वीरगन्जमा पनि एमाले विवाद
पर्सा क्षेत्र नम्बर ४, मा एमालेको महाधिवेशन प्रतिनिधि छनौट प्रक्रिया विवादमा तानिएको छ । सर्वसहमतिको नाममा उम्मेदवारलाई जानकारी नै नदिई प्रतिनिधि चयन गरेको विवाद एमाले केन्द्रीय कार्यालयसम्म पुगेको छ ।
प्रतिनिधि चयनप्रति आपत्ति जनाउँदै आधा दर्जन उम्मेदवारले केन्द्रीय संगठन विभागलाई पत्र लेखेका छन् । महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी दर्ता भई मंसिर १७ गते चुनावको मिति तय भएको अवस्थामा उम्मेदवारलाई थाहै नदिई सर्वसहमतिको नाममा प्रतिनिधि छनौट गरिएको उनीहरुको आरोप छ ।
पत्रमा भनिएको छ, ‘हामी बहुसमर्थक उम्मेदवारहरुलाई जानकारी नै नदिई सर्वसहमतिको नाममा मिति २०८२–८–१५ गते पर्सा–४, बाट ११ औं राष्ट्रिय महाधिवेशनमा सर्वसम्मत प्रतिनिधि चयन भनी सामाजिक सञ्जाल (फेसबुक) हेर्दा हामी आश्चर्यचकित हुँदै उक्त निर्णय अस्वीकार गर्ने निष्कर्षका साथ यो निवेदन लेख्न बाध्य भएका छौं ।’
हरेक पार्टी सदस्यको चुत्ते चुनिने अधिकार विधानले सबैलाई प्रदान गरेकोले सर्वसम्मत अस्वीकार गरी निर्वाचनमार्फत प्रतिनिधि छनौट प्रक्रिया अघि बढाउन उनीहरुले माग गरेका छन् । पर्सा क्षेत्र नम्बर ४, खुलातर्फका उम्मेदवार जयप्रकाश थारु, महिलातर्फ उषादेवी चौधरी र उर्मिलादेवी थारुनी, पुरुष युवातर्फ कुनाल महतो थारु, दलित खुल्लातर्फ नेवानी महरा पमार र दलित युवातर्फ रमेश माझी मुसहरले केन्द्रीय संगठन विभागलाई पत्र पठाएका हुन् ।
टिप्पणीहरू