दुर्गा प्रसाईंलाई नियन्त्रणमा लिन निर्देशन

दुर्गा प्रसाईंलाई नियन्त्रणमा लिन निर्देशन

विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई नियन्त्रणमा लिएर कारबाही अघि बढाउन निर्वाचन आयोगले प्रहरीको साइबर ब्युरोलाई आग्रह गरेको छ । चुनावको संघारमा प्रसाईंले विभिन्न सामाजिक सञ्जालमार्फत् राजनीतिक दलका नेताहरुविरुद्ध वितृष्णा र घृणाभाव फैलाएको भन्दै आयोगले कारबाहीको निम्ति लिखित निर्देशन दिएको छ । 

पछिल्लो एक महिनायता उनले विभिन्न नेताहरुको चरित्र हत्या गरेको आयोगको ठहर छ । हिजो मात्र प्रसाईंले निजी निवासमा पत्रकार सम्मेलन गरेर ५२ करोडको खेलले कांग्रेस विभाजन भएको बताएका थिए । गगन थापा समूहले निर्वाचन आयोगका पदाधिकारीलाई ५२ करोड घुस खुवाएर काँग्रेसको आधिकारिक मान्यता लिएको उनको दावी थियो । तर उनले प्रमाण भने पेश गर्न सकेका छैनन् । 

सस्तो लोकप्रियताको लागि अण्टसण्ट बोल्दै हिँड्नेमाथि आयोगले निगरानी बढाएको छ। आज मध्यराति १२ बजेबाट निर्वाचन आचारसंहित लागू हुन लागेकोमा प्रसाईँले चुनावी वातावरण बिथोल्न सक्ने आयोगको निष्कर्ष छ । त्यसअघि नै नियन्त्रण लिन साइबर ब्युरोलाई पत्र पठाइएको बताइन्छ ।

टिप्पणीहरू