'उपभोक्तालाई गुणस्तरीय सेवा दिनु नि हाम्रो अभिष्ट हो'
डा. चण्डिका भट्ट नेपाल आयल निगमका प्रवन्ध निर्देशक हुन् । दोस्रो कार्यकाल सम्हालिरहेका उनले निगमको व्यवस्थापकीय सुधार तथा रणनीतिक महत्वका विभिन्न काम अघि बढाईरहेका छन् । इन्धनको मूल्यमा स्वचालित प्रणाली लागू भएसँगै ठूला परियोजना अघि बढाएका भट्ट पेट्रोलियम पदार्थको आपूर्तिलाई थप सहज बनाउने र पारदर्शितामा जोड दिने कुरालाई ध्यानमा राखेको बताउँछन् । आयल निगम स्थापनाको ५६ औं वर्ष प्रवेश गरेको अवसरमा यी र यस्तै सन्दर्भ जोडेर जनआस्थाका लागि राजकुमार रायले उनीसँग गरेको कुराकानी ?
कुनै समय नेपाल आयल निगमलाई ब्यतिथिको केन्द्रजस्तै मानिन्थ्यो, पछिल्लो समय केही संस्थागत सुधार भएको देखिन्छ, स्थापना दिवसको सन्दर्भमा यसबारे केही बताइदिनुस् न ?
-आयल निगम ५५ औं वर्ष पूरा गरी ५६ औं वर्षमा प्रवेश गरेको छ । शनिबारमात्रै हामीले वार्षिकोत्सव मनाइरहँदा बलियो संस्थाका रुपमा उपस्थित भएका छौं । यसले हामीलाई उत्साह थपेको छ । इन्धनको आपूर्ति र वितरण तथा बिक्रीमा स्वचालित मूल्य प्रणाली क्रमिक रुपमा लागू गरेका छौं ।
अहिले निगम आर्थिक रुपले मजबुत अवस्थामा छ । बबरमहलमा भव्य केन्द्रीय कार्यालय निर्माण गरेका छौं । वार्षिकोत्सवको अवसरमा मन्त्रीज्यूबाट भवनको उद्घाटन भएको छ । मोतिहारी-अमलेखगञ्ज पाइप लाइन निर्माण परियोजना दोस्रो फेज सम्पन्न भैसकेको छ । यसैबाट पेट्रोल आयात शुरु गरिसकेका छौं । अहिले वीरगञ्जदेखि चितवनसम्म पाइप लाइन निर्माण गर्न भारतीय आयल कर्पोरेसनसँग सम्झौता पत्रमा हस्ताक्षर भइसकेको छ । भारतको सिलगुडीदेखि झापासम्मको पाइप लाइन र त्यहाँ भण्डारणगृह बनाउन पनि भारतीय पक्षसँग सम्झौता गरिएको छ । एलपीजी पाइप लाइन ल्याउने प्रक्रिया पनि अघि बढाएका छौँ
आयल निगम चै भारतबाट पेट्रोलियम पदार्थ किनेर ल्याउने अनि यहाँ उपभोक्तालाई बेच्ने व्यापारिक संस्था जस्तो भूमिकामा सीमित रहँदै आएको छ, नेपालमै हरित इन्धन उत्पादन गर्नेतर्फ निगमको ध्यान नपुगेको हो ?
-होइन, हामीले त्यसमा पनि पर्याप्त गृहकार्य गरिरहेका छौँ । जस्तो, हाइड्रोजन इन्धन, हरित हाइड्रोजन इन्धन ट्रान्सपोट सेक्टरमा प्रयोगका लागि पनि अघि बढिसकेका छौं । यो अहिले परीक्षणको क्रममा छ । पेट्रोलमा इथानोल मिश्रणसम्बन्धी आदेश २०८२ अस्ति मात्रै मन्त्रिपरिषद्बाट स्वीकृत भएको छ । अब हामी पेट्रोलमा इथानोल पनि मिश्रित गरेर ट्रान्सपोट सेक्टरमा प्रयोग गर्ने भएका छौं । यसबाट ट्रान्सपोटहरूमा खपत हुने आयातित पेट्रोलियम पदार्थ घटाउन सकिन्छ । जसले गर्दा एकातिर इथानोल उत्पादन गर्ने किसानलाई आयआर्जन हुने अर्कोतिर लगानीकर्ता तथा औद्योगिकरणमा पनि टेवा पुग्नेछ । साथै, आयातित वस्तुलाई क्रमशः घटाउँदै लैजाने र आन्तरिक उत्पादनलाई प्राथमिकता दिने किसिमले अगाडि बढेका छौं ।
तपाईंले जसरी उपलब्धिको चर्चा गर्दै हुनुहुन्छ, यो कसरी सम्भव भयो ?
-आयल निगम नाफामुखी भन्दा पनि सेवामुखी संस्था हो भन्नेकुरा सबैभन्दा पहिले बुझ्नुपर्यो । त्यसैअनुसार निगमका कर्मचारीहरू आ-आफ्नो जिम्मेवारीमा खटेर लाग्नुभएको छ । साथीहरु आ-आफ्नो जिम्मेवारीमा लगनशीलताका साथ लाग्नुभएकै कारण यी उपलब्धि सम्भव भएको हो । आखिर गर्दा हुँदो रहेछ नि भन्ने उत्साह हामीमा थपिएको छ । सबैको सामुहिक प्रयासकै कारण जिम्मेवार संस्थाका रुपमा निगम अहिलेको अवस्थामा पुगेको हो ।
निगमले जतिपनि परियोजना अघि बढाएको छ, ति सबैको रणनीतिक र दीर्घकालिन महत्व छ भन्ने यहाँको भनाइ हो ?
-हो, हामीले सबै दीर्घकालिन प्रकृतिकै प्रोजेक्ट बनाएका छौं । जस्तो केही वर्षअघिसम्म आपूर्ति र वितरण प्रणालीमा असाध्यै कठिनाइ थियो । त्यसलाई क्रमश: सहजतातिर लगिएको छ । थप सहज तुल्याउन पाइप लाइन निर्माण गर्दै गएका छौं । भण्डारण गृहको क्षमता अभिवृद्धि गरेका छौं । नयाँ फ्युल उत्पादनमा लागिपरेका छौं । त्यसकारण निसन्देह भन्न सकिन्छ कि आयल निगम दीर्घकालिन सोच र स्थायित्व दिने खालका परियोजना निर्माणमा केन्द्रित छ ।
यही आयल निगम हो, केही वर्षअघिसम्म विवादै विवादले घेरिएको हुन्थ्यो । पेट्रोल र डिजेलको भाउ बढाएर जनताको ढाड सेकेको आरोप लाग्ने गर्थ्यो । निगमविरुद्ध सडकमा आन्दोलन हुन्थ्यो । अहिले त्यस्तो अवस्था देखिंदैन । यसको कारण के हो ?
-हामीले स्वचालित मूल्य प्रणालीलाई सही तरिकाले अघि बढाउने कुरामा विशेष जोड दियौं । यो विषय निकै महत्त्वपूर्ण हो । निगमलाई जब अन्तर्राष्ट्रिय मूल्यको जानकारी प्राप्त हुन्छ, अनि हाम्रो मार्केटले कुन हदसम्म ‘ड्राइजेस्ट’ वा ‘अब्जर्ब’ गर्न सक्छ, उपभोक्ताबाट विरोध हुँदैन, कुनै किसिमको अवरोध हुँदैन र सरकारले पनि कुनै किसिमको विरोधको सामना गर्नुपर्दैन भन्नेमा हामी धेरै सचेत हुने गरेका छौं ।
यसका लागि हामी अध्ययन गरिरहेका हुन्छौं । सोहीबमोजिम नै अन्तर्राष्ट्रिय मूल्य १०–१५ रुपैयाँ बढ्दा पनि हामीले तीनदेखि पाँच रुपैयाँ मात्र बढाउने पोलिसी लिएका छौं । त्यसैले, अन्तर्राष्ट्रिय मूल्यअनुरुप नै हामी भाउ बढाउँदैनौं । थोरैमात्र बढाएर हामीले उपभोक्तालाई राहत दिइरहेका छौं । यसबाट हुने क्षतिपूर्ति हामी आन्तरिक कोषबाट पूर्ति गर्छौँ । अन्तर्राष्ट्रिय मूल्यअनुसार नै भाउ बढाइएमा उपभोक्तालाई मार वा चाप पर्छ, विरोध हुन्छ र यसले अन्य वस्तुहरुको समेत मूल्यवृद्धि हुन्छ, त्यसकारण निगमले मूल्यलाई स्थिर गर्नेगरी समायोजन गर्छ । त्यसैले पनि विगतमा जस्तो विरोधको सामना गर्नुपरेको छैन ।
मानव बस्तीनजिकै आयल निगमका डिपोहरू छन् । जस्तो, धनगढी, सिनामंगल, भैरहवाको डिपो जनघनत्व भएको ठाउँमा छ । यसले सुरक्षा खतरा निम्त्याउन सक्ने आम चिन्ता र चासो छ । यसतर्फ निगमको ध्यान नपुगेको हो ?
-प्राथमिकताका आधारमा ध्यान दिनुपर्ने विषय नै तपाईंले उठाउनुभएको छ । सरकारले निर्णय गरेर त्यस्ता डिपोलाई अन्यत्र स्थानान्तरण गर्न अनुमति दिइसकेको छ । संसदीय समितिबाट पनि निर्देशन भइसकेको छ । तर, केही व्यावहारिक कठिनाइले स्थानान्तरणमा थोरै ढिलाई भएको हो । सिनामंगलको हवाई डिपो विमानस्थलका कारण ट्रयाकमा परेको छ । त्यसलाई स्थानान्तरण गर्ने कुरालाई प्राथमिकतामा राखिएको छ र प्रक्रिया पनि अगाडि बढाइसकिएको छ ।
भैरहवा डिपोको सम्बन्धमा पनि निकट भविष्यमा स्थानान्तरण प्रक्रिया अघि बढाउँछौं । धनगढी डिपोका विषयमा जग्गा प्राप्ति भएको छैन । उपयुक्त मूल्यअनुरुपको जग्गाको खोजीमा छौं । जग्गा प्राप्त हुनेबित्तिकै प्रक्रिया अघि बढ्नेछ । मानवबस्ती नजिकै डिपो राख्नु सुरक्षाको दृष्टिले जोखिमपूर्ण छ भन्नेमा निगम पूर्ण सचेत छ ।
आयल निगमलाई थप सवल संस्थाका रुपमा स्थापित गर्न तपाईंसँग अरू कुनै नविन सोच छ ?
उपभोक्ताको मन जित्नु नै महत्त्वपूर्ण कुरा हो । यो हाम्रो अनुभवले सिकाएको छ । त्यसैगरी, हामीसँग सरोकार राख्ने व्यवसायी, डिलर, उपभोक्ता, ढुवानी व्यवसायी सबैको सरोकार सम्बोधन गर्नु आवश्यक छ । त्यसैले निगमको हरेक डिपोमा फ्युल मिटर जडान गरिराखेका छौं । त्यसकारण सम्बन्धित डिपोमा गइरहनुपर्दैन, घर तथा अफिसबाटै ट्यांकीमा कति इन्धन भरिरहेको छ भन्ने कुरा जानकारी लिन सकिन्छ । यसरी हामीले पारदर्शीतालाई पनि महत्त्व दिएका छौं ।
हामी गुनासो सुन्न चाहदैँनौं, सन्तुष्टि दिन चाहन्छौं । उपभोक्ता वर्गलाई राम्रो र गुणस्तरीय सेवा दिनु नि हाम्रो अन्तिम अभिष्ट हो ।
टिप्पणीहरू