ज्यान मार्ने धम्की आयो,क-कसलाई सुरक्षा थपियो ?

ज्यान मार्ने धम्की आयो,क-कसलाई सुरक्षा थपियो ?

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित १० भिआइपीलाई ज्यान मार्ने धम्की आएपछि प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको छ । उनीहरुको निवास वरपर सुरक्षा व्यवस्था कडा पारिएको छ । 

‘एक्स्ट्रिमिस्ट ग्रुप अफ नेपाल (ईजिएन)’ ले राईसहित पूर्वप्रमुख आयुक्त लोकमानसिंह कार्की,नेपाल आयल निगमका पूर्वमहाप्रबन्धक गोपालबहादुर खड्का,पूर्वगृहमन्त्रीद्धय रमेश लेखक, बालकृष्ण खाँण,पूर्व परराष्ट्रमन्त्री आरजु राणा देउवा,पूर्वप्रहरी महानिरीक्षकहरु ओमविक्रम राणा,हेमबहादुर गुरुङ्ग, रमेश चन्द ठकुरी एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई ईमेल पठाउँदै ज्यान मार्ने धम्की दिएको थियो । 

काठमाडौं उपत्यका प्रहरी कार्यालयले हिजो काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र तीनवटै जिल्ला प्रहरी परिसरलाई पत्राचार गर्दै भरपर्दो सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएको छ । त्यस्तै,अन्य कथित उग्रवादी समूहहरुको गतिविधिमाथि निगरानी राख्न र खबर संकलन गर्न भनिएको छ । 

‘१० जना व्यक्तिको नाम उल्लेख गरी ज्यान मार्ने धम्की दिएको भनी खबर प्रकाशित भएको हुँदा निजहरुको निवासस्थान,भ्रमणमार्ग तथा कार्यक्रमस्थलहरुमा सम्बन्धित प्रहरी कार्यालयहरुलाई सु–सूचित गराई भरपर्दो सुरक्षा व्यवस्था मिलाउन हुनका साथै यस्ता अन्य कथित उग्रवादी समूहहरुको गतिविधिबारे खबर संकलन गरी त्यहाँ तथा मातहत प्रहरी कार्यालयअन्तर्गत बसोबास गर्ने अन्य विशिष्ट व्यक्तिहरुको समेत प्रभावकारी सुरक्षा व्यवस्था मिलाउनहुन...’,पत्रमा उल्लेख छ । 

जिल्ला प्रहरी परिसर, काठमाडौंले लगत्तै निर्देशन कार्यान्वयनका लागि मातहतको प्रहरी वृत्त, प्रभाग र ईलाका प्रहरी कार्यालय, फर्पिङलाई पत्र पठाएको छ । भिआईपीहरु बस्ने स्थान वरपर तीव्र रुपमा गस्ती, पेट्रोलिङ, खबर संकलनसहित सादा पोशाकमा प्रहरी परिचालन गरी गोप्य रुपमा सूचना सम्प्रेषण गर्न परिसरले निर्देश गरेको छ । 

भनिएको छ,‘१० जना व्यक्तिहरुको वडा एरियाअन्तर्गतमा रहेका प्रहरी इकाईहरुले निज व्यक्तिहरुसँग आवश्यक समन्वय गरी सम्पूर्ण सुरक्षा प्रबन्ध मिलाउनहुन र त्यस किसिमका गतिविधिहरु हुन गर्न नदिन तीव्र रुपमा गस्ती, पेट्रोलिङ, खबर संकलनलगायत सादा पोशाकमा समेत प्रहरी परिचालन गरी गोप्य रुपमा सूचना सम्प्रेषण गर्ने र त्यहाँ कार्यालय वडा एरियाअन्तर्गत बसोबास गर्ने अन्य विशिष्ट व्यक्तिहरुको समेत भरपर्दो सुरक्षा व्यवस्था मिलाउन हुन निर्देशानुसार सादर अनुरोध गरिएको छ ।’

टिप्पणीहरू