ओली झापा हिँडेपछि योगेश भट्टराईको भिडियो सार्वजनिक
एमाले उपमहासचिव योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओली झापा हिँडेपछि भिडियो सन्देश सार्वजनिक गरेका छन्। सामाजिक सञ्जालमार्फत् सार्वजनिक भिडियो सन्देशमा उनले केही निर्वाचन क्षेत्रमा उम्मेदवार मिलाउन अध्यक्ष ओलीलाई सुझाव र विनम्र अपिल गरिएको उल्लेख छ ।
उनले आफू ताप्लेजुङबाट उम्मेदवार बन्न इच्छुक भए पनि अध्यक्षको निर्णयपछि कुनै किचलो नगर्ने स्पष्ट पार्दै भोलि उम्मेदवार मनोनयनको समयमा गृहजिल्लामा हुने जनाएका छन् । उनले भनेका छन्, ‘मेरो यो आग्रह व्यक्तिगत स्वार्थका लागि होइन। अध्यक्षज्यूले पठाउनुभएको उम्मेदवारलाई सूर्य चिन्हको ध्वजावाहक मानेर जिताउनु मेरो पहिलो कर्तव्य हुनेछ ।’
भिडियो सन्देशमा भट्टराईले निर्वाचनलाई मुुलुकको लोकतान्त्रिक आन्दोलनका लागि ‘जीवन–मरणको सवाल’ भन्दै पार्टीभित्र एकता र सूर्य चिन्हको वरिपरि गोलबन्द हुन आग्रह गरेका छन् । उनले पार्टीका सबै सदस्य, समर्थक र शुभचिन्तकलाई मनोनयन दर्तामा भव्य सहभागिता जनाउन र फागुन २१ गतेको निर्वाचनमा एमालेको विजयी नेतृत्व सुनिश्चित गर्न एकजुट हुन आह्वान गरेका छन्।
अझै बाँकी रहेका झण्र्ड एक दर्जन निर्वाचन क्षेत्रमा उम्मेदवारीको किचलो मिलाउन पनि सल्लाह दिएका छन् । कतिपय जिल्ला र क्षेत्रमा स्थानीय पार्टी नेता तथा कार्यकर्ताको भावनालाई नसमेटिएको गुनासो आएकाले सच्च्याउन आग्रह गरेका हुन् ।
अध्यक्ष ओली झापा निर्वाचन क्षेत्र नम्बर ५ मा भोलि उम्मेदवारी मनोनयनका लागि गृह नगर दमक पुगेका छन् । सो क्षेत्रबाट काठमाडौं महानगरपालिकाबाट राजीनामा दिएका मेयर बालेन साहले रास्वपाबाट उम्मेदवारी दिने चर्चा छ । सोही क्षेत्रबाट नेकपाको तर्फबाट विद्यार्थी नेता रञ्जित तामाङ पनि प्रतिस्पर्धा गर्दैछन् ।
टिप्पणीहरू