ईश्वर खेमाले गर्यो हारको समीक्षा
केपी शर्मा ओलीले एमाले अध्यक्षमा एक हजार ६६३ मत प्राप्त गर्दा प्रतिद्वन्द्वी ईश्वर पोखरेलले ५६४ मत हासिल गरे । ओलीप्रति पार्टीभित्र बढ्दो असन्तुष्टि र ईश्वरमाथि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको समर्थन रहँदारहँदै परिणाम किन यस्तो आयो ? त्यसैको प्रसंग हो यो ।
ईश्वर समूहले राम्रो परिणाम ल्याउन अधिकतम प्रयास गरेको थियो । तर, ओलीको ‘चलाखी’का अगाडि केही नलागेको एक नेता बताउँछन् । ओलीले विधिविधान प्रतिकूलका कार्य गर्दासमेत प्रतिकार हुन नसक्दा हार व्यहोर्नुपरेको उनको भनाइ छ । ‘सबै चिज प्रतिकूल छ भन्ने राम्ररी थाहा थियो । तर, प्रतिकार गर्न सकेनौं’,ती नेताले भने,‘त्यतिबेलै आवाज उठाएको भए, परिणाम केही फरक हुन सक्थ्यो ।’
निर्वाचनमा तलदेखि माथिसम्म रणनीतिक चलखेल भएको उनको जिकिर छ । पहिलो हो–पदेन प्रतिनिधिको संख्या बढाउनु । अहिले भूगोलबाट आउनेभन्दा धेरै पदेन प्रतिनिधि बनाइदिए । जनसंगठनबाट पहिले १ जना हुनेमा पाँच जना, जनसंगठनबाट पाँच जना, जिफण्टको सात प्रदेशबाट सात–सात जना गरी ६४ बनाइयो । १०८ जनालाई एकलौटी मनोनित गरियो ।
‘पार्टीमा विद्या भण्डारीको सामथ्र्य भयंकर राम्रो छ भन्ने भयो । उनीप्रति अलि धेरै नै निर्भर भयौं । भूगोलमा भएको मनोमानीलाई इग्नोर गरेर हिँड्दा असर परिणाममा पर्यो’,उनले भने । पार्टी केन्द्रीय कमिटीमा ओली पक्षधर नै बढी थिए । साढे तीन सय सदस्य रहेकोमा ७३ जना विद्याको सदस्यता नवीकरण हुनुपर्ने पक्षमा उभिएका थिए ।
सल्लाहकार, निर्वाचन, अनुशासन र लेखा आयोगमा ओलीकै एकछत्र छ । जनसंगठनमा भानुभक्त ढकाल थिए । त्यहाँको मत सबै ओलीतर्फ गयो । ईश्वर निकट बुद्धिजीवी परिषद्का अध्यक्ष र महासचिवलाई हराएर ओली पक्षलाई ल्याइयो । जसका कारण त्यताबाट प्राप्त हुने मत पनि कट्टा भयो । ३३ वटा विभाग र कार्यालयमा पनि ओलीकै चल्यो ।
ओलीले एउटै सवालमा दुईटा नीति बनाएको स्रोत बताउँछ । स्रोत भन्छ,‘आफू जित्ने सुनिश्चित भएको ठाउँमा चुनाव गराएर हार्ने ठाउँमा जबरजस्ती सर्वसम्मत गर्न लगाए । इतर पक्षले नमानेको ठाउँमा दबाब दिएर थकाउनु थकाए । चुनाव हार्ने डरले उनीहरुले पनि सहमति गरे ।’ उम्मेदवारी फिर्ता नै नलिएको अवस्थामा पनि सहमति भन्दै केन्द्रमा पठाउने काम भयो ।
‘तल चुनाव भएकै छैन, उम्मेदवारी फिर्ता लिएकै छैन । फिर्ता नलिएको ठाउँमा पनि सहमति भन्दै पठाइदिने रहेछन् । कतै सहमति गरेर नाम पठायो, यिनीहरुले बदर गरिदिने अनि जिल्ला कमिटीले अर्को लिष्ट पठाइदिएपछि मात्र सदर गरिदिने’,उनले अगाडि भने,‘यसरी उनीहरुले धाँधली गरेछन् । पछि मात्र त्यो कुरा थाहा पायौं ।’
अनुकूलको उजुरीमाथि छानबिन र सुनुवाई गरेर टुंग्याउँदा ओली पक्षले इतर पक्षबाट आएको सबै उजुरी रद्धीको टोकरीमा फालिदियो । भूगोलबाट आएको कुनै पनि उजुरीमाथि सुनुवाई भएन । इतर पक्षले त्यसको विरोधमा आवाज उठाउने हिम्मत गरेन । ओखलढुंगामा अनुकूलको प्रतिनिधि नआउँदा अर्को प्रतिनिधि छिराउन ताण्डव मच्चाइएको थियो ।
ईश्वर समूहले हार्नुको अर्को कारण मनोनित लिष्टमा गडबडी हो । ईश्वरले ‘ओलीको १०८ जनाको मनोनित लिष्ट टाँसिएपछि हामीले काशिनाथ अधिकारी र माधव ढुंंगेललाई घेरौं अनि आफ्नो लिष्ट बुझाऔं भनेका थियौं । तर, ईश्वरले मानेनन् । उनी के कारणले रोकिए भन्नेचाँहि थाहा भएन’,स्रोतले भन्यो । पदाधिकारी संख्या नबढाउने र केन्द्रीय सदस्य पनि विधान महाधिवेशनले पास गरेकोलाई यथावत् राख्ने निर्णय भएको थियो । तर, ओलीले उल्टाइदिए । ओलीले मनलाग्दी पद बाँडेका थिए । पद व्यवस्थापन गर्न हम्मेहम्मे परेको पदाधिकारी संख्या बढाएर सबैलाई अटाए ।
पद संख्या बढाए महाधिवेशन बहिष्कार गर्ने भनी महासचिवका उम्मेदवार सुरेन्द्र पाण्डेलगायत नेताबीच सल्लाह भएको थियो । ओलीले हिसाबकिताब गरेरै पद बढाउँदा पनि उनीहरु बोल्न सकेनन् । आफ्नो फाइदाका लागि मनलाग्दी गरिएपछि ईश्वर पक्षले चुनाव नलड्नेसम्म भनेका थिए । केही नेताले हार्ने नै हो, उम्मेदवारी किन दर्ता गराउने ? भन्दै असन्तुष्टि जनाएकोमा ईश्वरले ‘चुनावमा जाऔं । हारेपनि, जिते पनि केही हुँदैन । हामीले उम्मेदवारी दिएनौं भने डराएर भागे भन्छन्’ भनेर सम्झाएका थिए ।
ईश्वरकै आग्रहमा उनीहरु चुनावमा गए । विद्युतीय भोटिङ मेसिनले पनि धोका दिएको उनीहरु बताउँछन् । तोकिएको संख्यामा उम्मेदवार नहुँदा ईश्वर पक्ष समस्यामा परेको थियो । पृथ्वीसुब्बा गुरुङ्ग, विष्णु पौडेल, रघुवीर महासेठले समेत उनीहरुलाई झुक्याए ।
यता, अध्यक्षमा हारे पनि ईश्वर पक्ष ओलीसँग मैदानमा उत्रिनु नै ठूलो कुरा भएको बताउँछन । ओलीको बोलीलाई टक्कर दिनु र चुनावी मैदानमा उतार्नु नै आफूहरुको जित भएको बताउँदै उनीहरु भन्छन्,‘विधान महाधिवेशनले नीतिको विषयमा छलफल गर्ने, विचार राख्ने कुरा टुंग्याइसकेको थियो । ओलीले हलमा कुनै प्रतिवेदन पेश हुँदैन भनेका थिए । तर, हामीले फरक अवधारणा पेश गर्यौं ।’
गायिका ज्योति मगरसँग घाममा बसेर दुबो टिप्ने र भोट माग्ने परिस्थिति बनाउनु पनि आफूहरुको लागि जितबराबर नै भएको उनीहरुको भनाइ छ । पार्टीभित्रै ओलीविरुद्ध ५६४ प्रतिनिधि रहेको पनि महाधिवेशनबाट प्रष्ट भएको छ ।
(जनआस्था साप्ताहिकको पुस १६ गते बुधबारको अंकमा प्रकाशित)
टिप्पणीहरू