अलग्गै कित्तामा पुर्याइएका अग्नि
दिन पनि कस्ता कस्ता, सधैँजसो अप्ठ्यारो पर्दा अध्यक्ष केपी ओलीको लागि गर्धन थाप्ने अग्निप्रसाद खरेल यतिखेर कन्काई नदीको अर्को किनार भएका छन् । मभन्दा सिनियरलाई अघि ल्याउनुहुन्छ भने सहर्ष स्वीकारर्छु । जुनियर ल्याउनुहुन्छ भने विनम्रतापूर्वक अस्वीकार गर्छु भन्दै उम्मेदवारी चयन हुनु पाँच दिनअघि गुन्डुबाट छुटेका खरेलले ईश्वर पोखरेल प्यानलबाट सचिवमा उठ्दा हराइए । खरेल ओलीको इच्छाविपरीत सचिव पदमा उठ्दा ७१६ मत ल्याई पराजित भए । नौ जना सचिवमध्ये उनीभन्दा माथि भानुभक्त ढकाल ११०८ मत सहित सचिव बने ।
प्यानल खडा गर्दा सानो भए पनि विपक्षी समूह तयार हुन्छ, त्यसो नगरौं भन्ने आग्रहसमेत खरेलले राखेको बताइन्छ । नौ जना जित्नेलाई छाडेर खरेलले ६ जना उपविजेतालाई उछिनेका छन् । उनले सचिवमा ७१६ मत ल्याए पनि केन्द्रीय सदस्यमा एक हजार एक सयभन्दा बढी मतले विजयी बनेका छन्् । त्यसैगरी, अध्यक्षमा पराजित ईश्वर पोखरेलसहित सचिवमा १०३० मत ल्याई पछि परेका गोकुल बाँस्कोटा, ६२५ मत ल्याएका कृष्णगोपाल श्रेष्ठ, ४९६ मत प्राप्त लालबाबु पण्डित र ८४७ मतसहित पराजित कर्णबहादुर थापासमेत केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।
खरेलले ओलीलाई कानुन मन्त्री, महान्यायाधिवक्ता र विज्ञ सल्लाहकारलगायत महत्वपूर्ण पदमा बसेर साथ दिएका थिए । अहिले आएर किन टाढा पुर्याइए भन्ने कुरा खरेललाई पत्तो नभएको स्रोतको दावी छ । पार्टीको पछिल्लो बैठकमा सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने काम गलत थियो भन्ने अभिव्यक्ति दिएका खरेलले विद्या भण्डारीको सदस्यता विवाद नसल्टाउँदा पार्टीलाई असर गर्ने धारणा राखेका थिए । यसैकारण अध्यक्ष रुष्ट हुन पुगेका त होइनन् भन्ने तर्कवाजी पनि चल्ने गरेको बुझिएको छ ।
यसैगरी खरेलले ओलीसँग विधान अधिवेशनको महत्व घटाएर राष्ट्रिय महाधिवेशनको महत्व बढाउने काम गर्नुपर्नेराय प्रकट गरेको बताइन्छ । खरेलले एक पटक पद संख्या बृद्धि गरेपछि घटाउन गाह्रो हुने, त्यसले समस्या निम्त्याउने सुझाव पोलिटब्यूरो बैठकमा राखेका थिए । यदि पदाधिकारीमा उम्मेदवारी दिनेले केन्द्रीय सदस्यमा नउठ्ने नीति लिएको भए आठौं महाधिवेशनमा केपी ओली नै पदाधिकारीमा पराजित भएका थिए । केन्द्रीय सदस्यमा चाहिँ चुनिएकै कारण सम्मानित नेता बन्दै गएका हुन् । तर, अहिले त्यस्तो विषयलाई गम्भीरतापूर्वक नलिएका कारण पनि समस्या देखा पर्न थालेको हुनसक्छ ।
त्यसो त शंकर पोखरेललाई दुई–दुई पटक महासचिव बनाउन सक्नेले एक पटक प्रदीप ज्ञवालीलाई अवसर दिएको भए बिग्रने थिएन भन्नेहरु पनि छन् । एमालेभित्र असल पात्रको सूची तयार गर्न जनमत संग्रह गर्ने हो भने बाहिरका मान्छेले समेत मन पराउने नेतामध्ये उनी एक नम्बरमा पर्दछन् । २०१९ सालमा जन्मेका ज्ञवाली १५ वर्षकै उमेरदेखि पार्टीको निम्ति भूमिगत बसेका थिए ।
रघुविर महासेठले मतदान स्थगन गरेको रात मधेश प्रदेशको भोट पल्टाएपछि समीकरण बिग्रिएको समेत हिसाव निस्किएको छ । महासेठको समर्थनमा रहेको करिब २५० मतमा उनले निकै राम्रोसँग उल्टापुल्टा गरेको र त्यतैबाट विष्णु रिमाललाई एकछापे खसेको समेत देखियो । यस्तो नभएको भए सुरेन्द्र पाण्डेले महासचिवमा बाजी मार्ने सम्भावना प्रबल थियो । ठाडो मनोनीत १०८ बाहेक अनुपस्थितको ठाउँमा घुसाइएका ३१ जनाले पनि पाण्डेलाई धोका दिएको परिणाम प्रष्ट छ ।
(जनआस्था साप्ताहिकको पुस १६ गते बुधबारको अंकमा प्रकाशित)
टिप्पणीहरू