देउवा निवासमा ६०–४० को भागबण्डा प्रस्तावमाथि छलफल
नेपाली कांग्रेसमा पार्टी एकता कायम गर्दै भोलि मनोनयन दर्ता गर्ने विषयमा शीर्ष नेताहरूबीच चलेको छलफल जारी छ । सभापति शेरबहादुर देउवा र नेता डा.शेखर कोइरालाबीच देउवा निवास महाराजगञ्जमा छलफल भइरहेको छ ।
आजै निष्कर्ष निस्कने सम्भावना रहेको बताउँदै शेखर पक्षीय एक नेताले भने, ‘कोइरालाले गगन थापा पक्षलाई ६० प्रतिशत र इतर पक्षलाई ४० प्रतिशत टिकट दिएर अघि बढ्ने प्रस्ताव गरेका छन् । हिजो राति पनि सभापति थापा र देउवा पक्षका नेताहरुबीच पार्टी एकताका लागि लामो छलफल भएको थियो।’
पार्टी एकताको प्रयासस्वरूप देउवा, उपसभापति पूर्णबहादुर खड्का, डा.मीनेन्द्र रिजाल, बालकृष्ण खाँणलगायतका नेताहरूसँग पनि छलफल भएको जनाइएको छ।
स्रोतका अनुसार टिकट वितरणको भागबण्डामा थापा र देउवा पक्ष सहमतिको नजिक पुगेका छन्। देउवा–कोइरालाबीचको छलफलपछि सभापति थापा र उपसभापति विश्वप्रकाश शर्माले पनि देउवालाई भेट्ने तयारी छ।
उता थापा पक्षलाई वैधानिकता दिएको निर्वाचन आयोगको निर्णय उल्ट्याएर देउवाको विघटित केन्द्रीय समिति व्युँताउन माग गर्दै सर्वोच्च अदालतमा दायर मुद्दामा भोलि सुनुवाइ हुँदैछ। उक्त मुद्दा सर्वोच्च अदालत लैजाने विषयमा नेता शेखर कोइरालाले असन्तुष्टि जनाउँदै आएका छन् ।
टिप्पणीहरू