ज्ञानेन्द्र त्यतैबाट गायब

ज्ञानेन्द्र त्यतैबाट गायब

पदमा पुगेपछि शक्ति आर्जन गर्ने र त्यसैको आडमा धन कमाउन सकिने चिन्तनले नेपाली राजनीतिमा जबर्जस्त जरा गाडेको छ । राजनीतिलाई पेशा मान्नेहरूले प्रधानमन्त्री–मन्त्री पदलाई अन्तिम अभिष्ट बनाएका हुन्छन् । मन्त्री नपाएकै कारण पार्टी फुटेको उदाहरण धेरै छ । जेनजी आन्दोलनपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा बनेको गैरदलीय सरकारमा पनि मन्त्री बन्न मरिहत्ते गर्नेहरू प्रशस्तै देखिए । 

त्यस्ताको सूची लामो हुँदै जाँदा बढीमा ११ सदस्यीय हुने भनिएको कार्की नेतृत्वको क्याबिनेटमा १५ जना पुगिसकेका छन् । रक्षा मन्त्रालय प्रधानमन्त्रीसँगै छ । शुरुमा महानायक राजेश हमालदेखि अभिनेत्री मनिषा कोइराला, कलाकार राजेशपायल राई हुँदै क्याप्टेन विजय लामासम्मको चर्चा थियो । डा. सन्दुक रुइत, संविधानविद भीमार्जुन आचार्यलगायतले चाहिँ मन्त्री खान अस्वीकार गरेको सुनियो । यसबीच एक जना गफाडी पात्रले आफूलाई मन्त्री बनाइदिन आग्रह गर्दै दिनहुँजसो सिंहदरबार र बालुवाटारको फन्को मार्दा पनि ‘हात लाग्यो शून्य’ हुनुपरेको तथ्य खुलेको छ । दुई महिना भए पनि मन्त्री खाइहाल्ने रहर पालेर दौडधुप गर्ने ती पात्र हुन्, पूर्वपञ्चहरूको पार्टी राप्रपाका प्रवक्ता ज्ञानबहादुर शाही । 

प्रधानमन्त्री निकट स्रोतका अनुसार पछिल्लो पटक चार जना मन्त्रीको शपथ हुनुअघिसम्म शाही तारन्तार सिंहदरबार र बालुवाटार धाउने गरेका थिए । त्यसदिन पनि प्रधानमन्त्रीको टोली शीतल निवास जानुअघि सिंहदरबारमा झुल्किएका उनी त्यसपछि भने त्यता देखा पर्न छोडेका छन् ।  पत्रकार पृष्ठभूमिका एकजना कर्णालीका पात्रलाई लिएर दिनहुँ प्रधानमन्त्री भेट्न जाने गरेका शाहीले ‘पार्र्टी छोडेर आउँछु, मलाई मन्त्री बनाइदिनुपर्‍यो’ भन्दै बिन्तीभाउ गर्ने गरेको प्रधानमन्त्रीको सचिवालयमा कार्यरत एक सुरक्षाकर्मीले जनआस्थालाई बताए । 

‘मन्त्री बनाइदिनपर्‍यो भन्दै एकजना पत्रकारलाई लिएर आइरहन्थे । पार्र्टी छोडेर एकदम निर्दलीय हुन तयार छु, मलाई बनाउनुपर्‍यो भन्थे । अस्ति त बालेनलाई भेट्न पुगेछन्’, ती कर्मचारीले भने । शाहीले गत बुधबार र बिहीबार काठमाडौँका मेयर बालेन्द्र साहलाई उनले बोलाएकै ठाउँमा पुगेर भेटेका थिए । आगामी निर्वाचनपछि प्रधानमन्त्री बन्ने आकांक्षासहित रास्वपामा प्रवेश गरेका बालेनले त्यसअघि विभिन्न क्षेत्रका भाइरल अनुहारलाई पालैपालो बोलाएर भेटघाट गरेकोमा शाहीले पनि मौका पाएका हुन् । 

‘भ्रष्टाचारविरोधी अभियन्ता’ को नाममा चर्को भाषण गरेर जुम्लाबाट चुनाव जितेका पात्र हुन् शाही । २०७६ सालमा तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराईलाई जहाजभित्र गालीगलौज गरेको भिडियो भाइरल गराएर एकाएक चर्चामा आएका उनी त्यसपछि पूर्वपञ्चहरूको पार्र्टी राप्रपामा लागेका थिए । त्यसअघि पूर्वराजा ज्ञानेन्द्र शाह र राजतन्त्रको विरोधमा बोल्ने गरेका उनले राप्रपा प्रवेशसँगै राजनीतिक उचाई लिए । ०७९ को निर्वाचनमा जुम्लाबाट माननीय जितेका शाहीलाई राप्रपाले संसदीय दलको प्रमुख सचेतकसम्म बनायो । 

प्रतिनिधिसभा विघटनसँगै स्वतः उक्त पद गुमाएका उनी अहिले पनि पार्र्टी प्रवक्ता छन् । केही दिनअघि राप्रपाले झापामा आयोजना गरेको आमसभामा राजेन्द्र लिङ्गदेनलाई भावी प्रधानमन्त्री बनाउनुपर्ने भन्दै भाषण ठोकेका थिए । निर्दलीय पात्र बनेर दुई महिनाका लागि भए पनि मन्त्री खान भित्रभित्र दौडधुप गर्ने शाही बाहिर भने प्रधानमन्त्री कार्कीको चर्को आलोचना गरिरहेका हुन्छन् । यिनैले अरुमाथि राजनीतिक नैतिकताको प्रश्न उठाएर कटाक्ष गरेको पनि सुनिन्छ ।

(जनआस्था साप्ताहिकको पुस १६ गते बुधबारको अंकमा प्रकाशित)   

टिप्पणीहरू