्टेम्बरमा भएको आन्दोलनले पर्यटक आगमन घट्ने र अर्थतन्त्रमा प्रत्यक्ष असर पुग्ने चिन्ता सरकार र सरोकारवालाहरूले गरेका थिए । तर, कालो बादलमा चाँदीको घेरा भनेझैँ चरम निराशाका बीच पर्यटन क्षेत्रमा सकारात्मक संकेत देखा परेको छ । 

गत अक्टोबर महिना विदेशी पर्यटक आगमनमा रेकर्ड ब्रेक भएको सुखद खबर छ । सरकारी तथ्यांकअनुसार अक्टोबरमा एक लाख २८ हजार ४३१ जना पर्यटक नेपाल भित्रिएका छन् । एक महिनामा नेपाल आउने बाह्य पर्यटकको यो संख्या अहिलेसम्मकै सबैभन्दा बढी हो ।  पर्यटन क्षेत्रले मात्र होइन, सिंगो अर्थतन्त्र पनि क्रमशः लय समात्दै गरेको आर्थिक सूचकहरूले दर्साउँछ । आर्थिक वर्ष २०८२–८३ को तीन महिनामा रेमिटेन्स भित्रने दर ३५ प्रतिशतले बढ्दा राजश्व संकलनमा पनि उत्साहजनक अवस्था देखिएको छ ।

तथ्यांकअनुसार राजश्व संकलनमा २० प्रतिशतको वृद्धि हुँदा भ्याट र अन्तःशुल्क क्रमशः ९ र १५ प्रतिशतले बढेको छ । यता, भदौ २४ को विध्वंशमा खरानी भएका सरकारी संरचना पुनर्निर्माणका लागि सरकारले स्थापना गरेको कोषमा रकम संकलन भैरहेको छ । यसबीच सरकारले अत्यावश्यक संरचना पुनर्निर्माणमा आन्तरिक स्रोत परिचालन गर्दैछ । सर्वोच्च अदालतलाई गाडी खरिद गर्न अर्थ मन्त्रालयले २० करोड रुपैयाँ छुट्याइसकेको छ । अदालतले २० वटा नयाँ गाडीका लागि रकम माग गरेकोमा मन्त्रालयले सोहीअनुसार रकम व्यवस्थापन गरेको हो । विध्वंशकारीको आक्रमणमा परेको सर्वोच्च अदालतमा आगो लगाउँदा न्यायाधीशहरूले चढ्ने दर्जनौँ गाडी ध्वस्त भएको थियो ।

(जनआस्था साप्ताहिकको मंसिर ३ गते बुधबारको अंकमा प्रकाशित) 

टिप्पणीहरू