चितवनमा व्यापारीको चुनाव, मतदातालाई चुननारायणको अपिल

चितवनमा व्यापारीको चुनाव, मतदातालाई चुननारायणको अपिल

उद्योग वाणिज्य संघ–चितवनको चुनावमा १० वर्षअघिको माहोल अहिले चुननारायण श्रेष्ठको पालामा आएर दोहोरिन सफल भएको छ । एक दशकअघि अध्यक्षमा मित्रराज दवाडीलगायत केही पदाधिकारी निर्विरोध निर्वाचित भएका थिए । अहिले वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठले अध्यक्षमा उम्मेदवारी हालेपछि अध्यक्षमा सबैको समर्थन जुटेको हो ।

अध्यक्षझैँ निर्विरोध निर्वाचित हुने अरु पनि उनकै प्यानलका हुन् । वरिष्ठ उपाध्यक्षमा सुमनकुमार श्रेष्ठ, उपाध्यक्षमा चिरञ्जिवी सुवेदी, उद्योगतर्फ सदस्यहरु क्रमशः अशोक अधिकारी, इमान्दु बराल, योगिता पिया, ई. कृष्णप्रसाद रिजाल, लिलाबहादुर क्षेत्री, रुद्र सुवेदी, कर्पोरेट सदस्य रजनी मास्के, डा. जीवनकुमार श्रेष्ठ, महिला सदस्य पूर्णिमा श्रेष्ठ, क्षेत्रीय संघ सदस्य रेशमलाल आचार्य पनि निर्विरोध चुनिएका हुन् ।

यही प्यानलबाट उपाध्यक्षमा कर्पोरेटतर्फ भोजराज कौडाल र वाणिज्यतर्फ शंकर नेपाल भोलि हुने चुनावमा प्रतिस्पर्धा गर्दैछन्। सदस्यमा वाणिज्यतर्फ चुनावमा भिड्न लागेका थिरप्रसाद धिताल, दिपा शाही, धनप्रसाद पोखरेल, नारायण प्रधान, राजन पिया र ज्ञानुप्रसाद न्यौपाने पनि सोही टिमका हुन् । तीमध्ये नयाँ उम्मेदवारको रुपमा महिला (दिपा शाही) लाई स्थान दिइएको छ भने अन्य सबैसँग कार्यसमितिको अनुभव छ ।

‘सबैलाई सर्वसम्मत नै लैजाउँ भन्ने प्रयास थियो’, चुननारायणले भने, ‘तर सकिएन ।’ संघका अग्रज, पूर्वअध्यक्षहरु र वर्तमान नेतृत्वबाट प्राप्त राय, सुझाव र मार्गनिर्देशन, आमउद्योग व्यवसायीको चाहनाबमोजिम यो टिम खडा भएको हुँदा आफूहरुको पूरै सेटले नै चुनाव जित्ने लगभग निश्चित जस्तै रहेको उनी बताउँछन् । आफ्नो टिमका सबै पदाधिकारी–सदस्यहरुलाई अमूल्य मत दिएर निर्वाचित गराइदिन उनले सम्पूर्ण मतदाताहरुमा आग्रहसमेत गरेका छन् ।

उद्योग वाणिज्य संघ–चितवनको विधानबमोजिम प्रत्येक दुई वर्षमा हुने नेतृत्व परिवर्तनका लागि आयोजना गरिने अधिवेशनको प्रक्रियाअन्तर्गत भोलि संघकै परिसरमा निर्वाचन हुन लागेको हो ।

– अजय गोर्खाली

टिप्पणीहरू