पूर्व उपमेयरलाई परीक्षामा छुट दिइएको आरोप
त्रिभुवन विश्वविद्यालयअन्तर्गत शिक्षाशास्त्र विभागमाथि परीक्षामा सेटिङ गर्ने गरेको गम्भीर आरोप लागेको छ ।
शिक्षक–कर्मचारीको मिलिभगतमा विभागमै परीक्षा केन्द्र तोकेर केही विद्यार्थीलाई विशेष सुविधा दिइएको भन्दै विद्यार्थीहरूले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनको ध्यानाकर्षण गराएका छन् । त्यहाँस्थित स्नातकोत्तर तहमा अध्ययनरत एक विद्यार्थीका अनुसार हालै सम्पन्न परीक्षामा नेकपा एमालेनिकट एक पूर्वजनप्रतिनिधि (उपमेयर) लाई विशेष छुट दिइएको थियो ।
गत वर्ष पनि स्नातकोत्तर तहको पूरक परीक्षामा राजनीति विज्ञान (अंग्रेजी) विषयक दुई विद्यार्थीलाई केही कर्मचारीको मिलेमतोमा छुट दिइएको विद्यार्थीहरूले बताएका छन् । त्रिविकै अन्य विभागले वर्षेपिच्छे परीक्षा केन्द्र फेर्ने तर शिक्षाशास्त्र विभागले भने वर्षौंदेखि एकै ठाउँमा परीक्षा सञ्चालन गर्नु र एउटै शिक्षक–कर्मचारीलाई निगरानीमा राख्नुले सेटिङको आशंका बढाएको विद्यार्थीहरू बताउँछन् ।
उनीहरुका अनुसार काठमाण्डौं उपत्यकामा पर्याप्त कलेज तथा विकल्प हुँदाहुँदै विभागले आफ्नै भवनमा मात्र सधैं परीक्षा सञ्चालनको निर्णय दोहोर्याउँदै आएको छ । अर्कोतिर, जहिल्यै एउटै कोठामा परीक्षा लिने गरिएको र त्यसले विद्यार्थीलाई असहज भएकोले परीक्षा केन्द्र अन्यत्र तोक्न तत्काल निर्देशन दिन उनीहरुले शिक्षामन्त्री पुन र डिन कार्यालयसँग माग गरेका छन् ।
साथै, सेटिङमा विभागमा परीक्षा सञ्चालन गर्ने र निश्चित विद्यार्थीलाई परीक्षामा विशेष छुट दिने शिक्षक–कर्मचारीलाई कारबाहीको माग पनि गरेका छन् ।
टिप्पणीहरू