हिजो क्याबिनेटको निर्णय, आज सर्वोच्चमा मुद्दा
आगामी वर्षदेखि भदौ २३ गते ‘जेनजी शहिद दिवस’ मनाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता डा. प्रेमराज सिलवालले आज उक्त रिट दर्ता गरेका हुन्।
सिलवालका अनुसार रिट अध्ययनको क्रममा छ । उनले भने, ‘अहिले अध्ययन भइरहेको छ, बेलुका वा भोलिसम्म दर्ता हुन्छ।’ हिजो अपरान्ह बसेको क्याबिनेट बैठकले प्रत्येक वर्ष भदौ २३ गते जेनजी शहिद दिवस मनाउने निर्णय गरेको छ ।
रिटमा आन्दोलनका नाममा राष्ट्रिय सम्पदा र निजी सम्पत्तिमा भएको आगजनी, तोडफोड र लुटपाटका पीडितलाई सरकारले थप पीडित बनाएको छ । यस निर्णयले संविधानको अपमान पनि गरेको छ।
सिलवालले भने, ‘सिंहदरबार, सर्वोच्च अदालत, संसद् भवनलगायतका सम्पदा संविधानसम्वत् संरचना हुन्। तर आन्दोलनका नाममा त्यहाँ आगो लगाइयो, लुटपाट भयो। फौजदारी अपराध भएका छन्, तर सरकार उल्टै जेनजी शहिद दिवस मनाउने निर्णय गर्दैछ। यो अपराधलाई ढाकछोप गर्न गरिएको निर्णय हो। त्यसैले यो निर्णय खारेज हुनुपर्छ।’
टिप्पणीहरू