कर्णालीमा अध्यादेशबाट ल्याएको बजेट पारित

कर्णालीमा अध्यादेशबाट ल्याएको बजेट पारित

कर्णाली प्रदेश सरकारले अध्यादेशबाट ल्याएको बजेट पारित भएको छ । आज विनियोजन अध्यादेश,२०७८ र आर्थिक अध्यादेश,२०७८ प्रतिस्थापन गर्न बनेको विनियोजन विधेयक, २०७८ र आर्थिक विधेयक, २०७८ प्रदेश सभाबाट बहुमतले पारित भएको हो ।

तत्कालीन अर्थमन्त्री गोपाल शर्माले चालु आर्थिक वर्षका लागि ३६ अर्ब ५४ करोड ६६ लाख ३६ हजार रुपैयाँको बजेट सभामा प्रस्तुत गर्नु भएको थियो । गत असार १ गते प्रदेश सभामा पेस गरिएको बजेट एमालेको अवरोधका कारण पारित हुन नसकेपछि अध्यादेशबाट बजेट ल्याइएको थियो ।

सदन चलेको ६० दिनभित्र अध्यादेश प्रतिस्थापन नगरे स्वतः निष्क्रिय हुने संवैधानिक व्यवस्था छ । प्रदेश सभाको नवौँ अधिवेशन सुचारु भएको फागुन २८ गते ६० दिन पुग्नुअगावै दलहरूले सर्वसम्मतले प्रतिस्थापन विधेयक पारित गरेका हुन् ।

टिप्पणीहरू