सुरक्षाकर्मी र पत्रकारको रोहबरमा लुम्बिनीको पैसा गनियो

सुरक्षाकर्मी र पत्रकारको रोहबरमा लुम्बिनीको पैसा गनियो

लुम्बिनीको प्रमुख आम्दानीको स्रोत मानिने दानपेटिका तीन महिनापछि आइतबार खोलिएको छ । लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) को नेतृत्वमा प्रहरी र अन्य सरोकारवालाको उपस्थितिमा दानपेटिका खोलिएको हो ।

दानपेटिकामा संकलित रकमलाई पारदर्शी बनाउन सिसिटिभी क्यामेरा जडान गरी गणना सुरु गरिएको छ । राजश्व शाखा, लुम्बिनी सुरक्षा प्रतिनिधि, नेपाल प्रहरी, दंगा प्रहरी बल, सशस्त्र प्रहरी र लुम्बिनी सांस्कृतिक नगरपालिका प्रतिनिधिहरूको उपस्थितिमा दानपेटिका खोलिएको हो ।

लुम्बिनी भ्रमणमा आएका पर्यटकहरूले पवित्र भावनाले गरेको दानलाई लुम्बिनीको विकासमा लगाउने गरी दानपेटिका सबैपक्षको रोहवरमा खोलिएको लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरणले बताए ।

उनले आफूले कोषाध्यक्ष पद समालेदेखि दानपेटिकामा संकलित दान पारदर्शी बनाउने र यसको सदुपयोग भएको सन्देश दिन सञ्चारकर्मीलाई समेत बोलाएर गणना थालिएको बताए । उनका अनुसार आइतबार एउटा मात्रै दानपेटिका खोलिएको छ ।

चार वटा दानपेटिका खोलेर संकलित दानको गणना गर्न चार दिनसम्म लाग्ने जनाइएको छ । विगतमा दानपेटिका चोरीसमेत हुने गरेको थियो । तर, अहिले लुम्बिनी क्षेत्रको सुरक्षा व्यवस्था समेत चुस्त पारिएकाले चोरी हुने समस्या नरहेको लुम्बिनीका सुरक्षा अधिकृत खगेन्द्र काफ्लेले बताए ।

उनले दानपेटिकाको हरेक दिनको मुचुल्का उठाएर संकलित रकम तुरुन्तै बैंकका दाखिला गर्ने गरिएको बताए । यसअघि २०७८ चैत १८ गते दानपेटिका खोलिएको थियो । त्यतिबेला ३७ लाख दान संकलन भएको थियो ।

टिप्पणीहरू