भ्रष्टाचारमा मुछिएका विदेशीलाई सजायँमा सामेल हुन उर्दी

भ्रष्टाचारमा मुछिएका विदेशीलाई सजायँमा सामेल हुन उर्दी फाइल फाेटाे

विशेष अदालतले भ्रष्टाचार गरेर राज्यलाई अवैध रूपमा आर्थिक क्षति पुर्याएको ठहरसहित आठ विदेशी नागरिक तथा अन्तर्राष्ट्रिय कम्पनीहरूविरुद्ध फैसला कार्यान्वयनका लागि सूचना जारी गरेको छ । नेपाल सरकार वादी र विभिन्न विदेशी नागरिक तथा कम्पनी प्रतिवादी रहेको उक्त मुद्दामा विशेष अदालतले गत डिसेम्बर ५ अर्थात् मंसिर १९ मा फैसला सुनाएको थियो । अदालतको आदेशानुसार प्रतिवादीहरूले अदालतको प्रक्रिया पालना नगरेपछि राष्ट्रिय फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १३२ अनुसार सार्वजनिक सूचना जारी गरिएको हो ।

जसअनुसार बेलायती नागरिक तथा एएआर इन्टरनेशनल इङ्कका तत्कालीन अध्यक्ष दीपक शर्मा,जर्मन नागरिक क्रिश्चियन नुख्लेन,रोमानिया तथा मोल्डोभा दुई देशका नागरिक ओलेग कालिस्ट्रुलाई जनही बिगो १२ करोड २५ लाख ९० हजार ४५६ पैसा ९० र त्यसको दोब्बर जरिवाना तोकिएको छ।

त्यसैगरी एएआर इन्टरनेशनल इङ्क युएसए,जर्मन एभिएसन क्यापिटल जिएमबीएच जनर्मनी,हाइफ्लाई ट्रान्सपोर्ट एरोज एसए पोर्चुगल, हाइफ्लाई एक्स आयरल्याण्ड लिमिटेड, आयरल्याण्ड र नोर्टन रोज फुलब्राइट एलएलपी जर्मनीलाई पनि समान रकम जरिवाना सुनाइएको छ । यी सबै कम्पनी नेपाल वायुसेवा निगमको वाइडबडी विमान खरिद प्रक्रियामा संलग्न कन्सोर्टियम साझेदार कम्पनी थिए।

प्रतिवादीहरू लामो समयसम्म सम्पर्कविहीन रहेर आदेश अवज्ञा गरेपछि सार्वजनिक रूपमा सूचना प्रकाशित गरिएको अदालतको भनाइ छ । तोकिएको जरिवाना नतिरे कानुनी प्रक्रियाअनुसार थप कारबाही अघि बढाइने प्रकाशित सूचनामा उल्लेख छ।

विशेष अदालतको यो फैसला निगमको वाइडबडी विमान खरिद प्रकरणसँग जोडिएको बहुचर्चित भ्रष्टाचार मुद्दाअन्तर्गत आएको हो । जसमा स्वदेशी तथा विदेशी नागरिकहरुका साथै धेरै वटा कम्पनी प्रतिवादी छन्।

टिप्पणीहरू