सुशीला म्याडम, यही हो तपाइँको सुशासन ?

सुशीला म्याडम, यही हो तपाइँको सुशासन ?

किनेको मूल्य जम्मा १४ करोड मात्र भए पनि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (नाम्स)ले कूल ५४ करोड लगानीमा जडान गरेको क्यान्सरको उपचार गर्ने टोमोथेरापी मेशिन बिग्रिएको छ । पाँच वर्षसम्म मर्मतसम्भारको जिम्मा उत्पादक कम्पनीकै रहने गरी जडान भएको मेशिनले उपचार गर्न छाडेको ७ हप्ता बित्दा पनि मर्मत प्रक्रिया अघि बढाइएको छैन ।

मेशिनले काम नगरेपछि दिन बिराएर पालोपालो उपचार गर्न आउने सयौं गम्भीर रोगका बिरामीहरू तेब्बर मूल्य व्यहोरेर निजी अस्पताल धाउन बाध्य भएका छन् । बिग्रिएको मेशिन देखाएर नाम्स व्यवस्थापन भने फेरि थप कमिसन जुटाउने चक्करमा लागेको वीरकै एक आवासीय चिकित्सकको आशंका छ । भन्छन्– खरिद सम्झौतादेखि निर्माण मापदण्ड विपरित कार्य गरेको आरोपमा ३० प्रतिशत भुक्तानी नपाएको ठेकेदारलाई तत्काल मेशिन बनाउने शर्तमा भुक्तानी दिने योजनामा नाम्स व्यवस्थापन रहेको छ । 

अर्का चिकित्सक भन्छन्– पहिले ३४ करोड ८५ लाखमा ल्याइएको मेशिन लापर्वाहपूर्ण ढंगले बिगारेको नाम्स व्यवस्थापनले यसपटक पनि बिरामीको स्वास्थ्यमाथि लापर्वाही गरिरहेको छ । क्यान्सर रोगका बिरामीलाई सेकताप गर्ने यो मेशिनमा उपचार गरेवापत नाम्सले प्रति बिरामी १ देखि १ लाख २० हजारसम्म शुल्क लिने गरेको छ । यही सेकतापबापत निजी क्षेत्रका स्वास्थ्य संस्थाले प्रतिबिरामी ३ देखि ४ लाखसम्म असुल्ने गरेका छन् । केही दिनको फरकमा नियमित सेकताप गर्नुपर्ने सयौं बिरामी मेशिन बिग्रिएपछि बिचल्लीमा परेका छन् । तर डा. भुपेन्द्रकुमार बस्नेत उपकुलपति रहेको नाम्स व्यवस्थापन भने मेशिन मर्मत गरी बिरामीलाई सेवा दिनुको सट्टा ठेकेदारको भुक्तानीतर्फ मात्र बढी केन्द्रित भएको पाइएको छ ।

मेशिन बिग्रिएपछि नाम्सलाई दैनिक डेढ लाखभन्दा बढी घाटा भइरहेको छ । तर यही दुर्गतिबाट नाम्स व्यवस्थापनले दोहोरो फाइदा लिइरहेको पनि डाक्टरहरूको दाबी छ । एकातिर वीरले भन्दा चौब्बर महंगो शुल्कमा बिरामीलाई निजीमा पठाएर मेशिन नबनाउनेहरूले लाभ लिइरहेका छन् । स्मरण रहोस् यसअघि जनआस्थाले नै वीर अस्पतालको आकस्मिक कक्षमा आएका बिरामीहरूलाई अनेक बहानामा निजीमा पठाएर अतिरिक्त लाभ हासिल गर्ने चिकित्सक र पीडित बिरामीको नाम समेत प्रकाशित गरेको थियो । समाचार प्रकाशन भएलगत्तै ती चिकित्सकलाई आकस्मिक कक्षबाट हटाइयो । अहिले फेरि मेशिन बिग्रिएकै बहानामा ठेकेदारलाई दिनुपर्ने रकम भुक्तानी गरी एकातिर आफू पनि अतिरिक्त लाभ हासिल गर्ने प्रयासमा डा. भूपेन्द्रको समूह लागेको गुनासो छ । वीर अस्पतालका जागिरे चिकित्सकहरू हाजिर गरी निजीतिर काम गर्न जाने र सर्वसाधारणलाई बेड नभएको वा मेशिन बिग्रिएको नाममा अतिरिक्त लाभ हासिल गर्ने मामलामा निकै बदनाम छन् । 

यो मेशिनबाट गरिब बिरामीहरूको अवस्था हेरी कतिलाई निशुल्क र धेरैलाई नाम मात्रको रकम लिएर पनि उपचार गरिन्थ्यो । आर्थिक अवस्था कमजोर भएका सयौं बिरामीले यसबाट फाइदा लिइरहेको उपचारमा संलग्न एक चिकित्सक बताउँछन् । तर अहिले ती सबै बिरामी नाम्स व्यवस्थापनको लापरवाहीका कारण अकाल मृत्यु व्यहोर्न बाध्य हुनुपर्ने अवस्था सिर्जना भएको पनि उनको गुनासो छ । असामान्य परिस्थिति सिर्जना गरी अतिरिक्त आम्दानी गरेरै छाड्ने व्यवस्थापकीय शैलीका कारण मेशिन बिग्रने, समयमा नबन्ने तर यस्तो अवस्थाको दुरूपयोग गरी आफू मालामाल बन्ने क्रम वीरमा सामान्य मानिन थालेको छ ।

(जनआस्था साप्ताहिकको पुस १६ गते बुधबारको अंकमा प्रकाशित)   

 

टिप्पणीहरू