लमजुङमा सवारी करबाट २४ लाख बढी उठ्यो

लमजुङमा सवारी करबाट २४ लाख बढी उठ्यो

चालु आर्थिक वर्षको पछिल्लो छ महिनामा लमजुङमा सवारी कारवाहीबाट २४ लाखभन्दा बढी रकम राजश्व संकलन भएको छ । जिल्लाका विभिन्न स्थानमा ट्राफिक नियम विपरित चलेका सवारी कारवाहीबाट २४ लाख ४८ हजार रुपैयाँ राजश्व संकलन भएको हो ।

गत छ महिनाको अवधिमा जिल्लामा तीन हजार आठ सय सवारीसाधन कारवाहीमा परेको ट्राफिक प्रहरी प्रमुख एवम् प्रहरी नायव निरीक्षक विष्णुबहादुर नेपालीले बताए । गत साउनदेखि पुस मसान्तसम्ममा ट्राफिक नियम उल्लंघन गरी कारवाहीमा परेका सवारीसाधनमा सबैभन्दा धेरै मोटरसाइकल हुन् ।

सो अवधिमा दुई हजार ७२ थान मोटरसाइकल कारवाहीमा परेका छन् । ट्राफिक नियम उल्लंघन गरी कारवाहीमा परेका मोटरसाइकलबाट मात्रै १३ लाख ७८ हजार पाँच सय रुपैयाँ राजश्व संकलन भएको छ । सोही अवधिमा आठ सय ५४ जीप, कार, भ्यान ट्राफिक कारवाहीमा परेका छन् ।

चारपाङ्ग्रे सवारीसाधनको कारवाहीवाट मात्रै पाँच लाख २७ हजार रुपैयाँ राजश्व संकलन भएको छ । ट्राफिक प्रहरीका अनुसार छ महिनाको अवधिमा जिल्लामा तीन सय ३९ ट्रक, ट्रिपर, दुई सय २९ बस, दुई सय ७१ ट्याक्टर कारवाहीमा परेका छन् ।

त्यसरी कारवाहीमा परेका ट्रक–ट्रिपरबाट एक लाख ९९ हजार, बसबाट एक लाख ४० हजार र ट्याक्टरबाट एक लाख ७३ हजार रुपैयाँ राजश्व संकलन भएको छ । यस्तै अन्य २४ वटा सवारी कारवाहीबाट २९ हजार पाँच सय रुपैयाँ राजश्व संकलन भएको ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

टिप्पणीहरू