बरु फागु पूर्णिमा सर्ला,चुनाव सर्दैन
सरकारले आसन्न निर्वाचन कुनै पनि हालतमा नसर्ने स्पष्ट सन्देश दिएको छ । उच्च स्रोतका अनुसार निर्वाचन आयोगका पदाधिकारीहरुसँग हिजोको छलफलमा ‘बरु फागु पूर्णिमा सार्न सकिन्छ,तर पुस्तान्तरणका लागि हुन लागेको निर्वाचन सार्नेबारे सोच्नसमेत हुँदैन’ भन्ने निष्कर्ष सुनाइएको छ ।
बरु फागुन २१ गते चुनाव गराएर त्यसको परिणाम आउने दिन फागु पूर्णिमा धुमधामसँग मनाए हुन्छ, तर निर्वाचन प्रक्रिया अवरुद्ध हुने कुनै पनि काम नगर्न,नगराउन प्रधानमन्त्री सुशीला कार्कीले हिजो दिउँसो बालुवाटारमा निर्देशन दिनुभएको छ । अधिकांश मन्त्री र केही सचिव उपस्थित छलफलमा निर्वाचन आचारसंहितासम्बन्धी ब्रिफिङ गरिएको थियो ।
कतिपय मन्त्रीलाई आचारसंहिताको मर्म र अर्थ स्पष्ट नहुँदा आइ पर्नसक्ने समस्याबारे सरकारले सजगता अपनाउँदै हिजोको छलफल राखिएको बताइन्छ । नेपाली काँग्रेसको विवादवीच अन्य राजनीतिक दलले निर्वाचन मिति केही पर सार्न गरेको पहलको सुईँको पाएपछि सरकार अग्रसर भएर उम्मेदवारी दर्ताको भोलिको मिति एक घण्टा पनि पछाडि नसार्न आयोगलाई निर्देशन दिइएको हो ।
छलफलमा होली पर्वका क्रममा तराईमा मदिरा सेवन धेरै हुने सन्दर्भ उठाइएको थियो । तर त्यस्ता कार्यक्रमहरू पछि सारे पनि हुन्छ भनिएको एकजना सचिवले बताए ।
फागुन २१ गते निर्वाचन हुन नसके विघटित संसद पुनःस्थापना गर्न दवाव बढ्ने भएकाले शीतल निवास र बालुवाटार दुवै तोकिएको मितिमा निर्वाचन सम्पन्न गराउन सक्रिय भएको बताइन्छ । सोही कारण हिजो प्रमुख निर्वाचन आयुक्तसहित आयुक्तहरूलाई बालुवाटारमा बोलाएर छलफल गरिएको हो । सरकारको निष्कर्षमा चुनाव नभए मुलुक गृहयुद्धतर्फ जान सक्ने गम्भीर जोखिम रहेको उल्लेख छ। त्यसैले निर्वाचन कुनै पनि हालतमा सम्पन्न गराउने विषयमा सरकार र निर्वाचन आयोग एकमत रहेको दावी गरिएको छ ।
बालुवाटारको छलफलअघि अर्थमन्त्री रामेश्वर खनाल निर्वाचन आयोग पुगेर आयोग पदाधिकारीहरुसँग तीन घण्टा छलफल गरेका थिए ।
टिप्पणीहरू