पत्रकारलाई धम्की, महासंघको आपत्ति
सञ्चारकर्मीलाई भौतिक आक्रमणको धम्की दिएको भन्दै नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । दोषीलाई कानूनी दायरामा ल्याउन माग गर्दै महासंघले घटनाको सुक्ष्म छानबिनको माग गरेको छ ।
पत्रिकाको फेसबुक पेजमा पोष्ट भएको भिडिओलाई लिएर मिथिला रत्न दैनिकका सम्पादक शिवदयाल यादवलाई सिरहास्थित महालक्ष्मी ज्वलेर्सका सञ्चालक राजु साहले गालीगलौजसहित भौतिक आक्रमणको धम्की दिएपछि महासंघले उक्त धारणा सार्वजनिक गरेको हो ।
त्यसप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै महासंघले प्रकाशित वा प्रशारित सामग्रीमा चित्त नबुझे त्यसको समाधान प्रचलित विधिबमोजिम नखोजी पत्रकारलाई धम्क्याउनु अत्यन्त निन्दनीय र प्रेस स्वतन्त्रतामाथिको प्रहार भएको जारी विज्ञप्तिमा उल्लेख छ ।
भनिएको छ, ‘यो घटनाको छानबिन गरी दोषीलाई कानूनी दायरामा ल्याउन तथा प्रेसलाई सुरक्षाको प्रत्याभूति दिलाउन महासंघ सम्बन्धित निकायसँग माग गर्दछ ।’
टिप्पणीहरू