निकितालाई भुटानीको ५० लाख

निकितालाई भुटानीको ५० लाख

भुटानी शरणार्थी प्रकरणमा एडभान्स ५० लाख, कुरा के हो खास ? सन्दर्भ विभिन्न काण्डमा मुछिएका रास्वपा सभापति रवि लामिछानेको हो । सहकारी ठगीका अभियुक्त उनी हालै थुनामुक्त भएका छन् । फागुन २१ गतेलाई तोकिएको निर्वाचनको तयारीमा जुटेका उनले ठुल्ठूला नेता जोडिएका चर्चित भुटानी शरणार्थी प्रकरणका एक आरोपीसँग पैसा लिएको खुलेको छ ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने मुख्य योजनाकार सन्देश शर्मा अहिले भद्र बन्दीगृहमा छन् । रवि दोस्रोपटक गृहमन्त्री हुँदा सन्देशले एक व्यक्तिमार्फत उनलाई ५० लाख रुपैयाँ बुझाएका थिए । न्यायाधीश र न्यायालय मुछिएको फेक डार्क फाइल बनाएबापत सर्वोच्चको आदेशमार्फत ६ महिनाका लागि जेल पुगेका र भदौ २४ गते भागेका राजकुमार तिमल्सिनाका अनुसार सन्देशले स्वयं उनलाई सो कुरा बताएका हुन् । 

‘म, सन्देश, टोपबहादुर रायमाझी, बेचन झा एउटै कारागारमा थियौं । त्यहाँ रहँदा हाम्रो राम्रो दोस्ती भइसकेको थियो । भुटानी शरणार्थीको केसमा एउटा लास्ट पेपर लिनका लागि उनले एडभान्सस्वरुप एक व्यक्तिमार्फत रविलाई ५० लाख रुपैयाँ बुझाएका रहेछन् । उनले आफूसँग प्रुफ छ भन्छन् तर उनको ल्यापटप प्रहरीसँग छ,’ तिमल्सिनाले भने । 

सो रकम रविले पत्नी निकिता पौडेल तत्कालीन उपाध्यक्ष रहेको राजधानीको सत्य साई सहकारीमा जम्मा गरेको उनको भनाइ छ । पैसा लिएपछि रविले धोका दिएको गुनासो सन्देशको रहेको तिमल्सिनाले बताए । सन्देशको भनाइलाई उद्धृत गर्दै भने, ‘त्यो पैसा निकिता उपाध्यक्ष रहेको सहकारीमा जम्मा गरिएको छ । निकिताकै खाताको स्टेटमेण्ट हेर्ने हो भने दूधको दूध, पानीको पानी भइहाल्छ । एडभान्स लिएर रविले मलाई झुक्याए । म बाहिर निस्किएपछि यसको भण्डाफोर गर्छु ।’ 

भदौ २४ गतेको घटनामा कारागारबाट फरार भएका सन्देश ललितपुरबाट पक्राउ परेका छन् । सत्य साई सहकारी भरत जंगमको हो । निकिताले उपाध्यक्ष हुँदा उक्त सहकारीबाट ५० लाख रुपैयाँ ऋण लिएकी थिइन्, त्यो पनि बिनाधितो । सामान्यतया सहकारीले त्यत्तिका रकम कसैलाई बिनाधितो दिँदैन । त्यसमा पनि पदाधिकारीले अन्य निक्षेपकर्ता–सदस्यलाई दिनुपर्ने ऋण सञ्चालक समितिकै पदाधिकारीले चलाउनु उचित मानिँदैन । रविसँग विवाहका लागि ठिक्क परेकी उनले भरतले आनाकानी गर्दागर्दै सहकारीबाट पैसा लगिन् । र, रविसँग नगरकोटमा धुमधामले विवाह गरिन् । त्यसपछि सो रकमलाई नुवाकोटका एक व्यक्तिको ऋण भनेर मिलाइयो । 

आधा दर्जन सहकारी ठगीमा मुछिएका रवि र निकिताको खातामा भएको करोडौं रकमको स्रोत नभेटिएपछि उनीहरुउपर सम्पत्ति शुद्धिकरणमा पनि अनुसन्धान हुँदैछ ।

(जनआस्था साप्ताहिकको पुस १६ गते बुधबारको अंकमा प्रकाशित)   

 

टिप्पणीहरू