युवालाई नेतृत्व सुम्पन प्रधानमन्त्री आतुर
प्रधानमन्त्री सुशीला कार्कीले निर्धारित मितिमा चुनाव गराई युवाको हातमा सत्ता सुम्पिएर मुलुकलाई तीब्र विकासको मार्गमा अग्रसर गराउनुपर्ने दायित्व सरकारको काँधमा रहेको बताएकी छन् ।
ज्यापु संस्कृति विकास कोषको आयोजनामा आज काठमाडौंमा सम्पन्न २२ औँ राष्ट्रिय ज्यापु दिवस समारोहलाई सम्बोधन गर्दै उनले यस्तो भनाइ राखेकी हुन् । घोषित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार पूर्णरुपमा तयारीमा जुटेको पनि प्रधानमन्त्री कार्कीको भनाइ छ ।
जेन–जी आन्दोलनले उठाएका माग सम्बोधन गर्न सरकार प्रतिवद्ध रहेको जनाउँदै उनले भदौ २३ र २४ को घटनाबाट सबैले पाठ सिक्नुपर्ने बताइन् । जेन–जी आन्दोलनले भ्रष्टाचार अन्त्य, सुशासन, रोजगारी र गास, बास, कपासको ग्यारेन्टी माग गरेको उल्लेख गर्दै प्रधानमन्त्रीले त्यो माग पूरा सबै कटिवद्ध हुनुपर्नेमा जोड दिईन् ।
‘भदौ २३ र २४ को जेन–जी आन्दोलनसँगै घटेका घट्नाहरुबाट हामीले एउटा पाठ सिक्नपरेको छ । मुलुकको युवा शक्तिले भ्रष्टाचार अन्त्य, सुशासनको स्थापना, आम जनतालाई रोजगारी, गास, बास, कपासको सुनिश्चितताको माग गरेको छ’, उनले भनिन्, ‘ती मागहरुलाई पूरा गर्न सबैले कटिवद्ध भएर आ–आफ्नो ठाउँबाट लाग्न आवश्यक छ । यसका अतिरिक्त सरकारले आउँदो फागुन २१ गते आम निर्वाचन गराई युवाशक्तिको हातमा सत्ता सुम्पिएर मुलुकलाई तिब्र विकासको मार्गमा अग्रसर गराउनुपर्ने हाम्रो दायित्व हो ।’
निर्वाचन सम्पन्न गर्ने लक्ष्यका साथ सरकार सम्पूर्णरुपले तयारीमा जुटेको बताउँदै प्रधानमन्त्री कार्कीले यस अभियानलाई सफल पार्न सबैको साथ र सहयोगको अपेक्षा समेत गरेकी छन् ।
टिप्पणीहरू