गाई काट्नेहरुमाथि मुद्दा

गाई काट्नेहरुमाथि मुद्दा

देवताले अन्न तथा फलाहार गरेको र राक्षसले अरुलाई मारेर रगतमासु हाडछाला लुछेका कथा धार्मिक ग्रन्थहरूमा सुन्दै/देख्दै आएको हो । तथापि, स्वाद र सन्तुष्टिका लागि कुखुरा, हाँस, बाख्रा, राँगाभैंसीलगायत अन्य प्राणीलाई मारेर खाने स्वभावमै मानिस रमाइरहेका हुन्छन् । हिन्दू धर्ममा गाईलाई भने माताकै रुपमा पुज्ने चलन छ । तर, मानिसहरू हिंस्रक हुँदै जाँदा गाई, गोरुसमेत मारेर मासु खान पछि परेनन् नेपालमा पनि ।  

दुई महिनाअघि मात्रै तिहारमा लक्ष्मीमाताको प्रतीककी रुपमा पुजिएकी 'गौमाता' लाई चितवनको खैरहनीमा हिजो काट्दै गर्दा ६ जनालाई नियन्त्रणमा लिइएको थियो । इलाका प्रहरी कार्यालय खैरहनीको हिरासतमा रहेका उनीहरूमाथि आज अदालतबाट म्याद लिएर थप अनुसन्धान भइरहेको जनाइएको छ । 

संविधानतः देश धर्म निरपेक्ष घोषणा भएपनि नेपालका ८० प्रतिशत बढी मानिस सनातन हिन्दु धर्म मान्छन् । गाई नेपालको राष्ट्रिय जनावर पनि हो । कानुनमा गौहत्या गर्नेलाई तीन वर्षसम्म जेल सजाय हुने प्रावधान रहेको छ । मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २७ को पशुपक्षी सम्बन्धी कसुर अन्तर्गत दफा २८९ मा गाई, गोरु मार्न वा कुट्न नहुने, मारेमा तीन वर्षसम्म कैद र कुटेर अंगभंग पारेमा छ महिनासम्म कैद सजाय हुने व्यवस्था गरिएको छ भने अन्य चोट पुर्‍याएमा ५० हजारसम्म जरिवाना तोकिएको छ ।

खैरहनी–१० को बडगाउँमा हिजो भएको उक्त घटनामा चेपाङ समुदायका मानिसहरु संलग्न रहेको प्रहरीले बताएको छ । उनीहरूले मासुकै लागि गाईको वध गरेका थिए । 

चितवन र आसपासका पहाडी भूभागमा बसोबास गर्ने चेपाङ समुदायका मानिस अत्यधिक गरीबी र अशिक्षाको चपेटामा छन् । जंगलका भीरपाखा र खोंचहरुमा ओत लाग्ने छाप्रो हालेर यस्ता चिसा कठ्यांग्रिदा रातमा भोको पेटको रापसँगै अभावग्रस्त जीवन बाँचिरहेका अधिकांश चेपाङ परिवारका बालबालिकाहरु खाना र खाजा खान पाइन्छ भनेरै स्कूल जाने, छात्राबास पढ्न बस्ने गरेकोसमेत देखिन्छ । 

विपन्न चेपाङ बालबालिका र किशोरीहरुलाई गैससलगायतका विभिन्न संघसंस्थाले शिक्षा अनि रोजगारीको आश्वासन दिएर लैजाने र बजारका धनीहरूले पढाउने भनेर घरेलु काममा पनि राखेका छन् । विभिन्न प्रलोभनमा पारी बालिका किशोरीहरुलाई बजारका होटल, रेष्टुरेन्टहरुमा देह व्यापारमा समेत लगाइएका भेटिन्छन् । 

यस्तै, काठ तथा वन्यजन्तुको चोरीतस्करी र अवैध लागुऔषध खासगरी गाँजा ओसारपसार र कारोबारमा समेत पक्राउ परेकाहरु हेर्दा चेपाङ र जनजातिहरुकै संलग्नता धेरै भेटिने गरेको छ । अशिक्षा र विपन्नताको भुंग्रोमा जलिरहेका यी चेपाङ लगायत दलित, जनजातिका समुदायका मानिसलाई धेरैजसो अन्य टाठाबाठाहरुले आफ्नो फाइदाका लागि विभिन्न लोभलालचमा पारी गलत काममासमेत प्रयोग गरिरहेको बुझ्न कठिन छैन ।

टिप्पणीहरू