भक्तपुरमा योमरी उत्सव, उत्कृष्टलाई १० हजार पुरस्कार

भक्तपुरमा योमरी उत्सव, उत्कृष्टलाई १० हजार पुरस्कार फाइल फाेटाे

भक्तपुरमा योमरी उत्सवको तयारी गरिएको छ । योमरी पूर्णिमाको अवसरमा भक्तपुर नगरपालिकाको आयोजनामा हुन लागेको उत्सव आगामी शनिबार वडा नम्बर ९, दत्तात्रयमा गरिँदै छ । 

सो क्रममा योमरी प्रदर्शनी तथा प्रतियोगिता हुने नगरपालिकाले जनाएको छ । प्रतियोगितामा सहभागी हुन इच्छुक व्यक्ति, संस्था, समूहलाई नगरपालिकाले नाम दर्ता गराउन आह्वान गरेको छ । उत्कृष्ट योमरी बनाउनेलाई पुरस्कारको व्यवस्थासमेत गरिएको छ । 

जसअनुसार पहिलो हुने टोलीलाई १० हजार, दोस्रोलाई साढे सात हजार र तेस्रो हुनेलाई पाँच हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । साथै, दुई टोलीलाई तीन–तीन हजारको सान्त्वना पुरस्कार राखिएको छ । 

प्रतियोगितामा न्यूनतम आठ इञ्च उचाइका बढीमा तीन वटासम्म योमरी बनाउनुपर्ने छ । योमरी बनाउन आवश्यक सामग्रीको व्यवस्था प्रतियोगी आफैंले गर्नुपर्ने र मौलिक शैलीको हुनुपर्ने नगरपालिकाको शर्त छ ।

टिप्पणीहरू